रूपन्देहीमा थपिए ४ अस्थायी मतदान केन्द्र, ४४ सय ४ कर्मचारी परिचालन

जिल्ला कारागार, सशस्त्र प्रहरी बल पक्लिहवा, तारादल गण बुटवल र सैनिक स्कुल सालझण्डीमा पनि मतदान केन्द्र कायम गरिएको हो ।

फाल्गुन १३, २०८२

घनश्याम गौतम

4 temporary polling stations added in Rupandehi, 4,404 employees mobilized

What you should know

बुटवल — प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यालयले रूपन्देहीमा ४ अस्थायी मतदान केन्द्र थप गरेको छ । ५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा यसअघि २ सय ९ मतदान स्थलमा ७ सय ३२ मतदान केन्द्र कायम गरिएको थियो । त्यसमा ४ मतदान स्थल र ४ मतदान केन्द्र थप गर्दै २१३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्र कायम भएका छन् । 

निर्वाचन आयोगले निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि ३ मतदान केन्द्र र जिल्ला कारागारमा १ मतदान केन्द्र रहने गरी अस्थायी केन्द्र थप गर्न पत्र पठाएपछि त्यसको आधारमा अस्थायी मतदाता नामावली संकलन गरी ४ केन्द्र थप गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रूपन्देहीमा ५ निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेका छन् । त्यसमा ३ हजार ९ सय २ अस्थायी मतदाता थपिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयकी निर्वाचन अधिकृत कल्पना अर्यालका अनुसार जिल्ला कारागार भैरहवा, सिद्धार्थनगर नगरपालिका–१ पक्लिहवास्थित सशस्त्र प्रहरी बल २७ नं. गण हेडक्वाटर नजिक, बुटवल उपमहानगरपालिका–७ रामनगरस्थित तारादल गण नजिक रहेको पशुपति मन्दिर र सैनामैना नगरपालिका–११ सैनिक ब्याटल स्कुल नजिकको दुर्गामन्दिर सालझण्डीमा अस्थायी मतदान केन्द्र थप गरिएको हो । थप गरिएका अस्थायी मतदान केन्द्रमध्ये जिल्ला कारागारमा १३३, सशस्त्र प्रहरी बल २७ नं. हेडक्वाटरमा १६ सय ४२, तारादल गण बुटवलमा १६ सय ६० र सालझण्डी सैनिक ब्यारेकमा ५ सय २ मतदाता रहेका छन् । अस्थायी रुपमा थप भएका मतदान केन्द्रमा मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गरेर केन्द्र थप गरिएको निर्वाचन कार्यालयकी प्रमुख निर्वाचन अधिकारी अर्यालले बताईन् । 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएको जनाएको छ । अस्थायी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउने व्यवस्था छ । देशभर अस्थायी मतदाताका लागि १४३ मतदानस्थल निर्धारण गरिएको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले बताए । 

निर्वाचनका लागि ५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा ४ हजार ४ सय ४ कर्मचारी परिचालन गरिएको छ । तीमध्ये ७ सय ३६ मतदान अधिकृत, ७ सय ३६ सहायक मतदान अधिकृत, २ हजार १ सय ९६ सहायक कर्मचारी र ७ सय ३६ सहयोगी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले बताए । ‘आज बुधबारदेखि अधिकांश कर्मचारीले नियुक्ति बुझ्न थाल्नु भएको छ,’ उनले भने, ‘बिहीबार पनि नियुक्ति पत्र वितरण गरिने र त्यसपछि कर्मचारीहरु मतदान स्थलहरुमा खटिनेछन् ।’ 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully