सुर्खेतमा मुद्दा ओझेलमा, नयाँ र पुरानाको मात्रै बहस

२०४८ देखि सुर्खेतको चुनावी मैदानमा रहेका कांग्रेसका पूर्णबहादुर खड्का र हृदयराम थानी यसपटक उम्मेदवार छैनन्, उनीहरूका विश्वासपात्र कांग्रेसबाट उम्मेदवार बनेका छन्, विगतमा कांग्रेस र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने सुर्खेतका दुवै क्षेत्रमा यसपालि रास्वपाले कडा चुनौती दिएको छ  

फाल्गुन १२, २०८२

कुलचन्द्र न्यौपाने, कृष्णप्रसाद गौतम, ज्योति कटुवाल, विवेक पोख्रेल

Issues in Surkhet are in the background, only the debate between the new and the old is going on

What you should know

सुर्खेत — कांग्रेसले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन नगरेको भए तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पूर्वमन्त्री हृदयराम थानी अहिले सुर्खेतमा घरदैलो गरिरहेका हुने थिए । विशेष महाधिवेशन र नेतृत्व परिवर्तनलाई अवैधानिक भन्दै मुद्दा–मामिलामा गएपछि खड्काले टिकट लिएनन् । शेखर कोइराला पक्षमा रहेका थानी अन्तिम समयमा विशेष महाधिवेशनमा उपस्थित भएर समर्थन गरे पनि टिकट लिनबाट पछि हटे ।

खड्का र थानी पार्टीभित्र परम्परागत प्रतिद्वन्द्वी हुन् । दुईमध्ये एक चुनावी मैदानमा नहुनासाथ असहयोग हुन सक्ने भयले थानीले समेत टिकट नलिएको कतिपय स्थानीय कार्यकर्ताको बुझाइ छ । आफैं मैदानमा नभएपछि यी दुवै नेताले नातेदार र विश्वासपात्रलाई अघि सारेका छन् । २०४८ देखि (बीचमा एक कार्यकालबाहेक) लड्दै आएको सुर्खेत–१ मा तत्कालीन कार्यवाहक सभापति खड्काले सहोदर साइँला भाइ विष्णुबहादुरलाई उम्मेदवार बनाएका छन् । २०५१ देखि संसदीय चुनाव लड्दै आएका थानीले विश्वासपात्र नारायणकुमार कोइरालालाई सुर्खेत–२ मा उम्मेदवार बनाएका छन् । 

थानी कोइरालालाई जिताउन सदरमुकाममा अड्डा जमाएरै बसेका छन् तर खड्का भने स्थानीय नेता, कार्यकर्ता र भाइकै आग्रह बेवास्ता गरेर जिल्ला आएका छैनन् । पछिल्लो पटक ४ कात्तिकमा गृह जिल्ला आएर उनी काठमाडौं फर्किएका थिए । देशैभर पार्टी चुनावमा होमिँदा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन र कार्यसमितिको मान्यतासम्बन्धी विषयलाई लिएर अदालतमा पुगेका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्का दुवै उम्मेदवार छैनन् । चुनावको चटारोबीचमा समेत उनीहरूले राजधानीस्थित निवास छाडेका छैनन् । 

२०४८ देखि चुनावी मैदानमा रहेका खड्का २०६४ को एक कार्यकाल मात्रै समानुपातिकबाट सांसद भए । यसबीचमा भएका ६ चुनावमध्ये एकमा मात्र उनले हार बेहोरेका छन् । २०७४ मा एमालेका ध्रुवकुमार शाहीसंँग उनी पराजित भएका थिए । तर, २०७९ को निर्वाचनमा तिनै शाहीलाई हराउँदै खड्का सांसद बने । यसबीचमा कांग्रेस र माओवादी गठबन्धन सरकारमा खड्का उपप्रधान तथा रक्षामन्त्री भए । पार्टीमा सहमहामन्त्री, महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति भए । 

Issues in Surkhet are in the background, only the debate between the new and the old is going on

खड्काको यो उचाइमा भाइ विष्णुबहादुरको ठूलो योगदान छ । सुर्खेत–२ मा आफैंले अघि सारेका उम्मेदवार जिताउन थानी लागिरहँदा जीवनभर ‘टेको’ बनेर जिल्लाको राजनीति धानिदिएका भाइ दाइकै विरासत जोगाउने यो महाअभियानमा छन् । तर, दाइ उपस्थित नहुँदा उनले चुनौती सामना गरिरहनुपरेको छ । विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका खड्कासँगैका अरू नेता बिमलेन्द्र निधि, प्रकाशशरण महत, महेन्द्र यादव, एनपी सावद, किशोरसिंह राठोरलगायत टिकट लिएर चुनावी प्रतिस्पर्धाको अन्तिम रस्साकसीमा उत्रिएका छन् । तर, नैतिकताका आधारमा टिकट नलिएका खड्का किन गृह जिल्लामा छैनन् त ? यसबारे कान्तिपुरले खड्कासँग कुराकानी गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । 

तर, भाइले भने नैतिकताका आधारमा आउन नसक्ने परिस्थिति आफूले पाएको बताए । ‘हो, मैले पनि दाइलाई बोलाएँ । स्थानीय नेता तथा कार्यकर्ताहरूले पनि एक पटक आइदिए हुन्थ्यो भनेर आग्रह गर्नुभयो । तर उहाँले आउँदिनँ र आउँछु केही भन्नुभएको छैन । तर, विशेष महाधिवेशन अवैधानिक छ भनेर आफैं स्वयंले निर्वाचन कार्यालयमा निवेदन दिनेदेखि सर्वोच्चमा जानेसम्मको काम गर्नुभएकाले नैतिकताकै आधारमा आउन नखोज्नुभएको हो,’ उनले भने, ‘सम्भवतः भोट हाल्न आउनुहुन्छ । उहाँ 

नआए पनि साथीहरूसँग टेलिफोन र भिडियो कलमा कुराकानी भएकै छ । सुर्खेतमा कांग्रेस एकढिक्काका साथ चुनावी मैदानमा छ ।’

विष्णु कांग्रेसका जिल्ला उपसभापतिसँगै व्यवसायी पनि हुन् । उनले मध्यपश्चिम यातायात व्यवसायी प्रालिको नेतृत्व गर्छन् । लामो समयदेखि यातायात व्यवसायमा रहेका उनका सदरमुकाममा नर्सिङ होम र अन्य व्यवसाय पनि छन् । जेन–जी आन्दोलनका बेलामा उनको घर–व्यवसाय निसानामा परेको थियो । मध्यपश्चिम यातायात व्यवसायमा रहेर व्यवसायीलाई सक्रिय बनाएको र हजारौं युवालाई रोजगारी दिएको, विश्वविद्यालय स्थापनादेखि शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा योगदान पुर्‍याएकाले आफ्नो उम्मेदवारी कमजोर नभएको दाबी उनले गर्दै आएका छन् । 

Issues in Surkhet are in the background, only the debate between the new and the old is going on

एमालेका ध्रुवकुमार शाही नै यस पटक उम्मेदवार छन् । उनी २०७९ मा पूर्णबहादुर खड्कासंँग ३० हजार ९ सय ८८ मत ल्याएर पराजित भएका थिए । खड्काले ४२ हजार ६ सय ७ मत ल्याएका थिए । त्यसअघि २०७४ को चुनावमा भने शाहीले खड्कालाई पराजित गरेका थिए । शाही एमाले प्रदेश कमिटीका सचिव हुन् । ५५ वर्षीय उनले २०४५ मा अनेरास्ववियुबाट राजनीति थालेका थिए । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी २७ वर्षको उमेरमा साविक मासहारे गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि एमाले सांसद भएर राष्ट्रिय राजनीतिमा उक्लिएका हुन् ।

संसदीय चुनावमा कांग्रेस र एमालेबीच हारजितको आलोपालो चलिरहने कर्णालीको राजधानी सुर्खेतमा रास्वपाको उपस्थितिले मतदातालाई तरंगित बनाएको छ । रास्वपाबाट सुर्खेत–१ मा टेकबहादुर सिंह उम्मेदवार छन् । उनी तीन महिनाअघि मात्रै कांग्रेसबाट रास्वपा प्रवेश गरेका हुन् । सिंह कांग्रेसका पूर्वजिल्ला उपसभापति हुन् । २०७४ को प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट सुर्खेत–१ (क) मा उम्मेदवार थिए । तर, उनी माओवादीका ठम्मर विष्टसँग पराजित भएका थिए । विष्ट १५ हजार ३ सय ५२ मतसहित विजयी हुँदा उनले १५ हजार १ सय ३२ मत ल्याएका थिए । 

सुर्खेत–१ मा दुई स्वतन्त्रसहित १३ उम्मेदवार छन् । नेकपाले जितबहादुर रानालाई र राप्रपाले रविकिरण हमाललाई उम्मेदवार बनाएको छ । राना २०४७ देखि राजनीतिमा लागेका र तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेलाका लडाकु हुन् । यसअघि उनी जिल्ला इन्चार्ज थिए । २०७९ को निर्वाचनमा दुवै क्षेत्रबाट कांग्रेसले जित्दा दोस्रो प्रतिस्पर्धी एमालेकै थिए । २०७९ मा कांग्रेस, तत्कालीन माओवादीलगायतको एउटा गठबन्धन थियो भने अर्कोतर्फ एमाले नेतृत्वमा राप्रपा, जसपा नेपालसहितको अर्को गठबन्धन थियो । 

समानुपातिक मतमा पनि दुवै क्षेत्रमा कांग्रेस अग्रस्थानमा छ । सुर्खेत–१ मा कांग्रेसको ३३ हजार ६ सय ८ मत आउँदा एमालेको २९ हजार ६ सय ८७ मत आएको थियो । यी दुई दलले पाएको भन्दा निकै कम मत ल्याएर रास्वपा तेस्रो स्थानमा थियो । रास्वपाले यस क्षेत्रमा पाएको समानुपातिक मत २ हजार ८ सय १४ छ । प्रत्यक्षतर्फ रास्वपाले २०७९ मा मोहम्मद हसरत अलीलाई प्रत्यक्षमा उठाएको थियो । उनले एक हजार मत पनि कटाउन सकेका थिएनन् । त्यतिबेला ८ सय ९७ मत ल्याएको रास्वपा यस पटक भने दुई ठूला दलका लागि मुख्य चुनौती बनेको छ । 

२०७९ मा कांग्रेसका हृदयराम थानी सुर्खेत–२ बाट ३४ हजार ६ सय २५ मत ल्याएर विजयी भएका थिए । एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५ सय ५८ मत ल्याएका थिए । त्यतिबेला तेस्रोमा आएको रास्वपाका उम्मेदवार टेकबहादुर चुनाराको मत ४ हजार ६ सय १ मत थियो । तुलनात्मक रूपमा सुर्खेत–१ मा भन्दा २ मा रास्वपाको प्रभाव बढी छ । रास्वपाको ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा प्रभाव बढी देखिएको छ । 

राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांकअनुसार ४ लाख १५ हजार १ सय २६ जनसंख्या भएको सुर्खेतमा ९ स्थानीय तह छन् । जसमध्ये झन्डै ६७ प्रतिशत जनसंख्या ग्रामीण इलाकामा बस्छन् । जिल्लाभर १ लाख ४८ हजार ९ सय ४३ मतदाता छन् । निर्वाचन कार्यालयका अनुसार सुर्खेत–१ मा १ लाख २३ हजार ७५ र २ मा १ लाख २४ हजार ६ सय ६५ मतदाता छन् । 

Issues in Surkhet are in the background, only the debate between the new and the old is going on

सुर्खेत–१ मा वीरेन्द्रनगर–१५ र १६ सहित भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिका तथा सिम्ता र चिन्गाड गाउँपालिका पर्छन् । सुर्खेत–२ मा वीरेन्द्रनगर नगरपालिकाका १४ वडा पर्छन् । जुन सदरमुकामसँग जोडिएका छन् । जसको जनसंख्या १ लाख ४ सय ५८ छ । त्यस्तै बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्छन् । सदरमुकामको मुख्य सहरी क्षेत्र नै सुर्खेत–२ सँग जोडिएको छ । जसमा रास्वपाको प्रभाव बढ्दै गएको छ । 

रास्वपाले सुर्खेत–२ मा पनि कांग्रेस पृष्ठभूमिकै उम्मेदवार अघि सारेको छ । कांग्रेसका पूर्वनगर सचिव रमेश सापकोटा रास्वपाका उम्मेदवार छन् । करिब डेढ वर्षअघि मात्रै उनी कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए । सापकोटा यातायात व्यवसायी हुन् । २०५५ मा सहचालक हुँदै यातायात व्यवसायमा छिरेका सापकोटा रास्वपाको सशक्त उम्मेदवारका रूपमा देखिएका छन् । 

उनका अनुसार सुर्खेतका दुवै क्षेत्रमा रास्वपाको प्रतिस्पर्धा कांग्रेससँग छ । कांग्रेसको तुलनामा एमालेको मत बढी प्रभावित हुने उनको अनुमान छ । रास्वपाप्रतिको आकर्षण बढ्नुमा पुराना दलप्रतिको वितृष्णा, आफूले गरेका सामाजिक सेवा, व्यक्तिगत र संस्थागत सम्बन्ध र रास्वपाप्रतिको आशा र भरोसा नै मुख्य कारण भएको उनी बताउँछन् । ‘रास्वपामा पार्टी प्रवेश गर्नेहरूको तुलना गर्दा कांग्रेसभन्दा एमालेको भोट बढी काट्ने आशा हाम्रो छ,’ उनले भने, ‘हिजोको भोट बैंक र आजको परिस्थिति फरक छ । आज रास्वपाका उम्मेदवार जनताको घरदैलोमा पुग्दा नागरिकमा देखिने हँसिलो अनुहार अरू उम्मेदवार पुग्दा पाएको छैन ।’

एमालेले यस पटक सुर्खेत–२ मा नयाँ उम्मेदवारका रूपमा कुलमणि देवकोटालाई अघि सारेको छ । देवकोटा एमाले सुर्खेतका अध्यक्ष पनि हुन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रहेका देवकोटा जिल्लामा आफ्नो प्रतिस्पर्धी कोही नभएको दाबी गर्छन् । उनी एमालेका मतदाता रास्वपामा नगएको बताउँछन् । ‘जनताको साथ र समर्थन एमालेप्रति ठूलो छ । सांगठनिक रूपमा हामी सबैभन्दा बलिया छौं,’ उनले भने, ‘यस्तो अवस्थामा एमालेको प्रतिस्पर्धी मैले पाएको छैन ।’ 

कांग्रेस नेता थानी केन्द्रीयस्तरका नेताहरू यस पटक मैदानमा नहुँदा निर्वाचनको माहोल नै तल झरेको अनुभव आफूलाई भएको बताउँछन् । कांग्रेसका खड्का र थानी, एमालेका नेता यामलाल कँडेल राष्ट्रिय राजनीतिका परिचित अनुहार हुन् । एमाले नेता कँडेल अहिले कर्णाली प्रदेशका मुख्यमन्त्री छन् । कांग्रेसका दुई मुख्य नेता प्रतिस्पर्धामा नहुँदा नै माहोल फरक भएको थानी बताउँछन् । 

Issues in Surkhet are in the background, only the debate between the new and the old is going on

अघिल्लो निर्वाचनमा रास्वपाको खासै प्रभाव नपरेकाले यस पटक पनि कांग्रेस र एमालेबीचमै प्रतिस्पर्धा हुने चर्चा दुई दलबीचका नेताहरूलाई लागिरहेको थियो । तर, रास्वपाका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको उपस्थितिमा ७ फागुन घण्टाघरको सभामा भएको उपस्थितिले आफूहरूलाई समेत रनभुल्लमा पारेको थानीको भनाइ छ । ‘जम्माजम्मी रविले ६ मिनेट र बालेनले ३ मिनेटजति भाषण गरे, एजेन्डा केही छैन । देशलाई कसरी अघि बढाउने योजना छैन । तर मानिसहरू हल्लाको पछाडि कुदेका देखिन्छन्,’ उनी भन्छन्, ‘हिजोको दिनसम्म शतप्रतिशत कांग्रेसले जित्ने ठाउँ हो । रास्वपाले कसको मत बढी काट्छ भन्ने भेउ पाउन गाह्रो छ, तर जिल्लामा एमालेसँग नै मुख्य प्र्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’ 

थानीकै सिफारिसमा यस पटक सुर्खेत–२ बाट कोइराला उम्मेदवार छन् । उनी नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका हुन् । रेडियो भेरीका अध्यक्ष हुन् । कांग्रेसका पूर्वक्षेत्रीय सभापति र सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षसमेत हुन् । नगर विकास समितिको अध्यक्ष हुँदा उपत्यकाको योजनाबद्ध विकासमा उल्लेख्य भूमिका खेलेकाले आफ्नो प्रभाव बढेको दाबी उनको छ । 

नेकपाबाट झकबहादुर मल्लसहित यस क्षेत्रबाट १७ उम्मेदवार छन् । मल्ल तत्कालीन माओवादी केन्द्रका जिल्ला इन्चार्ज हुन् । नेकपा केन्द्रीय सदस्य उनले सशस्त्र द्वन्द्वको समयमा सुर्खेतको ‘जेलब्रेक’ को नेतृत्व गरेका थिए । पूर्वलडाकु कमान्डरसमेत रहेका उनले सशस्त्र द्वन्द्वका बेला श्रीमती गुमाएका थिए । 

जिल्लामा ७ हजार ३ सय ६२ नयाँ मतदाता थपिएका छन् । तीमध्ये अधिकांश युवा छन् । सुर्खेत–२ मा १ लाख ४८ हजार मतदाता छन् । खासगरी यस जिल्लामा निर्वाचनको अन्तिम दिनमा सुकुम्बासी बस्तीको मत नै निर्णायक हुने बताउँछन् । सुर्खेत–१ मा करिब ७ हजार सुकुम्बासी मतदाता छन् । सुर्खेत–२ मा पनि करिब त्यति नै संख्या छ । सुकुम्बासी बस्तीका करिब सात हजारको संख्याका नयाँ मतदाता नै निर्णायक हुने रास्वपाका उम्मेदवार सापकोटाले बताए । 

सुर्खेतमा झन्डै ५२ हजार ६ सय ९६ सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । विघटित राष्ट्रिय भूमि आयोग जिल्ला समितिका पूर्वअध्यक्ष श्रीधर पौड्यालका अनुसार वीरेन्द्रनगरमा १३ बस्तीसहित चौकुने गाउँपालिकाको गुटु बजार, पञ्चपुरी नगरपालिकाको बाबियाचौर, भेरीगंगा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा भूमिहीन र अव्यवस्थित बसोबासी बस्छन् । 

समितिको विवरणअनुसार सिम्तामा ३ हजार २ सय ७२, चिंगाडमा ८ सय ४७, भेरीगंगामा ८ हजार १ सय ५७, लेकबेसीमा ४ हजार ७ सय ५७, गुर्भाकोटमा ६ हजार ४ सय ७०, वीरेन्द्रनगरमा १३ हजार ८ सय ८०, पञ्चपुरीमा ६ हजार ४ सय ८०, चौकुनेमा ४ हजार ४ सय ८० र बराहतालमा ४ हजार ७ सय ८५ जनाले जग्गा प्राप्तिको फाराम भरेका थिए । त्यसमध्ये पहिलो चरणमा झन्डै ७ सय जनालाई लालपुर्जा वितरण गरिएको थियो । ‘थप ९ सय जनालाई लालपुर्जा वितरण गर्ने तयारी गरिरहेका थियौं,’ पूर्वअध्यक्ष पौड्यालले भने, ‘समिति खारेज भयो ।’ उनका अनुसार २०२२ देखिका भूमिहीन र सुकुम्बासी वीरेन्द्रनगरमा बसोबास गर्दै आएका छन् ।

Issues in Surkhet are in the background, only the debate between the new and the old is going on

सुर्खेत–१ मा रास्वपा उम्मेदवार टेकबहादुर सिंहले उच्चस्तरीय समिति गठन गरी भूमिहीन सुकुम्बासीलाई स्थायी लालपुर्जा दिने कार्ययोजना बनाइरहेको बताए । ‘भूमिहीनहरूको वर्गीकरण गरी उनीहरूलाई आवश्यकताका आधारमा कृषि, उत्पादन तथा विभिन्न स्वरोजगारमूलक व्यवसायमा जोड्ने कार्यक्रम पनि बनाएका छौं,’ उनले भने । 

सुर्खेत–२ का एमाले उम्मेदवार कुलमणि देवकोटाले सुकुम्बासीलाई जग्गा वितरणका लागि एक वर्षभित्रै पहल गर्ने बताए । ‘ठूलो जनसंख्या भूमिहीन छ, उनीहरू भूमिहीन भएपछि बसोबास, रोजगारी र सामाजिक सुरक्षामा असर परेको छ,’ उनले भने, ‘एमाले नेतृत्वको सरकार हुँदा गठन भएको आयोगले प्रक्रिया सुरु गरेको थियो । काम नसकिँदै खारेज भयो ।’ 

सोही क्षेत्रका कांग्रेस उम्मेदवार कोइरालाले पनि भूमिहीन र सुकुम्बासीलाई स्थायी पुर्जा दिने कामलाई आफूले पहिलो प्राथमिकतामा राखिएको बताए । ‘अहिले उहाँहरू नै हाम्रो निर्णायक मतदाता हो, उहाँहरूको समस्याप्रति कांग्रेस पहिलेदेखि नै सचेत छ,’ उनले भने, ‘भूमिहीन युवालाई विभिन्न सीपमूलक तालिम दिई रोजगारीमा जोड्ने हाम्रो योजना छ ।’

तर, सुकुम्बासी बस्तीका मतदाताहरू पुराना दलका नेताको भनाइमा विश्वस्त छैनन् । २०४८ देखि नै सुकुम्बासीलाई भोट बैंक बनाउँदै आएको आरोप उनीहरूको छ । लालपुर्जा र रोजगारी सुकुम्बासी बस्तीको मुख्य मुद्दा हुन् । लालपुर्जा नपाउँदा बैंकमा धितो राखेर सानोतिनो व्यवसाय चलाउन नपाएको उनीहरूको गुनासो छ । 

‘कुनै पटक कांग्रेसले लालपुर्जा देला भनेर हालियो, दिएन । एमालेले देला भनेर हालियो, दिएन । त्यसपछि माओवादी आयो । प्रचण्डले पक्कै गर्लान् भनेर सबै भोट माओवादीतिर खन्याइयो, भएन,’ शीतलटोलस्थित सुकुम्बासी बस्तीकी महिमा बस्याल भन्छिन्, ‘रोजगारी छैन । व्यवसाय गर्न धितो राख्न पाइँदैन । लाजले होला, धेरै दलहरू भोट माग्न आएका छैनन् । यस पटक पार्टी होइन, व्यक्ति हेरेर भोट गर्नुपर्छ भन्ने छलफल चलिरहेको छ ।’

विगतमा पैसा वितरण गरेर भोट प्रभावितसमेत पार्ने गरेकाले यस पटक पनि त्यस्तो प्र्रयास अन्तिम घडीमा हुन सक्ने श्रीनगरस्थित अर्को सुकुम्बासी बस्तीका मोहनलाल गन्धर्वले बताए । ‘हाम्रो बस्तीमा धेरैजसो दलित छौं । नेताहरूले पैसा देखाएर पनि प्रभावित पार्न खोज्छन् । यस पटक पैसाले प्रभावित पार्न खोजे पनि पार्टी हेर्दैनौं, व्यक्ति कस्तो छ भनेर हेर्छौं,’ उनी भन्छन्, ‘हाम्रो मुख्य मुद्दा लालपुर्जा हो । अब कति समयसम्म यो माग हामीले उठाइरहनुपर्ने हो ?’

मध्यपश्चिम विश्वविद्यालयमा द्वन्द्व र शान्ति अध्ययन विषयका उपप्राध्यापक कमल लम्साल पछिल्ला तीन/चार वटा निर्वाचनको तुलना गर्दा परिस्थिति यस पटक नयाँ दलप्रति ढल्कने देखिएको बताए । विचार र एजेन्डाभन्दा पनि नयाँ र पुरानाबीचको प्रतिस्पर्धाको मुद्दामा चुनाव हुन लागिरहेको उनले बताए । ‘२०६४ मा आस र त्रासबीचको मतदान थियो । यस पटक जेन–जी आन्दोलनपछिको परिस्थितिमा विशेष निर्वाचन हुँदै छ । जबर्जस्ती रूपमा नयाँ शक्ति आउन खोजेका छन् । २०६४ मा जस्तै यसपालि एक पटक हेरौं भन्ने र उनीहरूप्रति आशा राख्ने जमात देखिन्छ,’ लम्साल भन्छन्, ‘एजेन्डा र विचारको होइन । प्रयोगको, अनि पुरानो र नयाँबीचको प्रतिस्पर्धा हुँदै छ । तर, सुर्खेतकै हकमा नयाँ दलमा पनि पुरानै दलबाट गएका उम्मेदवार छन् । तिनलाई कसरी नयाँ भन्ने ?’ 

निजामती सेवाबाट निवृत्त स्थानीय भरत गिरीका अनुसार यस पटकको निर्वाचन एजेन्डामा केन्द्रित छैन । नयाँ र पुरानाबीचको ध्रुवीकरण एकातिर छ भने अर्कोतर्फ पुराना पार्टीका नेताले भ्रष्टाचार मात्रै गरे भन्ने भाष्य छ । ‘मूलभूत रूपमा सुशासनको दिशामा राजनीतिक दलले होइन, नेताले केही गरेनन् भन्ने जनआक्रोश सहरीदेखि ग्रामीण इलाकासम्मका नागरिकलाई परेको छ । जिल्ला प्रशासन, मालपोत कार्यालय, यातायात कार्यालयलगायतका क्षेत्रमा सेवाग्राहीले बेहोर्नुपरेको हैरानी र दलालीतन्त्रको सास्ती खेप्नुपर्दाको आक्रोश छ,’ उनी भन्छन्, ‘जनतालाई हामीमाथि शोषण गरेका छन् । लुटेका छन् भन्ने परेको छ । अर्कोतर्फ राज्यले भेदभावपूर्ण चरित्र देखायो भन्ने परेको छ ।’ 

Issues in Surkhet are in the background, only the debate between the new and the old is going on

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का सामाजिक सञ्जाल र युवामा नयाँ लहर देखिए पनि नतिजा नै निकाल्ने खालको प्रभाव नयाँ दलको नभएको दाबी गर्छन् । ‘देशमा केही भएन भन्ने भाष्य सिर्जना भएको छ । केही नभएको होइन । सोचेअनुसार नभएको मात्रै हो । तर, यो नकारात्मक भाष्यले यहीँ व्यवसाय गरेर बस्ने युवाहरू पनि पलायन हुने क्रम बढेको छ । साना काम गरेरै भए पनि सरकार भएको अनुभूति दिन सक्ने सरकार चाहिएको छ,’ उनले भने । 

२० निर्वाचन स्थल अति संवेदनशील 

सुर्खेतका २० निर्वाचन स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ४२ निर्वाचन स्थल र ३ सय ५ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार बाँकी ८७ स्थललाई संवेदनशील र ३५ स्थललाई सामान्य निर्वाचन स्थलका रूपमा हेरिएको छ ।

अति संवेदनशील निर्वाचनस्थल निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत सिम्ता र चिंगाड गाउँपालिकाका ९ निर्वाचनस्थल छन् । यस्तै, क्षेत्र नम्बर २ मा पञ्चपुरी नगरपालिका, चौकुने र बराहताल गाउँपालिकाका ११ स्थल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए ।

‘दूरी, विकटता र विगतमा घटनालाई मध्यनजर गरेर जिल्लाका यी क्षेत्रलाई वर्गीकरण गरिएको हो,’ शाहीले भने, ‘अहिले हामी सुरक्षा निकायका प्रमुखसहित निर्वाचन अधिकृत निर्वाचनस्थल नै पुगेर हेर्ने, सुधार गर्नुपर्ने विषयमा सुधार गर्नेलगायत काम गरिरहेका छौं । दलहरूबीच पनि समन्वयको काम भएकाले निर्वाचन सामान्य तरिकाले सम्पन्न हुन्छ ।’ शाहीका अनुसार संवेदनशील भनिएका मतदानस्थलमा अहिलेदेखि नै निगरानी राख्न सुरु भएको छ । 

सुर्खेतमा निर्वाचनलक्षित गरेर ९ सय ३५ प्रहरी, ३ सय ७४ नेपाली सेना, २ सय ४८ सशस्त्र प्रहरी र १ हजार ८ सय ४० निर्वाचन प्रहरी खटिने छन् । निर्वाचन प्रयोजनका लागि झन्डै २ हजार कर्मचारी खटिँदै छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully