बागमतीमा ३३ सिटका लागि १०८ महिला उम्मेदवार, कुन जिल्लामा कति ?

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २ सय ५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । काठमाडौंका यी निर्वाचन क्षेत्रमा ४६ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

108 women competing for 33 seats in Bagmati, how many in which district?

हेटौंडा — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागमती प्रदेशका १३ जिल्लाबाट प्रत्यक्षतर्फ ३३ जना उम्मेदवार निर्वाचित हुनेछन् । यस प्रदेशमा १०८ महिलासहित ७३१ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । 

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २ सय ५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । काठमाडौंका यी निर्वाचन क्षेत्रमा ४६ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

प्रदेशकै सबैभन्दा बढी महिला उम्मेदवार निर्वाचनमा सहभागी रहेको जिल्ला काठमाडौं हो । काठमाडौंपछि चितवनमा महिला उम्मेदवारको संख्या बढी छ । तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा ६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ १८ महिला उम्मेदवार छन् । 

दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ५७ जना उम्मेदवारमध्ये ९ महिला उम्मेदवार छन् । तीनवटा निर्वाचन क्षेत्र रहेका ललितपुरमा ७१ उम्मेदवारमा ९ जना मात्रै महिला छन् । यस्तै, दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ उम्मेदवारमध्ये ७ जना महिला छन् । 

एउटा निर्वाचन क्षेत्र रहेको दोलखा र दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा ४-४ जना महिला उम्मेदवार चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । दोलखामा ३३, धादिङमा ४७ उम्मेदवार छन् ।

दुई-दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा र सिन्धुलीमा ३-३ जना महिला उम्मेदवार छन् । काभ्रेमा ४२ र सिन्धुलीमा २८ जना उम्मेदवार छन् । 

एक-एकवटा निर्वाचन क्षेत्र रहेको रसुवा र रामेछापमा एक-एक जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै दुईवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एक जना महिला उम्मेदवार सहभागी छन् । रसुवामा १२, नुवाकोटमा ३० र रामेछापमा १७ जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरि ढकालले बताए ।

कान्तिपुर

Link copied successfully