काठमाडौंको चोकचोकमा सुदूरपश्चिमको गीत जुन दिन बज्छ त्यो दिन माग पूरा हुन्छ : बालेन्द्र

धनगढीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले रास्वपालाई भोट नदिए पनि काम गर्ने अवसर दिन मतदातासँग आग्रह पनि गरेका छन् ।

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

The day the song of Sudurpaschim is played at the streets of Kathmandu, the demand will be fulfilled: Balendra

What you should know

काठमाडौँ — रास्वपाका वरिष्ठ नेता एवं झापा-५ का उम्मेदवार बालेन्द्र शाहले जुन दिन सुदूरपश्चिमको गीत काठमाडौंको चोकचोकमा बज्छ त्यो दिन बल्ल काठमाडौंसँग जोडिने बताएका छन् । ‘सुरुमा गीत बज्नु पर्यो । त्यसपछि आवाज बज्छ । त्यसपछि माग पूरा हुन्छ,’ उनले भने, ‘सुन्दा सानो लागे पनि त्यो राष्टिय स्वतन्त्र पार्टीको एजेण्डा हो ।’

धनगढीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले रास्वपालाई भोट नदिए पनि काम गर्ने अवसर दिन मतदातासँग आग्रह पनि गरेका छन् । राष्टिय स्वतन्त्र पार्टी भोट माग्न नआएको बताउँदै उनले काम माग्न आएको र भोट नदिए पनि काम दिन अनुरोध गरे । उनले भने, ‘तपाईंहरूले भोट नदिए पनि राष्टिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्छ । भोट नदिए पनि हुन्छ । तपाईंहरूले हाम्रा उम्मेदवार, पार्टीका मान्छेहरूलाई  कामको लिस्ट दिनुस् ।’

सभामा उनले नेपालीहरूले माल भएर पनि चाल नपाएको बताए । ‘मान्छेहरू देशलाई स्वीजरल्यान्ड बनाउनु पर्यो भन्छन् । स्वीजरल्यान्डको बाउ बुढीमालिका यही छ किन बनाउन पर्यो स्वीजरल्यान्ड ? रामारोशन यहीँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ । किन बनाउन पर्यो स्वीजरल्यान्ड ?,’ 

यस्तै, उनले खल्तीमा पैसा नभएको विपन्न गरिबले पनि शिक्षा, स्वास्थ्य सेवा पाउनु पर्ने आफूहरूको एजेण्डा रहेको बताएका छन् । दुई वर्षमा बन्नु पर्ने बाटो २० वर्षमा पनि बनेको छैन । त्यो बन्नु पर्याो । यिनै एजेण्डा रास्वपाको भएको बालेन्द्रले बताए । ‘रुखमा बाँधेर हुन्छ की, बाटोमा सुताएर हुन्छ । खोरमा जाकेर हुन्छ की बाटो बन्नु पर्यो, त्यो हो मेरो एजेण्डा,’ उनले भने । 

रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उनले आफूले धेरै नबोल्ने भन्दै छोटकरीमा मन्तव्य टुंग्याएका थिए ।

कान्तिपुर

Link copied successfully