एमालेले टुंग्यायो बाँकी क्षेत्रमा उम्मेदवार, केहीको हेरफेर

सुदूरपश्चिमकी एकमात्र उम्मेदवार बोहराको टिकट खोसियो, ताप्लेजुङमा उपमहासचिव भट्टराईलाई टिकट नदिई युवा संघका अध्यक्ष थेवेलाई उम्मेदवार बनाइएको छ ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

UML finalizes candidates for remaining constituencies, changes some

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँकी निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदै केही उम्मेदवारको क्षेत्र हेरफेर गरेका छन् । 

रुपन्देही-२ मा उपाध्यक्ष विष्णु पौडेल र १ मा ददिराम न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ । शनिबार पाल्पा-२ बाट उठ्ने निर्णय भए पनि कार्यकर्ताको दबाबपछि महासचिब शंकर पोखरेल दाङ-२ बाट उम्मेदवार बनेका छन् । शनिबार सचिवालय बैठकले दाङ-२ मा पोखरेलको उम्मेदवारीबारे निर्णय गरेको थिएन । अध्यक्ष ओलीसँग परामर्श गरेपछि पोखरेल आफू त्यस क्षेत्रबाट उम्मेदवार बन्ने निष्कर्षमा पुगेका हुन् । 

‘दाङ-२ बाट महासचिव शंकर पोखरेल उम्मेदवार बन्ने पक्का भएको छ,’ ओली सचिवालयले भन्यो । 

दाङ-१ मा सोमबार टुंग्याइने छ । दाङ-३ मा घनश्याम पाण्डे उठ्ने निर्णय भइसकेको छ ।

गत निर्वाचनमा उनी माओवादी केन्द्रकी रेखा शर्माबाट पराजित भएका थिए । कन्चनपुर-१ मा कमला बोहरालाई शनिबार टिकट दिइएको थियो । आइतबार उनको टिकट खोसेर तारा लामालाई दिइएको छ । 

बझाङमा अफिलाल ओखेडाको टिकट खोसेर ऐन महरलाई दिइएको छ । ताप्लेजुङमा उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिई युवा संघका अध्यक्ष थितिज थेवेलाई उम्मेदवार बनाइएको छ ।

शनिबार निर्णय नभएका मोरङ-६ विनोद ढकाल, मोरङ-५ मनोज अग्रवाल, सुनसरी-२ रेवतीरमण भण्डारी र सुनसरी-१ टीकाराम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय ओलीले गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully