निर्वाचन समितिका संयोजक सीताराम केसीले पत्रकार सम्मेलनमा पुरानै विधानअनुसार निर्वाचन गराइने बताए ।
What you should know
काठमाडौँ — कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीले पत्रकार सम्मेलनमा पुरानै विधानअनुसार निर्वाचन गराइने बताए । उनका अनुसार १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।
केसीका अनुसार निर्वाचनबाट २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री पनि चयन हुनेछन् । उनले खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने जानकारी दिए ।
विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । जसमा मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मका सबै प्रक्रिया समेटिएका छन् ।
कार्यक्रमअनुसार १२:३० बजे पहिलो मतदाता नामावली प्रकाशन गरिएको छ । दिउँसो १२:३० देखि १:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध र सो उपर छानबिन गरिनेछ । त्यसपछि अपराह्न २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ र २ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज नै उम्मेदवारहरूको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) अनुसार पहिलो नामावली प्रकाशन गरिनेछ । उम्मेदवारीमाथि दाबी–विरोध र त्यसको छानबिन सम्पन्न भएपछि उम्मेदवारी फिर्ता लिने समय दिइनेछ र अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन समितिका अनुसार साँझ ७ बजेसम्म दाबी–विरोधमाथि छानबिन हुनेछ । उम्मेदवारको अन्तिम नामावली राति ८:४५ बजे प्रकाशन गरिनेछ ।
