कांग्रेस महामन्त्रीद्वयको एक स्वर : ‘दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्छौं’

थापाको समसामयिक–राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यो प्रावधान लागू गर्न कांग्रेसको विधान संशोधन गरिनेछ ।'

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Two Congress General Secretaries in One Voice: 'We will make arrangements to ensure that no one can be Prime Minister more than twice'

What you should know

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था लागू गर्ने बताएका छन् ।

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा छुट्टाछुट्टै प्रतिवेदन पेस गर्दै उनीहरुले उक्त व्यवस्था लागू गर्न कांग्रेसको विधान र संविधानसमेत संशोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

‘नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्ता र विशेषगरी युवा पुस्ताको भावनाअनुसार देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री) को दुई कार्यकाल मात्रै हुने प्रस्ताव यो विशेष महाधिवेशन पारित गर्दछ,’ थापाले पेस गरेको समसामयिक–राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यो प्रावधान लागू गर्न कांग्रेसको विधान संशोधन गरिनेछ । कांग्रेसको तर्फबाट अब कोही पनि व्यक्ति तेस्रो पटक प्रधानमन्त्री हुनेछैन ।’ यो प्रावधान लागू गर्न संविधान संशोधनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए ।

त्यस्तै, महामन्त्री शर्माले पेस गरेको प्रतिवेदनमा पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था लागू गरिने उल्लेखछ । ‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने, डेढ दशकयता हामीले निरन्तर यो अभ्यास गर्दै आयौं । यसले एकातर्फ नागरिकमा असन्तुष्टि बढायो । नेतृत्वलाई अलोकप्रिय बनायो । अर्कातर्फ सार्थक परिणाम पनि दिएन सकेन,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘विगतको गल्ती सच्याउँदै यो विशेष महाविधेशन उद्घोष गर्दछ- कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्नेछैन । दुई पटक मात्रै प्रधानमन्त्रीको यो नीतिलाई संविधानमा लिपिबद्ध गर्न कांग्रेसले अग्रसरता लिनेछ ।’

कान्तिपुर

Link copied successfully