महामन्त्री थापाको प्रतिवेदन : कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दैन

‘निर्वाचन विजय हासिल गर्ने प्रयोजनको लागि वा पराजित हुने त्रासले जोसँग जहाँ र जहिले पनि गठबन्धन वा सहकार्य गर्ने र अर्को पार्टीलाई मत माग्ने प्रवृत्तिको अन्त्य गर्छौं।’

पुस २८, २०८२

कान्तिपुर संवाददाता

General Secretary Thapa's report: Congress will not form an alliance in the elections

What you should know

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले विशेष महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन पेश गर्दै निर्वाचनपूर्व गठबन्धन नगर्ने बताएका छन्।

भृकुटीमण्डपमा जारी बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसले मूल्य–मान्यतामा आधारित राजनीति गर्ने बताए। ‘कांग्रेस ३० वर्षसम्म सरकारभन्दा बाहिर बसेर पञ्चायतसँग लड्यो। १० वर्षे हिंसात्मक द्वन्द्वमा सबै गुमाउन तयार भयो। तर आफ्नो मूल्य–मान्यता नदिई लड्यो। जनमत संग्रहमा षड्यन्त्रपूर्वक पराजित गराइएको परिणामलाई पनि स्वीकार गर्‍यो। आफ्नो मूल्य, मान्यता र सिद्धान्तमा कहिल्यै सम्झौता गरेन,’ उनको प्रतिवेदनमा भनिएको छ।

पार्टीको आदर्श, सिद्धान्त तथा मूल्यको राजनीतिलाई तिलाञ्जली दिँदै राजनीतिलाई केवल सत्ता प्राप्ति र शक्तिको स्वार्थमा केन्द्रित गर्ने गठबन्धन वा सहकार्य खारेज गर्ने महामन्त्री थापाले बताए। ‘सत्तालाई नै लक्ष्य ठान्ने र चुनाव जित्नु नै पार्टीको अन्तिम विजय ठान्ने चरम सत्तालिप्सा र सिद्धान्तहीन प्रवृत्तिलाई पूर्णतः अस्वीकार गर्दछौं,’ उनले थपे। ‘निर्वाचन विजय हासिल गर्ने प्रयोजनको लागि वा पराजित हुने त्रासले जोसँग जहाँ र जहिले पनि गठबन्धन वा सहकार्य गर्ने र अर्को पार्टीलाई मत माग्ने प्रवृत्तिको अन्त्य गर्छौं।’

२०८० फागुनमा गोदावरीमा सम्पन्न कांग्रेस महासमिति बैठकले पनि निर्वाचनअघिको गठबन्धन नगर्ने नीति पारित गरेको थियो। निर्वाचनपूर्वको गठबन्धन संस्कृतिले पार्टीको आदर्श, लोकतान्त्रिक विचार र संगठनलाई थप क्षति पुग्ने उनले बताए। ‘पार्टी सदस्य, शुभेच्छुक, समर्थक र आम नागरिकलाई विश्वास दिलाउँछौं। कांग्रेस भविष्यमा हुने आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन (Pre-Election Alliance) गर्ने छैन।’ कांग्रेसले सत्ता र लेनदेनको राजनीति त्यागेर आदर्श, सिद्धान्त र मूल्यमा आधारित राजनीति गर्ने उनले स्पष्ट पारे।

सम्बन्धित समाचार

गगनले प्रस्तुत गरे समसामयिक राजनीतिक प्रस्ताव [पूर्ण पाठ]

कान्तिपुर

Link copied successfully