निर्वाचन आयोगमा आधिकारिकतासम्बन्धी झमेला नपरोस् भन्ने उद्देश्यले प्रतिनिधिको नागरिकतासहित भेरिफिकेसन गरिएको हो ।
काठमाडौँ — भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनस्थलमा आएका महाधिवेशन प्रतिनिधिहरूका लागि तीन फरक–फरक फाइल तयार गरी ती सबैमा हस्ताक्षर गराइएको छ।
साथै महाधिवेशन प्रतिनिधिको नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पनि संकलन गरिएको छ।
विशेष महाधिवेशन पक्षधर एक नेताका अनुसार संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिहरूको फर्जी हस्ताक्षर गरिएको वा उपस्थित नभएकाहरूको विवरणसमेत सार्वजनिक गरिएको भन्ने आरोप लगाइरहेको पृष्ठभूमिमा यसरी हस्ताक्षर र नागरिकता संकलन गरिएको हो।
विशेष महाधिवेशनका निर्णयमाथि प्रश्न उठ्ने अवस्था नहोस् र निर्वाचन आयोगमा आधिकारिकतासम्बन्धी झमेला नपरोस् भन्ने उद्देश्यले प्रतिनिधिको नागरिकतासहित भेरिफिकेसन गरिएको एक नेताले बताए।
विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या २८ सय नाघेको छ। सोमबार पनि थप दुई सय जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन्। प्रतिनिधिको नाम दर्ता नै पूरा नभएका कारण बन्द सत्रमा ढिलाइ भइरहेको प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए। 'बिहानमात्रै २ सय जना प्रतिनिधिहरूले नाम दर्ता गराइसक्नुभएको छ। अझै पनि नाम दर्ता भइरहेको छ,' उनले भने ।
सम्बन्धित समाचार
विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि, वैधानिक संकटमा सभापति देउवा
