महामन्त्री शर्माले भदौ २३ र २४ का घटनामा दोषी पहिचान, निष्पक्ष छानबिन तथा इतिहासबाट पाठ सिक्न सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
What you should know
काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ का घटनाका सम्बन्धमा आत्मसमीक्षा र निष्पक्ष छानबिनको माग गरेका छन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा शर्माले जारी गरेको प्रतिवेदनमा जेन-जीले आफ्नो आह्वान, संलग्नता र कर्मअनुसार जिम्मेवारी लिनुपर्ने उल्लेख छ । ०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरिरहँदा कतिपय ठाउँमा बम विस्फोट भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गरेको प्रसंग स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, ‘इतिहासको त्यो एक उच्चतम नैतिक प्रस्तुति थियो । आजको मितिमा जेन-जी प्रदर्शनकारीले आफ्नो प्रदर्शनको आत्मसमीक्षा गरेर त्यति मात्रै जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ जति तिनको आह्वान, संलग्नता र कर्म हो ।’
भदौ २३ गतेको घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने जेन-जीको माग सही भएको प्रतिवेदनमा उल्लेख छ । ‘अत्यधिक बल प्रयोग मार्फत होनहार युवाहरूको जीवनको समाप्ति इतिहासकै गम्भीर घटना थियो । सँगैमा २४ गते राष्ट्रव्यापी रुपमा भएको ध्वंसको घटनालाई अलग छुट्याउन, त्यसको निष्पक्ष र वस्तुगत छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन जेन-जी युवाहरुकै विशेष माग बन्नुपर्छ र यसलाई जाँचबुझ आयोगमार्फत निष्पक्ष निरुपण गरिनु उचित हुन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यसो गरेर भविष्यमा त्यो ध्वंसको धब्बा आफूहरूको शिरमा लाग्न नदिन जेनजी प्रदर्शनका सबै अगुवा र प्रत्येक युवा सजग हुन जरुरी छ ।’
महामन्त्री शर्माले भदौ २४ को आगजनीको कुरा गर्ने र २३ गते अबोध युवा मारिएको घटनालाई दोस्रो प्राथमिकता राख्ने काम पनि सही नभएको प्रतिवेदनमा उल्लेख गरेका छन् । भदौ २३ को घटना सम्झिने तर २४ गतेको ध्वंसलाई बिर्सने प्रवृत्तिले देशलाई द्वन्द्वमा धकेल्न सक्ने उनको आँकलन छ । ‘भदौ २३ र २४ दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा हामी सबैथरी स्पष्ट रुपले प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढंगले सघाउनुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।
