देउवाले निजी निवास महाराजगन्जमा रमेश लेखक, कृष्णप्रसाद सिटौलालगायत निकट नेताहरुसँग अबको बाटोबारे परामर्श गरिरहेका छन् ।
काठमाडौँ — कांग्रेसको एक समूहले विशेष महाधिवेशन आयोजना गरिरहँदा सभापति शेरबहादुर देउवाले भने आफूनिकट नेताहरुसँग छलफल तीव्र पारेका छन् ।
दोस्रो महाधिवेशन आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । उद्घाटनसत्रमा सभापति वा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बोलाउन विशेष महाधिवेशन पक्षधरले पटकपटक प्रयास गरे पनि उद्घाटनमा आउन उनीहरुले अस्वीकार गरेका थिए ।
सामाजिक सञ्जालमा देउवा सोमबारको बन्द सत्रमा सहभागी हुने भनेर प्रचार भएको भन्दै सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्टसमेत पारेको छ। देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा भृकुटीमण्डपमा आज जाने भन्ने सूचना केही व्यक्तिहरूले सामाजिक सञ्जालमा फैलाएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताए ।
आइतबारदेखि नै देउवाले निजी निवास महाराजगन्जमा रमेश लेखक, कृष्णप्रसाद सिटौलालगायत निकट नेताहरुसँग अबको बाटोबारे परामर्श गरिरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच समन्वयको प्रयास भइरहेको तर निष्कर्षमा पुग्न नसकेको बताए ।
विशेष महाधिवेशनले लिने निर्णयपछि कसरी अघि बढ्ने, प्रतिनिधिसभाको समानुपातिक सूचीको नाम फिर्ता लिने लगायतका विषयमा देउवाले छलफल गरिरहेका छन् ।आ
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन समानुपातिकतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने समय रहेको छ ।
