कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीद्वयका प्रतिवेदनमा समेटिए जेन–जी तथा युवाका भावना

गगन थापाले प्रतिवेदनमा स्थानीय सहरी समस्या, स्वास्थ्य, शिक्षा, सेवा–सुविधाको उपलब्धता, रोजगारी, आवासलगायतका सवाललाई सम्बोधन गर्नेदेखि युवा वर्गको शिक्षा, रोजगारी र सेवा–सुविधासम्बन्धी आवश्यकतालाई समेटेका छन् ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Congress special general convention: The report of the general secretaries reflects the sentiments of Gen Z and youth

What you should know

काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन पेस गरे । पेस गरिएको प्रतिवेदनमा जेन–जी तथा युवाहरूको भावना र मर्मलाई पनि उल्लेख गरिएको छ ।

गगन थापाद्वारा जारी समसामयिक राजनीतिक प्रस्तावमा उनले जेन–जी आन्दोलनको मर्मलाई उल्लेख गरेका छन् । गत भदौ २३ र २४ गते जेन–जीको आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापना गरेको स्वीकार्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

गगनले आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवर्द्धन, सेवा प्रवाह तथा युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वका सवाललाई आत्मसात गर्ने उल्लेख गरेका छन् । २३ र २४ को हिंसाजन्य घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न आफूहरू कटिबद्ध रहेको उल्लेख गरेका छन् । उनले युवायुवास्तालाई पार्टीको हरेक तहमा आन्तरिक संगठनदेखि राज्य सञ्चालनका राजकीय तथा सार्वजनिक निकायहरूमा अर्थपूर्ण सहभागिता र निर्णायक प्रतिनिधित्व सुनिश्चित गर्न नीतिगत तथा संरचनागत प्रबन्धसहितको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । 

भदौ २३ र २४ को विद्रोहको मूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको थियो । ‘भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितताको त्यो आवाज तथा अभियान आम नागरिककै स्वाभाविक आवाज हो भन्ने नेपाली कांग्रेसको दृढ दृष्टिकोण छ । जेन–जी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजहरूको सम्बोधन र संस्थागत रूप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ,’ प्रतिवेदनमा उल्लेख छ । 

स्थानीय सहरी समस्या, स्वास्थ्य, शिक्षा, सेवा–सुविधाको उपलब्धता, रोजगारी, आवासलगायतका सवाललाई सम्बोधन गर्नेदेखि युवा वर्गको शिक्षा, रोजगारी र सेवा–सुविधासम्बन्धी आवश्यकतालाई समेटेका छन् ।

विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा पनि जेन–जी तथा युवा पुस्ताहरूका माग र भावनालाई प्राथमिकतामा राखिएको छ । उनको प्रतिवेदनले पनि भदौ २३ र २४ को युवा प्रदर्शनलाई प्रणालीविरुद्ध नभई 'प्रणाली भित्रको खराबी र सुशासनको पक्षमा' भएको विद्रोहको रूपमा स्वीकार गरेको छ ।

जागिरको खोजीमा भौंतारिरहेका बेरोजगार युवाहरू र भ्रष्टाचारका प्रकरणहरूले उनीहरूमा खुसी नरहेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ । शर्माको प्रतिवेदनले युवाहरूलाई नेतृत्व तहमा ल्याउन विधानमै संख्यात्मक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय कार्यसमितिदेखि तल्लो तहसम्मै युवा तथा जेन–जीहरूलाई समेटिने उल्लेख छ । केन्द्रीय समितिमै ४० वर्षमुनिका ४० जना (३० वर्षमुनिका २० जना र ३०-४० वर्षका २० जना) समेटिने उल्लेख छ । प्रदेश कार्यसमितिमा पनि दुवै उमेर समूहबाट १०–१० जना समेटिने उल्लेख छ । जिल्ला, संघीय क्षेत्र, प्रदेश सभा क्षेत्र र पालिका समितिमा न्यूनतम ६–६ जना र वडा कार्यसमितिमा न्यूनतम ४–४ जना युवाहरूको प्रतिनिधित्व प्रस्ताव गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully