'यो पार्टीलाई नेताको पार्टी होइन, नीतिको पार्टी बनाउन आवश्यक छ'
काठमाडौँ — नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई व्यक्तिवादी चरित्रबाट मुक्त गरी संस्थागत पद्धतिमा लैजानुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता केसीले कांग्रेसमा 'नयाँपन' र 'रुपान्तरण' अपरिहार्य रहेको बताए ।
नेता केसीले पार्टीलाई नेताको स्वार्थभन्दा माथि उठाएर सिद्धान्तनिष्ठ बनाउनुपर्ने धारणा राखे । 'यो पार्टीलाई नेताको पार्टी होइन, नीतिको पार्टी बनाउन आवश्यक छ,' उनले भने, 'व्यक्तिको होइन, संस्थाको पार्टी बनाउनका निम्ति यो (प्रतिनिधिहरूको उपस्थिति) अत्यन्त ठूलो शक्ति हो । यही शक्तिले कांग्रेसलाई नयाँपन दिन्छ भन्नेमा म विश्वस्त छु ।'
उनले नेतृत्वको वरिपरि घुम्ने 'परिक्रमावादी' संस्कृतिले पार्टीलाई कमजोर बनाएको भन्दै अब कार्यकर्ताको मूल्यांकन कामको आधारमा हुनुपर्ने बताए । 'अब निर्माण हुने कांग्रेस परिक्रमावादीहरूको कांग्रेस होइन, प्रत्येक पराक्रम गर्नेहरूको रूपमा रूपान्तरण हुनुपर्ने आवश्यकता छ,' उनले थपे ।
