कांग्रेस अब गुट र कृपाबाट मुक्त हुनुपर्छ, वाम गठबन्धनको भारी बोक्नु हुँदैन : पुष्पा भुसाल

नेता भुसालले विशेष महाधिवेशनलाई ‘कुरुक्षेत्र’ को संज्ञा दिँदै यसले राजनीतिक न्यायको सन्देश दिनुपर्ने बताइन्।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Congress should now be free from factions and favoritism, and should not bear the burden of the Left alliance: Pushpa Bhusal

काठमाडौँ — नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले पार्टीलाई गुटबन्दी, कृपावाद र वामपन्थीहरूको प्रभावबाट मुक्त राख्नुपर्ने बताएकी छन्। शनिबार विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले कांग्रेस अब आफ्नै विधान र विचारका आधारमा जनताको बीचमा जानुपर्नेमा जोड दिइन्।

नेता भुसालले विशेष महाधिवेशनलाई ‘कुरुक्षेत्र’ को संज्ञा दिँदै यसले राजनीतिक न्यायको सन्देश दिनुपर्ने बताइन्। उनले भनिन्, ‘हामी चाहन्छौं, यो विशेष महाधिवेशनको कुरुक्षेत्रबाट भोलि केन्द्रीय नेता र देशभरका महाधिवेशन प्रतिनिधिहरूले राजनीतिक न्यायको सन्देश दिऊन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको अधिकारका लागि अब यो आन्दोलन निर्णायक हुनुपर्छ।’

उनले पार्टीभित्रको आन्तरिक बेथितिलाई लक्षित गर्दै भनिन्, ‘कांग्रेस अब गुट र कृपाबाट अलग हुनुपर्छ। हामी गुट चिन्दैनौं, हामी कृपा मान्दैनौं। हामी कांग्रेसलाई कमजोर हुन दिँदैनौं।’ उनले बीपी कोइरालाको विचार र संघर्षको ऊर्जाबाट अबको पुस्ता अगाडि बढ्नुपर्ने बताए।

नयाँ राजनीतिक दलहरूको उदयतर्फ संकेत गर्दै भुसालले लोकतान्त्रिक भाष्य निर्माण गरेर आउन खोज्ने चुनौतीहरूको सामना गर्न कांग्रेस वैचारिक रूपमा बलियो हुनुपर्ने धारणा राखिन्। उनले भनिन्, ‘अब कांग्रेसलाई वाम गठबन्धनबाट मुक्त गराउनुपर्छ। यो नेपाली जनताको कांग्रेस बन्नुपर्छ। कांग्रेसलाई अब दुबो जस्तै फैलिने पार्टी बनाउन यो महाधिवेशनले ऊर्जा दिन जरुरी छ।’

कान्तिपुर संवाददाता

Link copied successfully