महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशनमा सहभागी नहुन प्रतिनिधिहरुलाई कांग्रेसको आग्रह 

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आग्रह गरेका हुन् ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Congress urges delegates not to attend special general convention called by general secretaries

काठमाडौँ — कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह गरेको छ । 

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आग्रह गरेका हुन् । विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनका तयारी अगाडि बढाएको पृष्ठभूमिमा यस्तो विज्ञप्ति जारी भएको हो । 

'पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ,' विज्ञप्तिमा लेखिएको छ,'पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।'

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालयले सो परिपत्र जारी गरेको हो । 

गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनका लागि पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको निवेदनअनुसार तीन महिनाभित्र विशेष महाविधेशन गर्नुपर्ने सो पक्षले माग गर्दै आएको छ ।

गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेका सन्दर्भमा विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन/महाधिवेशनको प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चारमाध्यममार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

 साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले समानुपातिकतर्फ निर्वाचन आयोगमा उम्मेदवार प्रस्तुत गरिसकेको र राष्ट्रियसभा सदस्यको मनोनयनपत्र दर्ता भइसकेको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा अझ सशक्त रूपमा क्रियाशील भई लागिपर्न आह्वान गरिएको छ । 

Congress urges delegates not to attend special general convention called by general secretaries

Congress urges delegates not to attend special general convention called by general secretaries

कान्तिपुर

Link copied successfully