विशेष महाधिवेशन रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो : विशेष महाधिवेशन पक्षधर

प्रेस विज्ञप्तिमा पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्ने र आयोजनाको स्वामित्व लिने विश्वास पनि गरिएको छ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Special General Convention is not a matter of desire or choice, it is a binding provision of the statute: Special General Convention proponents

काठमाडौँ — विशेष महाधिवेशन पक्षधरहरूले प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ गते भित्रै विशेष महाधिवेशन गर्नुपर्ने र विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई नभएको बताएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो।'

प्रेस विज्ञप्तिमा पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्ने र आयोजनाको स्वामित्व लिने विश्वास पनि गरिएको छ। उनीहरूले विशेष महाधिवेशन सम्पन्न गर्न १८ वटा उपसमितिहरू बनाएर त्यसका संयोजकहरूको विवरण पनि सार्वजनिक गरेका छन्।

कांग्रेस विशेष महाधिवेशन पक्षका नेता देवराज चालिसेले पत्रकार सम्मेलनअघि धेरैमा विशेष महाधिवेशन हुन्छ कि हुँदैन भन्ने द्विविधा रहे पनि आजैदेखि विशेष महाधिवेशन हुने पक्का भएको बताएका छन् ।

चालिसेले भने, ‘विशेष महाधिवेशनभन्दा ठूलो संस्था पार्टीमा छैन । महाधिवेशनको वैधतालाई लिएर चुनौती दिने हैसियत अब कसैको छैन । पार्टीको नेतृत्व गैरजिम्मेवार भयो भन्दैमा हामी त्यस्तो हुँदैनौँ । पार्टीमा सत्ताका लागि कि मूल्य र परिवर्तनका लागि राजनीति भन्ने बहस चलिरहेको छ ।’

उनले समानुपातिकदेखि राष्ट्रिय सभासम्म आफुखुशी पद लिने प्रवृत्ति देखिएको उल्लेख गर्दै भने, ‘खरानीको पनि कारोबार गर्ने प्रवृत्ति पार्टीमा देखियो । त्यसका विरुद्ध हामी छौँ ।’

२९ असोजमा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरबाट विशेष महाधिवेशनको माग गरिएको निवेदन केन्द्रीय कार्यालयमा दर्ता छ । निवेदन दर्ताको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको व्यवस्थाअनुसार समयसीमा २८ पुससम्म छ । त्यस अवधिमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र शर्माले २७–२८ पुसमा काठमाडौंमा विशेष महाधिवेशन बोलाउने निर्णय लिएका हुन् ।

सम्बन्धित समाचार

कांग्रेसमा विशेष महाधिवेशनमा बहुमत पुर्‍याउने र पुग्न नदिने द्वन्द्व


कान्तिपुर

Link copied successfully