कांग्रेस विशेष महाधिवेशन पक्षधरको प्रष्टोक्ति - 'पार्टी कार्यालयमा भएको घटनासँग कुनै संलग्नता छैन'

विशेष महाधिवेशनका सन्दर्भमा आयोजित बैठकपछि जारी गरिएको विज्ञप्तिमा उक्त समूहले घटनालाई महाधिवेशन बदनाम गर्ने उद्देश्यले अतिरञ्जित रूपमा प्रस्तुत गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Congress special general convention supporter's statement - 'No involvement in the incident at the party office'

What you should know

काठमाडौँ — यही पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने पक्षधर समूहले पार्टी कार्यालयमा भएको घटनासँग आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको स्पष्ट गरेको छ ।

विशेष महाधिवेशनका सन्दर्भमा आयोजित बैठकपछि जारी गरिएको विज्ञप्तिमा उक्त समूहले घटनालाई महाधिवेशन बदनाम गर्ने उद्देश्यले अतिरञ्जित रूपमा प्रस्तुत गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

‘पार्टी कार्यालयमा भएको प्रदर्शनमा हाम्रो कुनै पनि किसिमको संलग्नता छैन, घटनाको वास्तविकता सार्वजनिक गर्न निष्पक्ष र विश्वसनीय छानबिन गरिनुपपर्छ,’ विज्ञप्तिमा भनिएको छ । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाँदै गरेका पूर्वउपसभापति विमलेन्द्र निधिलाई गेटबाहिर विशेष महाधिवेशनको पक्षमा रहेका एक हुल कार्यकर्ताले घेरेर नाराबाजी गरेका थिए । केही छिन निधि र कार्यकर्ताका बीचमा चर्काचर्की समेत परेको थियो । 

विशेष महाधिवेशन पक्षधरहरूले कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय स्वीकार्य नभएको बताएका छन् । विधानले विशेष महाधिवेशन बोलाउन बाध्यकारी व्यवस्था गरे पनि केन्द्रीय कार्यसम्पादन समितिको गत शुक्रबारको बैठकले यसको औचित्य नभएको भनेर निर्णय लिएको थियो । साथै, विशेष महाधिवेशन आह्वानका लागि यसअघि पार्टी नेतृत्वसमक्ष बुझाइएका विभिन्न पत्र तथा स्मरणपत्रहरूलाई उनीहरुले पुनः पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

त्यसैगरी, विशेष महाधिवेशनका सन्दर्भमा जिम्मेवार पदमा रहेका केही नेताहरूबाट आएका अतिरञ्जित र गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर खेद प्रकट गरिएको छ । यस्ता अभिव्यक्तिले पार्टीको आन्तरिक लोकतन्त्र र मर्यादामाथि नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘वैधानिक सर्वोच्चता कमजोर पार्ने, महाधिवेशन प्रतिनिधिहरूको मानमर्दन गर्ने तथा उनीहरूलाई अपमानित गर्ने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन, विशेष महाधिवेशन प्रतिनिधिहरूको गरिमा र अधिकारमाथि हस्तक्षेप गर्ने प्रयासको कडा विरोध गर्दछौं ।’

कान्तिपुर

Link copied successfully