नक्सास्थित एक होटलमा डाकिएको छलफलमा केन्द्रीय सदस्य प्रदिप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे लगायत उपस्थित छन्।
काठमाडौँ — विशेष महाधिवेशन बोलाउने मागलाई लिएर संस्थापनपक्ष र महामन्त्रीहरूबीचको द्वन्द्व उत्कर्षमा पुगेको बेला महामन्त्री गगन थापाले बुद्धिजीवी र पार्टी शुभेच्छुकसँग छलफल जारी राखेका छन्।
नक्सास्थित एक होटलमा डाकिएको छलफलमा केन्द्रीय सदस्य प्रदिप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे लगायत उपस्थित छन्।
विशेष महाधिवेशन पक्षधरहरूले आजै पत्रकार सम्मेलन गरेका छन्। त्यस्तै आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्ने कार्यक्रम छ।
सहमतिको लागि मध्यमार्ग खोज्न अनौपचारिक प्रयास भइरहेका बेला संस्थापनपक्षले निर्णय नै गराएर प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन दबाब बढाएको छ। महामन्त्री पक्षधर नेताहरूले ५४ प्रतिशतको संख्या कायम राख्न विशेष प्रचार अभियान जारी राखेका छन्।
२९ असोजमा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरबाट विशेष महाधिवेशनको माग गरिएको निवेदन केन्द्रीय कार्यालयमा दर्ता छ । निवेदन दर्ताको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको व्यवस्थाअनुसार समयसीमा २८ पुससम्म छ । त्यस अवधिमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र शर्माले २७–२८ पुसमा काठमाडौंमा विशेष महाधिवेशन बोलाउने निर्णय लिएका हुन् ।
