नेतृत्व हस्तान्तरण र उमेरहदबारे पोखरेलले ओलीलाई सम्झाइदिए उनकै राजनीतिक दस्तावेज

'उहाँले जबज र पार्टी जीवनको लोकतान्त्रीकरण' भनेर एउटा किताब लेख्नु भेएको छ, त्यसमा किन उमेरहद ? किन २ कार्यकाल उल्लेख छ, त्यसमा भूराजनीतिक भारलगायतका विषयमा गहन कुरा छन् । कमरेडहरूलाई एक पटक पढ्नूस् भन्न चाहन्छु,' पोखरेलले भने ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Pokharel reminds Oli of his political documents regarding leadership transfer and age limit

What you should know

काठमाडौँ — एमाले नेता ईश्वर पोखरेलले पार्टीमा लोकतान्त्रीकरण र नेतृत्व हस्तान्तरणबारे अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पुस्तकको प्रसंगसहित प्रश्न सोधेका छन् । ११औं महाधिवेशनको बन्दसत्रका क्रममा अध्यक्षका प्रत्याशीसमेत रहेका पोखरेलले 'जबज र पार्टी जीवनको लोकतान्त्रीकरण' पुस्तकको प्रसंगसहित ‌ओलीसहित हललाई प्रश्न गरेका हुन् । 

'उहाँले जबज र पार्टी जीवनको लोकतान्त्रीकरण' भनेर एउटा किताब लेख्नु भेएको छ, त्यसमा किन उमेरहद ? किन २ कार्यकाल उल्लेख छ, त्यसमा भूराजनीतिक भारलगायतका विषयमा गहन कुरा छन् । कमरेडहरूलाई एक पटक पढ्नूस् भन्न चाहन्छु,' पोखरेलले भने । 

ओली आफैं कुनै बेला एमालेमा नेतृत्व हस्तान्तरणबारे खरो प्रश्न उठाउँथे । 'आफूबाहेक अरूले पार्टीको नेतृत्व गर्न सक्दैनन् भन्ने मनोवृत्तिले नयाँ नेतृत्वको निर्माण कसरी सम्भव हुन्छ? राष्ट्रले नयाँ नेतृत्व कसरी पाउँछ ?,' ओलीले उक्त पुस्तकमा लेखेका छन् ।

साथै समग्र कम्युनिस्ट आन्दोलनमै एउटै नेतृत्वमा रहिरहने प्रवृत्ति पनि देखिएको उनको भनाइ थियो । उनले नेतृत्व हस्तान्तरणको समस्या पनि पार्टीमा रहेको बताएका थिए । 'कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भीर समस्याका रूपमा देखापरेको छ । पार्टीमा स्वेच्छिक अवकासको व्यवस्था नहुनु, उमेर या कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको आवश्यक प्रबन्ध नहुनु आदि कारणले गर्दा नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहने, पदबाट हट्दा अयोग्य भएको ठहरिने मनोवैज्ञानिक भयबाट त्रसित हुने र पदमा टिकिरहन अनेकौ वाञ्छित अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि वैध अवैध उपायहरू अवलम्बन गर्ने स्थिति देखा परेको छ,' ओलीको भनाइ छ । 

Pokharel reminds Oli of his political documents regarding leadership transfer and age limitपोखरेलले ११औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा पनि जोड दिए । २०७८ मा १०औं महाधिवेशनमा पार्टी एक हुनुमा परिवेश अर्कै रहेको पनि पोखरेलले बताएका छन् । '१०औँ महाधिवेशनमा एउटा बाध्यता थियो, हाम्रो नेकपामा समस्या आयो । त्यसबारे आत्मसमीक्षा हुन पर्थ्यो तर कुनै समीक्षा छैन,' पोखरेलले भने । त्यस्तै उनले पार्टी विधान महाधिवेशनको निष्कर्षमा नरहेको पनि बताए । 'अब हामी ११ औँ महाधिवेशनको हलमा छौं । गत भदौ २२ गते हामी जुन निष्कर्षमा पुगेका थियौँ, त्यो ठाँउमा रहेनछौँ ।  सबै ध्वस्त भयो  बाह्य कारण प्रमुख हो कि आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकारण गर्नै पर्छ । हामीले सबै राम्रै राम्रो गर्यौं ? तर असफल भयौँ, किन ?,' उनको प्रश्न छ । 

पोखरेलले यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेका कतिपय कुराहरू अहिले तोडिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बिहान भृकुटीमण्डपमा केन्द्रीय कमिटी बैठकमा उनले पदाधिकारी संख्या बढाइएकोमा आपत्ति जनाएका थिए । ' के हाम्रा विधानहरू अस्थायी हुन् । जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने तपाईंहरू नै होइन ? वैधानिक विषयअनुसार चलौँ, महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार चलौँ । दाँयाबाँया नगरौँ,' उनले भनेका थिए ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्‍याउने निर्णय गरेको छ। स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको हो। साथै पदाधिकारीमा १ अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना सचिव रहनेछन् । अब एमालेमा वरिष्ठ उपाध्यक्ष पद हुने छैन । यसअघि ईश्वर पोखरेल उक्त पदमा थिए ।

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully