अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी
काठमाडौँ — एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसात गर्दै अगाडि जाने निर्णय गरेको बताए ।
यसअघि एमालेमा अहिले अध्यक्षका प्रत्याशी रहेका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष थिए । त्यस्तै उपाध्यक्षको संख्या ६ बाट घटाएर ५ बनाइएको छ । ७ जना सचिवमा भने २ थपेर ९ पुर्याइएको छ ।
