पहिचानवादी आन्दोलनका थुप्रै अगुवा नेताहरू आफ्नो मूल एजेन्डा पन्छाएर परम्परावादी ठूला दलतिर आकर्षित भइरहेका छन् । कोही नयाँ दलतिर पनि आकर्षित भएका छन् । पहिचानवादी राजनीति उदाउने, संघर्ष बढ्ने र नेताहरू अलग–अलग बाटोतर्फ मोडिने यो चक्र वर्षौंपछि पुनः दोहोरिएको छ ।
What you should know
विराटनगर, ताप्लेजुङ र पाँचथर — २३ र २४ भदौको जेन–जी आन्दोलनले मूलधारका दललाई मात्रै होइन, क्षेत्रीय दलहरूलाई समेत तितरबितर पारिदियो । पहिचानको मूल एजेन्डासहित पूर्वमा सक्रिय दल र तिनका नेतृत्वसमेत यति बेला दल अदलबदलमा सहभागी बन्न थालेका छन् ।
पहिचानवादी आन्दोलनका थुप्रै अगुवा नेताहरू आफ्नो मूल एजेन्डाबाट पन्छाएर परम्परावादी ठूला दलतिर आकर्षित भइरहेका छन् । कोही नयाँ दलतिर पनि आकर्षित भएका छन् । पहिचानवादी राजनीति उदाउने, संघर्ष बढ्ने र नेताहरू अलग–अलग बाटोतर्फ मोडिने यो चक्र वर्षौंपछि पुनः दोहोरिएको छ ।
जातीय पहिचान र स्वायत्तताको मुद्दा उठाउँदै लामो समय संघर्षमा सक्रिय रहेका डकेन्द्रसिं थेगिम भर्खरै नयाँ दलमा समाहित भएका छन् । पहिचानको एजेन्डा मात्रले राजनीति सम्भव नभएको तर्क गर्दै उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल नामको पार्टीमा गएका हुन् ।
उनले पनि पहिचानको मुद्दा नछाडेको दाबी गरेका छन् । ‘पहिचान, समावेशी लोकतन्त्र, समानुपातिकता र बहुसंस्कृतिवाद यी सिद्धान्त जहाँ हुन्छन्, म त्यहीँ हुन्छु,’ थेगिमले भने, ‘उज्यालो पार्टीको विधान र घोषणापत्रमा पनि यही कुरा छ । अब प्रदेशको नामांकन बहुपहिचानका आधारमा हुनुपर्छ ।’
उनी गत वर्ष इलाम-२ को उपनिर्वाचनमा पहिचान पक्षधरको तर्फबाट उम्मेदवार नै बनेका थिए। गोपाल किराती पनि पहिचानवादी धारका कडा स्वर मानिन्थे । एक समय लिम्बुवान–किरात आन्दोलनका सशक्त नेता किराती वैकल्पिक दल, क्रान्तिकारी धार र पहिचानवादी मोर्चाबीच हिँड्दै–परिवर्तन हुँदै आएका छन् । अहिले उनको गतिविधि पुरानो पार्टी व्यवस्थातर्फ पुनः उन्मुख देखिएको छ ।
किराती १५ घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा गएका हुन् । विगतमा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री किरातीले सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभामा पहिचानको मुद्दालाई आफूले नछाडेको उद्घोष गरे । भने, ‘सिंगो नेकपाले अब पहिचानको मुद्दालाई अघि बढाएर लैजानेछ ।’
पहिचानवादी राजनीतिमा वर्षौंदेखि देखिँदै आएको एउटा स्थायी चित्र अहिले पनि ज्युँका त्युँ नै छ । एकपछि अर्को दल फुट्ने, नयाँ दल जन्मिने, एउटा दल छाडेर अर्कामा समाहित हुने उपक्रम वर्षौंदेखि जारी छ ।
साझा एजेन्डा बोकेका नेताहरूबीचको निरन्तर खिचातानी, संगठनात्मक दृष्टिले कमजोर संरचना
स्थानीय एजेन्डालाई राष्ट्रिय राजनीतिको भारी संरचनासँग समायोजन गर्न नसक्नु पहिचानवादीहरू सँगै अघि बढ्न नसक्नुको मूल कारण रहेको विश्लेषकहरूको टिप्पणी छ । राजनीतिक विश्लेषक मोहनसिंह थेबेका अनुसार, पहिचानवादी आन्दोलन अझै आवश्यक र वैध छ तर नेतृत्व र संगठनात्मक आधार कमजोर हुँदा यो धार निरन्तर अस्थिर बन्न पुगेको हो । ‘आन्दोलनका अगुवा नेताहरूले नै अलग–अलग दिशा लिएपछि आन्दोलनले उभ्याएका एजेन्डा पुनः अलपत्र परेको छ,’ थेबेले भने ।
...
कुनै समय पाँचथर जिल्ला लिम्बुवान आन्दोलनको केन्द्र मानिन्थ्यो । २०६२/६३ को जनआन्दोलनपछि अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न माग गर्दै आन्दोलन गर्ने दल तथा दबाब समूहहरू पाँचथरको फेदेन (फिदिम) मा भेला भई रणनीति बनाउने गर्थे ।
२०६४ को संविधानसभा निर्वाचनअघि निकै संगठित रूपमा अघि बढेको संघीय लिम्बुवान राज्य परिषद् पहिलो संविधानसभा निर्वाचनसम्म आइपुग्दा दुई टुक्रा भइसकेको थियो । सञ्जुहाङ पालुङ्वा नेतृत्वमा असन्तुष्टि चुलिएपछि बाहिरिएका कुमार लिङ्देन तथा पछि छुट्टै दबाब समूह ‘लिम्बुवान क्रान्तिकारी’ गठन गरेका मिसेकहाङ थाम्सुहाङ आ–आफ्नै समूहमा सक्रिय रहे पनि उनीहरूको मूल एजेन्डा भने साझा नै थियो, पहिचान ।
२०६४ र २०७० का निर्वाचनमा यी समूहहरू कहिले निर्वाचनमा सहभागी भए त कहिले बहिष्कार गर्न उद्यत भए । ७४ सालको निर्वाचनमा साविक १ नम्बर प्रदेशबाट कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्ले कोशी प्रदेशसभामा समानुपातिकतर्फ एक सिट जित्न सफल भएको थियो । तर, २०७९ सालसम्म आइपुग्दा लिम्बुवानवादी दलहरूले प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेपछि नेता–कार्यकर्ता तितरबितर भए ।
कुनै समय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को जिल्ला अध्यक्ष हुँदै केन्दीय उपाध्यक्ष बनेका पाँचथरका लावाहाङ चेम्जोङ पछिल्लो समय हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीमा सक्रिय छन् । परिषद्का पूर्वसचिव तथा अध्यक्ष कमलराज नेम्वाङ अहिले जनता समाजवादी पार्टीमा लागेका छन् भने लिम्बुवान तथा लोकतान्त्रिक राष्ट्रिय मञ्चमा लामो समय सक्रिय रहेका दिलेन्द्र सुब्बा, कमल हाङसरुम्बासहितका धेरै नेता–कार्यकर्ता पनि अहिले जसपामै छन् । विचार र उद्देश्य एउटै हुँदाहुँदै पनि संगठन निरन्तर फुटिरहेकाले लिम्बुवान राज्य प्राप्ति तत्काल सम्भव नदेखिएको निष्कर्ष निकाल्दै आफूले पार्टी परित्याग गरेको चेम्जोङ बताउँछन् ।
साविक १ नम्बर प्रदेशलाई ‘कोशी प्रदेश’ नामकरण गरेपछि पहिचानवादी मोर्चाका नामबाट आन्दोलन गर्दै आएका नेता–कार्यकर्ता पनि लिम्बुवानसम्बन्धी संगठनहरू छोड्न थालेका छन् । धेरैले समयसँगै राजनीतिक परिवेश बदलिएपछि आफ्नो मूल थातथलो छाड्नुपरेको धारणा राखेका छन् । लिम्बुवान, पहिचानवादी मोर्चा र जसपाका अधिकांश कार्यकर्ता अहिले अन्योलमा छन् ।
पहिचानवादी मोर्चाका संयोजक तथा २०८० को उपनिर्वाचनमा इलाम–२ बाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिम पनि हाल कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालमा प्रवेश गरिसकेका छन् । जसपा तथा लिम्बुवानका विभिन्न घटकमा रहेका कतिपय नेता–कार्यकर्ता कोही कांग्रेस, कोही एमाले, कोही माओवादी तथा कोही नयाँ–नयाँ दल बदल्ने उपक्रम जारी छ ।
पुराना दलका नेता–कार्यकर्ताले भने ठूलो मात्रामा पार्टी परिवर्तन नगरे पनि लिम्बुवान, पहिचानवादी मोर्चा तथा पहिचान पक्षधरहरू झन् तितरबितर हुँदै गएको र नेता–व्यक्तिअनुसार नै नयाँ दल दर्ता भइरहेकाले लिम्बुवान राज्य सुनिश्चितताको आधार अझै तयार नभएको स्वयं नेता नै बताउन थालेका छन् । आफ्नो एजेन्डा स्थापित नहुने देखेपछि धेरै नेता–कार्यकर्ता अस्थिर बनेको पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापनरत पहिचानवादी विचारक डा. मधुराज केरुङ टिप्पणी गर्छन् ।
पाँचथर सदरमुकाम फिदिममा रहेको गेट २०७४ मा निर्माण गरिएको थियो । यो संरचनालाई २०६२/६३ को जनआन्दोलनपछि पहिचान पक्षधर नेता–कार्यकर्ताले ‘लिम्बुवान गेट’ नाम दिएका थिए । २०८० मा सडक विस्तारका क्रममा गेट भत्काइएको थियो भने सोही स्थानमा नयाँ गेट निर्माणका लागि नगरपालिका प्रयासरत छ । यो गेट जस्तै लिम्बुवान आन्दोलन पनि कहिल्यै नउठ्ने गरी थला परेको हो कि !
...
ताप्लेजुङका पहिचानवादी नेताहरू अहिले फरक–फरक राजनीतिक धारमा उभिन थालेका छन् । कोही पुरानै लाइनमा अडिग छन् भने कोही कुलमान घिसिङ र हर्क साम्पाङको दलमा आबद्ध हुन थालेका छन् ।
वैशाख तेस्रो सातामा गठन गरिएको संयुक्त पहिचानवादी मोर्चाका जिल्ला संयोजक प्रदीप मादेन यतिखेर कुलमान घिसिङको ‘उज्यालो नेपाल’ अभियानको चर्चा गर्दै छन् । फुङलिङ आएर हर्क साम्पाङले दिएको मन्तव्यप्रति टिप्पणी गर्दै उनले भने, ‘पहिचानको कुरा नगर्दो रहेछ, छेउ–टुप्पो केही छैन ।’ मुक्कुम्लुङका विषयमा एक शब्द नबोलेको र कुलमान घिसिङप्रति धेरै टिप्पणी मात्र गरेका साम्पाङ पनि पुरानै दलका नेताझैं भएको अर्का पहिचानवादी नेता कुमार साम्युले पनि साम्पाङले बताए । ‘साम्पाङ पहिचानको मुद्दामा कति उभिन्छन् भन्ने हेर्न बाँकी नै छ,’ उनले भने ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले २०८२ मंसिर १० मा विज्ञप्ति जारी गर्दै पार्टी छोडेकाहरूलाई फर्किन आह्वान गरेका थिए । पहिचानसहितको समृद्धि चाहने नेपालीहरू मञ्चमा गोलबद्ध हुनुपर्ने उनको भनाइ छ । ‘मञ्चले पहिलेदेखि नै मुद्दा मिल्ने दलसँग चुनाव तथा आन्दोलनमा सहकार्य गर्दै आएको हो । अहिले पनि देशभरि मञ्चले के रणनीति बनाउँछ भनेर हेरिएको छ,’ लिङ्देनले भने, ‘त्यसैले पहिचानसहितको समृद्धि चाहनेहरू र विभिन्न कारणले मञ्चबाट टाढा रहेका नेता–कार्यकर्तालाई घर फर्कन आह्वान गरिन्छ ।’
जिल्लामा लिङ्देननिकट मुक्साम लाबुङलगायतका नेता सक्रिय छन् । पहिचानसम्बन्धी मुद्दामा कीर्तिमान मादेन, प्रदीप मादेन, कुमार साम्यु, मुक्साम लाबुङ, नवीन पोमु आदिले प्रायः एउटै मोर्चामा उभिँदै आए पनि ‘जेन–जी आन्दोलन’ पछिका अभिव्यक्तिले उनीहरू दलगत रूपमा फेरि छुट्टिन सक्ने संकेत गर्छन् ।
वर्षौंदेखि लिङ्देनको पार्टीमा आबद्ध मुक्साम लाबुङ भने एउटै मुद्दामा निरन्तर संघर्ष गर्ने पक्षमा देखिन्छन् । ‘एउटै आवाजका लागि वर्षौंदेखि लागिरहेको पार्टीमै रहेर मुद्दा सशक्त बनाउनुपर्ने हो । तर, फेरि कतिपय साथीहरू नयाँ समूहहरूतिर लागेको देख्छु,’ उनले भने । किरात याक्थुङ चुम्लुङ र याक्थुङ चुम्लुङ दुवै संगठन जिल्लामा छुट्टाछुट्टै प्रभावमा अगाडि बढिरहेको उनको भनाइ छ ।
पहिचानकै मुद्दा उठाउँदै आएकी इन्दिरा मेन्याङ्बो लिम्बू अहिले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा सक्रिय छन् । पार्टीले उनलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । उनी संघीय लोकतान्त्रिक मञ्चमा लामो समय सक्रिय थिइन् । उनी किरात याक्थुङ चुम्लुङको जिल्ला अध्यक्षसमेत भइसकेकी हुन् ।
जिल्लाका पहिचानवादी अगुवा नेतृत्व अहिले हर्क साम्पाङ र कुलमान घिसिङका नयाँ राजनीतिक प्रयासतर्फ आकर्षित हुने कि पुरानै दलमा टिकिरहने भन्ने दोधारमा छन् । कोशी प्रदेश सांसद तथा जसपा नेतृ निर्मला तावाले भनिन्, ‘जेन–जी विद्रोहपछि सबै दल हल्लिएको अवस्थामा पुनर्गठन, पुनर्निर्माण र नयाँ शक्ति निर्माण आजको आवश्यकता हो । घोषित निर्वाचन सम्पन्न गराएर नेपालका लागि उपयुक्त राजनीतिक, सामाजिक र आर्थिक दिशानिर्देश दिनु सबैको दायित्व हो र यसका लागि हाम्रो पार्टी सक्रिय छ ।’
सम्बन्धित समाचार :
