प्रदेशको नामांकन बहुपहिचानका आधारमा हुनुपर्छ : डकेन्द्रसिंह थेगिम [अन्तर्वार्ता]

हालै उज्यालो नेपाल पार्टीमा आवद्ध भएका डकेन्द्रसिंह थेगिम भन्छन्- संघीयता, लोकतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता, संस्कृति, सामुदायिक समाजवाद र बहुसंस्कृतिवाद यी सबै पहिचानका मुद्दा हुन् । पहिचान भनेको अनिवार्य रूपमा लिम्बुवान नाम राख्नैपर्छ, जनजाति पार्टी नै हुनुपर्छ भन्ने होइन । यो गलत बुझाइ हो ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Provincial nominations should be based on multiple identities: Dakendra Singh Thegim [Interview]

What you should know

डकेन्द्रसिंह थेगिम कोशी प्रदेशका पहिचानवादी आन्दोलनका सक्रिय अगुवामध्ये एक हुन् । २०७९ यता प्रदेश १ लाई पहिचानमा आधारित नामकरण गर्नुपर्ने मागसहित चलेको आन्दोलनको संयुक्त संघर्ष समितिको संयोजक भएर उनले निरन्तर नेतृत्व गरेका छन् ।

इलामको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चा बटुलेका थेगिम पहिचान, समावेशिता, समानुपातिकता र संघीयताका विषयमा स्पष्ट धारणा राख्ने नेता मानिन्छन् ।

हालै उनी कुलमान घिसिङसमेत सम्बद्ध उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य रहँदै पहिचानवादी विचारलाई आधुनिक र समावेशी राजनीतिक संरचनासँग जोड्ने प्रयासमा छन् । उनीसँग कान्तिपुरका पर्वत पोर्तेलले गरेको संक्षिप्त कुराकानी :

अहिले तपाईं उज्यालो नेपाल पार्टीमा आबद्ध हुनुभएको छ, तपाईंले अब पहिचानको मुद्दा छोड्नुभएको हो ?

– होइन, उज्यालो नेपाल पार्टीले नै पहिचानको मुद्दा बोक्ने भएकाले म त्यसमा आबद्ध भएको हुँ । संघीयता, लोकतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता, संस्कृति, सामुदायिक समाजवाद र बहुसंस्कृतिवाद यी सबै पहिचानका मुद्दा हुन् । हाम्रो विधानमा यी कुरा स्पष्ट लेखिएको छ । पहिचान भनेको अनिवार्य रूपमा लिम्बुवान नाम राख्नैपर्छ, जनजाति पार्टी नै हुनुपर्छ भन्ने होइन । यो गलत बुझाइ हो ।

तपाईं संयोजक रहनुभएको ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ मा विभिन्न पहिचानवादी शक्तिहरू छन्, अब तपाईं नयाँ दलमा लागेपछि आन्दोलनको भविष्य के हुन्छ ?

– आन्दोलन जारी नै छ । पहिचानको सवाल कुनै एक पार्टीमा सीमित हुँदैन । जुनसुकै शक्तिले समावेशी, समानुपातिक, बहुसांस्कृतिक, संघीय लोकतान्त्रिक चरित्र बोकेको छ, त्यो नै पहिचानवादी शक्ति हो । उज्यालो पार्टीले यी कुरा बोकेको छ । त्यही भएर म यता लागेको हुँ । अब आन्दोलनको नेतृत्व अरू साथीहरूले लिनु हुन्छ । यो आन्दोलन दलहरूले हैन, संगठनहरूले अघि बढाउनुपर्छ भन्ने मेरो मान्यता छ ।

तर पहिचानवादी वृत्तभित्र धेरैले चाहेका थिए, सबै मोर्चा र दलहरू एउटै पार्टीमा आएर अघि बढ्नुपर्छ भन्ने तर तपाईं भने अर्कै दलमा लाग्नुभयो नि, किन ?

– हामीले धेरै प्रयास गर्‍यौं, पुराना दलहरूलाई नयाँ पार्टी निर्माणमा लागौं भनेर । तर, उहाँहरू मेरो कुरा बुझ्न चाहनु भएन । आफ्नै अडानमा रहनुभयो । जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टीलगायत पुराना संरचना अहिले फेज–आउट भइसके । वर्षौंसम्म केही गर्न सकेनन्, अब पनि सक्दैनन् भन्ने हाम्रो बुझाइ हो । त्यसैले मैले नयाँ पार्टीको आवश्यकता महसुस गरें ।

के अब पहिचानवादी शक्तिहरूबीच सहकार्य सम्भव छ ?

– सहकार्य रहिरहन्छ सधैं । म नयाँ दलमा गएको हो, विचार छाडेको हैन । चुनावमा गठबन्धन वा मोर्चाबन्दीको सम्भावना त छँदै छ नि । किनकि हामो विचार एउटै छ, बहुसांस्कृतिक, समावेशी, समानुपातिक, संघीयता, लोकतन्त्र ।

धरानका मेयर हर्क साम्पाङसँग अहिले तपाईंको सम्बन्ध बिग्रिएजस्तो देखिन्छ, किन ?

– यो राजनीतिक असमझदारी मात्र हो । उहाँसँग सम्बन्ध ठीकै थियो । तर, उहाँका पिछलग्गुहरूले बिगार्ने प्रयत्न गरिरहेका छन् । उहाँले इलामको उपनिर्वाचनमा मेरो पक्षमा भोट माग्न सहयोग गरेकै हो । तर, उहाँले भोट मागिदिनुभयो भनेर पार्टीमै मैले लाग्नुपर्छ भन्ने त भएन नि । मेरो व्यक्तिगत कुरा पनि होला नि । उहाँलेझैं अरू दल र नेताहरूले पनि त्यो बेला सहयोग गर्नुभएको थियो । त्यसको मतलब उहाँहरूको पार्टीमा म जानैपर्छ भन्ने त हैन होला नि ।

अन्त्यमा, तपाईंको पहिचानवादी आन्दोलनप्रतिको प्रतिबद्धता यथावत् छ भन्ने आधार के ?

– म पूर्ण रूपमा प्रतिबद्ध छु । पहिचान, समावेशी लोकतन्त्र, समानुपातिकता र बहुसंस्कृतिवाद यी सिद्धान्त जहाँ हुन्छन्, म त्यहीँ हुन्छु । उज्यालो पार्टीको विधान र घोषणापत्रमा पनि यही कुरा छ । अब प्रदेशको नामांकन बहुपहिचानका आधारमा हुनुपर्छ ।

सम्बन्धित समाचार 

जेन-जी विद्रोहले पहिचानवादी नेतृत्व तितरबितर, संकटमा आन्दोलन

कान्तिपुर संवाददाता

Link copied successfully