अझै पेचिलो बन्दै पहिचानको मुद्दा

माघ ६, २०८१

गंगा बीसी

Even more complicated is the issue of identity

विराटनगर/काठमाडौं — संविधानसभाको पहिलो निर्वाचन २०६४ पछि पूर्वी पहाडमा लिम्बुवान पक्षधरले अनौपचारिक रूपमा ‘राज्य’ नै घोषणा गरेका थिए । सरकारी साइनबोर्डमा लिम्बुवान राज्य, त्यहाँ चल्ने सार्वजनिक यातायातमा लिम्बुवान राज्य लेखिएको थियो । राजमार्गमा लिम्बुवान राज्य लेखिएका स्वागतद्वार खडा गरिए । पाँचथरको फिदिम बजारमा लिम्बुवान राज्य लेखिएको सबभन्दा ठूलो गेट थियो । हाल ती गेट बिस्तारै आझेल पर्दै गएका छन् । यद्यपि पूर्वी नेपालमा पहिचानको राजनीति भने कहिले सुषुप्त त कहिले सशक्त ढंगले चल्दै आएको छ ।

२०६२/६३ को जनआन्दोलनले राजनीतिक व्यवस्थामा ऐतिहासिक परिवर्तन आयो । त्यही परिवर्तनको जगमा अन्तरिम संविधान बनेको थियो । अन्तरिम संविधानमा असहमतिपछि सल्कियो मधेश विद्रोह र कोशी पूर्वमा पहिचानको आन्दोलनको आगो । 

२ माघ २०६३ मा मधेशमा अन्तरिम संविधानको दहनसँगै संघीयताको नारा लिएर आन्दोलन सुरु भयो । त्यो आन्दोलनले मधेशलाई केन्द्रीय राजनीतिक मञ्चमा शक्तिशाली रूपमा उभ्यायो । मधेशमा आगो दन्किनुअघि नै कोशीपूर्वमा पहिचानको अर्को ‘भुसको आगो’ सल्किरहेकै थियो । हाल उक्त आन्दोलन फिलिङ्गोका रूपमा रहेको छ ।

पहिचानवादी आन्दोलनलाई नजिकबाट नियालिरहेका पत्रकार/लेखक भवानी बरालका नजरमा मधेशको आन्दोलन क्षेत्रीय उत्पीडनको उपज थियो । कोशीपूर्वको आन्दोलन करिब अढाई सय वर्ष पुरानो सभ्यताको पहिचान र अधिकारको लडाइँ हो । ‘आदिवासी जनजातिको संघर्ष धेरै पुरानो हो, तर मधेशको आन्दोलन नयाँ प्रकृतिको हो,’ उनी भन्छन् ।

२०६२ मंसिरमा दिल्लीमा भएको माओवादी र सात दलबीचको १२ बुँदे सहमतिको प्रस्तावनामै भनिएको थियो, ‘जातीय, क्षेत्रीय, लैंगिक समस्या समाधानका लागि राज्यको पुनर्संरचना अपरिहार्य छ ।’ जसले पहिचानको आन्दोलनलाई उकेरा लगाउने काम गर्‍यो । ‘त्यसै सहमतिको प्रभावमा कोशीपूर्वमा लिम्बुवान आन्दोलनले नयाँ दिशानिर्देश गरेको थियो,’ विश्लेषक बराल भन्छन् ।

बरालका अनुसार १२ बुँदे सहमतिको सैद्धान्तिक जगमा पहिचान आन्दोलनको नयाँ चरण सुरु भयो । संघीय लिम्बुवान राज्य परिषद्को नेतृत्वमा जातीय राज्य र आत्मनिर्णयको अधिकारजस्ता मुद्दा उठाइएको थियो । 

मधेश र कोशीपूर्वका यी आन्दोलनले नेपालमा संघीयताको बहसलाई अझ प्रखर बनाउँदै मुलुकको राजनीतिक तथा सामाजिक ढाँचालाई नै तरंगित पारेको थियो ।

१२ बुँदे समझदारीपछि उत्प्रेरित कोशीपूर्वको पहिचान आन्दोलन करिब दुई दशकयता जारी छ । विभिन्न उतारचढाव झेल्दै, टुटफुट सहँदै, बेमेल र विमतिका बीच सुरु भएको आन्दोलनको आगो निभेको छैन । 

२०७२ को संविधानले संघीयता स्वीकारेपछि मुलुकको राजनीतिक संरचनामा फेरबदल भयो । २०७४ मा प्रदेशहरूको निर्माण भए पनि प्रदेशहरूको नामाङ्कन र पहिचानको विषयले विवाद सिर्जना गर्यो । खासगरी पूर्वी क्षेत्रमा रहेका पहिचानवादीहरू, जो आफ्नै जातीय र सांस्कृतिक पहिचानलाई मान्यता दिने नाम चाहन्थे, उनीहरू असन्तुष्ट बने । उनीहरूको असन्तुष्टि अद्यापि कायमै छ । Even more complicated is the issue of identity

१ नम्बर प्रदेशलाई २०७९ फागुन १७ मा ‘कोशी’ नामकरण गरिएपछि यसले पहिचान पक्षधरहरूको आक्रोशलाई झनै उचाइमा पुर्‍यायो । प्रदेश सभामा कोशी प्रदेश नाम पारित हुँदा ८२ मत पक्षमा र ४ मत विपक्षमा थियो । तर यो नामले क्षेत्रीय पहिचानलाई उचित सम्बोधन नगरेको भन्दै पहिचानवादीहरू निरन्तर आन्दोलित छन् ।

कोशी नामकरण खारेजीको विरोधमा चैत ८ मा भएको आन्दोलन हिंसात्मक बनेको थियो, जहाँ प्रहरीले दमन गरेपछि धरानका पदमबहादुर लिम्बू (लाजेहाङ) घाइते भए । उनीसँगै अरु पनि दर्जनौं आन्दोलनकारी घाइते बने । तर, लाजेहाङको स्थिति अरु घाइतेको दाँजोमा गम्भीर थियो । अन्ततः उपचारका क्रममा ०७९ चैत १० मा उनको मृत्यु भयो । त्यसपछि आन्दोलन थप तीव्र बन्यो । ‘त्यो घटनाले पहिचानवादीहरूलाई अझै संगठित र सशक्त बनाउन ऊर्जा थपेको छ,’ पहिचानवादी आन्दोलनकी अभियन्ता निरन्ती तुम्बापोले भनिन्, ‘आन्दोलन जारी छ । जबसम्म कोशी नाम खारेज हुँदैन, तबसम्म हामी आन्दोलनको मोर्चा छाड्ने पक्षमा छैनौं ।’ 

गत मंसिर २ मा प्रादेशिक राजधानी विराटनगरमा पहिचान पक्षधर शक्तिहरूले शक्ति प्रदर्शन गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेका थिए । त्यो आन्दोलनको विशिष्ट पक्ष माओवादी केन्द्रको प्रत्यक्ष संलग्नता थियो । त्यो तथ्य चकित पार्ने खालको थियो, किनभने कोशी प्रदेश नामकरण प्रस्ताव पारित गर्ने बेला माओवादी केन्द्रका १३ सांसदहरूले कोशीको पक्षमा मत दिएका थिए ।Even more complicated is the issue of identity

विरोध सभामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल आफैँ प्रमुख वक्ता थिइन् । उनले भनेकी थिइन्, ‘हामी पहिचानका पक्षमा कटिबद्ध छौं, कोशी प्रदेशको विपक्षमा छ हाम्रो पार्टी ।’ उनको यो भनाइले माओवादीको पहिचान र संघीयताप्रतिको द्विविधालाई उजागर गरेको अनुमान गर्न सकिन्छ । 

प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको सभामा विभिन्न दलका नेताहरूले ऐक्यबद्धता जनाए । सभामा राष्ट्रिय मुक्ति क्रान्ति दलका अध्यक्ष राजेन्द्र महतो, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, वैज्ञानिक समाजवादी पार्टीका आहुति, स्वाधीन मधेश जनअभियानका नेताहरूले ‘कोशी’ नाम खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने मागमा समर्थन जनाएका थिए । 

मंसिर ३ मा पहिचानवादी आन्दोलनका पक्षधरहरूले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी चैत १० गतेसम्म प्रदेश सरकारको निर्णय पर्खने घोषणा गरे । आन्दोलनका नेताहरूले प्रदेश सरकारलाई पहिचानका आधारमा प्रदेशको नाम पुनः नामकरण गर्ने निर्णय गर्न आग्रह गर्दै समयसीमा तोकेका छन् । 

नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले भने, ‘हामी चैत १० सम्म पर्ख र हेरको नीतिमा छौं । त्यसपछि प्रदेश सरकारले जस्तो भूमिका खेल्छ, हाम्रो भावी आन्दोलन त्यसैले निर्धारण गर्नेछ ।’ 

चैत १० को समयसीमाले प्रदेश सरकारलाई थप दबाबमा राखेको र सरकारलाई आन्दोलनकारीहरूको माग सम्बोधन गर्न वा वार्तामा प्रवेश गर्न बाध्य पारेको विश्लेषण अधिकारकर्मी मोहनसिंह थेवेले गरेका छन् । लामो समयदेखि पहिचानवादी आन्दोलनलाई नजिकबाट नियालिरहेका थेवेका अनुसार आन्दोलन अहिले पेचिलो अवस्थामा पुगेको छ, जसलाई बेलैमा संवादमार्फत सम्बोधन नगरे भविष्यमा गम्भीर समस्या निम्त्याउने सम्भावना देखिन्छ ।

थेवे विगतमा पहिचानको आन्दोलनलाई व्यक्तिगत वा सानो स्तरको प्रयासका रूपमा लिइन्थ्यो भने अहिले आन्दोलन संगठित र सुदृढ देखिएको बताउँछन् । ‘यो आन्दोलन अहिले नै सफल हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘तर, यो निकै गहिरिएर अघि बढिरहेको छ । एक दिन सफलता पक्कै प्राप्त हुन सक्छ ।’ उनले आन्दोलनलाई गन्तव्यमा पुर्‍याउन आन्दोलित संगठनहरूबीचको एकता नै प्रमुख रहेको बताए । 

हाल जारी आन्दोलनमा मूलतः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीजस्ता मुख्य क्षेत्रीय दलहरूको सक्रियता बढी देखिन्छ । अन्य विभिन्न जातीय संघसंस्थाहरू पनि हातेमालो गरेरै हिँडिरहेका छन् । आन्दोलनकारीहरूबीच एउटा अन्योल भने कायमै छ । त्यो हो यदि कोशी नाम खारेज भइहाले नयाँ नाम के राख्ने ? 

जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाका अनुसार नामको विषयमा आन्तरिक रूपमा लगभग हाम्रो सहमति छ । ‘कोशी नाम खारेज हुनेबित्तिकै साझा नाम आइहाल्छ,’ उनी थप्छन्, ‘कुनै समस्या छैन, नामको विषयमा । सबैको पहिचान खुल्ने गरी साझा नाम तयार छ ।’ 

त्यो क्षेत्रका आदिवासी समुदायले आफ्नो सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेको देखिन्छ । ‘मुन्धुमी ज्ञान र परम्परागत प्रणालीमा आधारित जीवनशैलीले प्रकृतिलाई अतिक्रमणबिना उपयोग गर्ने सोचलाई अघि सार्छ,’ पहिचानवादी नेता निरन्ती तुम्वापोले भनिन्, ‘हाम्रो आन्दोलन त्यही धार्मिक र सांस्कृतिक धरोहरको संरक्षणका लागि हो ।’ 

२०८१ वैशाखमा भएको इलाम–२ को उपनिर्वाचन परिणामले पनि पहिचानवादी राजनीतिलाई जीवित राखेको छ । उक्त निर्वाचनमा पहिचानवादी तेस्रो शक्तिका रूपमा उदाएको छ । प्रदेश–१ लाई कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलित पूर्वका जनजातिहरूका साझा उम्मेदवार पहिचानवादी नेता डकेन्द्रसिं थेगिमले तेस्रो स्थान ल्याएका थिए । 

विगतमा शिक्षक रहेका उनी पछिल्लो समय प्रदेश नम्बर १ पुनः नामांकन संघर्ष समितिका संयोजक पनि थिए । एमाले–कांग्रेसजस्ता मूलधारका राजनीतिक शक्तिबीचबाट एकाएक नयाँ शक्तिको रूपमा उदाएका पहिचान पक्षका स्वतन्त्र उम्मेदवार थेगिम भन्छन्, ‘मैले प्राप्त गरेको मत धेरै अर्थपूर्ण छ ।' 

जनता समाजवादी पार्टीका अध्यक्ष एवं एमालेका पूर्वउपाध्यक्ष अशोक राईले पहिचानवादी मुद्दा कहिल्यै नमर्ने उल्लेख गरे । ‘कुनै नेताले पहिचानको मुद्दा छाड्दैमा त्यो हराउँदैन,’ उनले भने, ‘पहिचानवादी आन्दोलनले कहिले प्रखर र कहिले सुस्त ढंगले अघि बढ्छ । अहिले सुस्ताएको हुन सक्छ ।’ 

पूर्वका पहिचानवादी समूहसँग अनौपचारिक रूपमा छलफल भए पनि पार्टी एकताबारे ठोस प्रक्रिया अघि नबढेको उल्लेख गरे ।

माओवादीको दोहोरो नीति

माओवादी केन्द्रले जातीय, सांस्कृतिक र भौगोलिक पहिचानसहितको मुद्दालाई अघि बढाउँदै आएको थियो । तर पछिल्लो समय उसले यो मुद्दालाई सत्तासँगै सौदाबाजी गर्न थालेको छ । प्रदेश १ लाई २०७९ फागुन १७ मा कोशी प्रदेश बनाउन मतदान गर्नुका पछाडिको मुख्य कारण सत्तामोह नै थियो ।

त्यसबेला कोशी प्रदेश राख्दा एमालेसँग सत्ता सहकार्य भएकाले पहिचानभन्दा सत्तालाई बढी जोड दिएको पहिचानवादीहरूको आरोप छ । एमाले जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्नै नहुने अडानमा थियो । 

कोशी प्रदेश पारित गर्दा कमजोरी भएको माओवादीले स्विकार गरिसकेको छ । माओवादी महासचिव देव गुरुङले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको दाबी गरे । 

‘पहिचान मुद्दामा हाम्रो अडान कायमै छ । कोशी प्रदेश राख्नेबेला लिखित फरक मत राख्ने भन्ने थियो । मौखिक दर्जन मात्र गरियो । त्यस्तोमा लिखित रूपमा फरक मत राख्नुपर्थ्यो,’ उनले पछिल्लो केन्द्रीय समिति बैठकले पनि त्यसलाई स्मरण गरेको बताए, ‘पहिचानको मुद्दा नछोड्ने कुरा भएको छ ।’ 

संविधान मस्यौदालाई अन्तिम रूप दिने बेला माओवादीले पहिचानको मुद्दासहित फरक मत राखेको थियो । माओवादीले २०७२ असारमा संविधान मस्यौदा समितिमा फरक मत राखेको थियो । 

‘संघ, प्रदेश र स्थानीय तहको मूल संरचनाको अतिरिक्त कुनै प्रदेशभित्र एक जाति/सुमदाय वा भाषिक समुदायको बाहुल्य भएको वा सघन उपस्थिति रहेको क्षेत्रलाई स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ,’ माओवादीको फरक मतमा उल्लेख छ । 

पहिचान आन्दोलनको इतिहास

लिम्बुवान क्षेत्रको संघर्ष र चेतनाको कथा नेपालको राजनीतिक इतिहासको एक महत्त्वपूर्ण र विशिष्ट अध्याय मानिन्छ । लिम्बुवानको पहिचान, स्वायत्तता र सांस्कृतिक अधिकारको आन्दोलनले समय–समयमा राष्ट्रिय राजनीतिलाई चुनौती दिँदै आफ्नो प्रभाव कायम राखेको छ ।

वि.सं. १८३१ मा पृथ्वीनारायण शाह र लिम्बुवानका केही गण प्रमुखहरूबीच भएको ‘नुनपानी सहमति’ ले लिम्बुवान क्षेत्रलाई नेपालमा समावेश गर्ने आधार तयार गर्‍यो । यो सहमति लेगुवा (स्थानीय) संरचनाको रक्षा गर्ने प्रतिज्ञासहित गरिएको थियो । तर, सहमति कार्यान्वयनमा देखिएको असफलताले असन्तुष्टि जन्मायो । बुद्धिकर्ण राईजस्ता नेताहरूले यस सहमतिको आलोचना गर्दै गोर्खाकरणको विरोध गरेका थिए । बुद्धिकर्ण राईको हत्यासँगै लिम्बुवानमा प्रतिरोधको स्वर अझै तीव्र बनेको इतिहासकारहरूले उल्लेख गरेका छन् ।

वि.सं. १८६० को दशकमा यङहाङ राजाको नेतृत्वमा भएको संघर्षले लिम्बुवानको विद्रोहको परम्परालाई बलियो बनायो । यसैगरी, गजदल याक्थुङ, शिरीजंगा थेवे र लालसोर सेन्दाङजस्ता नेताहरूले पनि आफ्ना समय–समयका अभियान र क्रान्तिमार्फत लिम्बुवानको पहिचान र अधिकारको आन्दोलनलाई अघि बढाए । 

वि. सं. १८४१ गजदल याक्थुङले स्वतन्त्रताको लागि संघर्ष गरे । १८४५ मा शिरिजंगा थेवेले भाषालिपि र सांस्कृतिक क्रान्ति चलाए । १९७१ मा लालसोर सेन्दाङले सांस्कृतिक पुनर्जागरण अभियान सुरु गरे । यी आन्दोलनहरूले लिम्बुवानको सांस्कृतिक, भाषिक र राजनीतिक चेतनालाई निरन्तर उन्नत बनाउन भूमिका खेल्यो । 

२००७ सालको राजनीतिक परिवर्तनदेखि लिम्बुवान क्षेत्रको आन्दोलनले फरक रूप लिन थाल्यो । पहिचानवादी नेता कुमार लिङ्देनका अनुसार एकीकरणदेखि २००७, २०१७ र २०३६ को जनआन्दोलनसम्म लिम्बुवान क्षेत्रको मुद्दा विभिन्न चरणमा रह्यो ।

२०४६ सालको जनआन्दोलनपछि लिम्बुवान मुक्ति मोर्चा र अन्य संगठनहरूले स्वायत्तताको मागलाई सशक्त बनाएका थिए । २००९ मा अखिल नेपाल लिम्बुवान चुम्लुङ सभाले स्वायत्त शासनको माग गर्‍यो । २०२३ मा कप्तान दिलबहादुर लिम्बु र लालबहादुर लिम्बुले प्रतिरोधलाई निरन्तरता दिए । २०४६ सालमा वीर नेम्वाङको नेतृत्वमा स्वायत्तताको माग पुनः उठाइयो ।

लिङ्देनका अनुसार लिम्बुवानको पहिचान र अधिकारको संघर्ष केवल विगतको इतिहास होइन, यो भविष्यको आत्मनिर्णय र समावेशी अधिकारका लागि प्रेरणाको स्रोत हो । उनी थप्छन्,‘पहिचानको संघर्षले राष्ट्रिय राजनीतिमा विविधता र समावेशिताको विषयलाई प्राथमिकतामा राख्न सहयोग गरेको छ ।’ 

टुटफुटको रोगले ग्रस्त

नेपालको राजनीतिक परिदृश्यमा पहिचानवादी दलहरूको टुटफुटको समस्या गम्भीर चुनौतीका रूपमा रहेको छ । विशेषगरी आदिवासी जनजाति, मधेशी, थारू र अन्य क्षेत्रीय समुदायका दलहरूले एकीकृत रूपमा अघि बढ्न नसक्दा ती समुदायका मुद्दाहरू कमजोर हुँदै गएका छन् ।

२०७१ मा धनकुटाको भेडेटारमा पहिचान पक्षधर पाँच दलको ऐतिहासिक एकता पहिचानवादी आन्दोलनको नयाँ सुरुवात जस्तै देखिएको थियो । कुमार लिङ्देनको नेतृत्वमा संघीय लिम्बुवान पार्टी गठन हुनुका साथै संघीय लिम्बुवान राज्यपरिषद्, लिम्बुवान मुक्ति मोर्चा, संघीय गणतान्त्रिक मोर्चा र अन्य दलहरूको एकीकरणले केही समयका लागि पहिचानवादी आन्दोलनलाई बलियो त बनायो । 

तर, राजनीतिक स्वार्थ, व्यक्तिगत महत्ववाकांक्षा र नेतृत्वको असहमतिको पुरानै रोगका कारण यो एकता लामो समय टिक्न भने सकेन । अहिले भने पहिचानवादी शक्तिहरू पुनः एकतावद्ध भएको देखिन्छ । यो सकारात्मक पाटो हो । तर, कतिबेला उनीहरू फुट्ने हुन् भन्ने पिरलोमा पहिचान पक्षका सर्वसाधारण त्रस्त छन् । 

Even more complicated is the issue of identity

२०७३ सालमा संघीय लिम्बुवान पार्टीले संघीय समाजवादी फोरमसँग एकता गर्‍यो । नयाँ नेतृत्वमा खगेन्द्र माखिमले जिम्मेवारी सम्हाले पनि, आन्तरिक विवाद र व्यक्तिगत स्वार्थका कारण यो एकताले अपेक्षित परिणाम दिन नसकेको आरोप पहिचान पक्षधरहरूको छ । खासगरी बेला बेला पहिचान आन्दोलन कमजोर बन्ने गरेको छ । जसका केही कारणहरू छन् । विश्लेषक थेवेका अनुसार पहिलो कारण नेतृत्वको असहमति हो । सँंगै व्यक्तिगत स्वार्थ पनि देखिन्छ । 

संघीयताको सीमांकन विवादमा नामकरण र अधिकारको स्पष्टताबारे पनि नेतृत्व अलमलमा रहेको पाइन्छ । भित्री गुटबन्दी र बाहिरी दबाब समेत नेताहरूमा देखिन्छ । 

विश्लेषकहरूका अनुसार पहिचानवादी आन्दोलनले दीर्घकालीन सफलता प्राप्त गर्न सशक्त राजनीतिक नेतृत्वको निर्माण जरुरी देखिएको छ । ‘त्यसो भए मात्रै आन्दोलन गन्तव्य पुग्न सक्छ’, थेवे भन्छन्,‘नत्र कहीँ कतै हराएर जान पनि सक्छ ।’ 

जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाका अनुसार पहिचान पक्षधरहरूमा अहिले विगतमा जस्तो टुटफुटको स्थिति छैन । पार्टीलाई संगठित गर्ने कुरामा पहिचान पक्षधधर शक्तिहरू एकीकरण गर्नेबारे पुस १२ मा घोषणा नै गरेका थिए, धरानमा । जसअर्न्तगत नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, पहिचानवादी मोर्चा र पहिचान अभियान समिति पार्टी एक बनाएर संयुक्त पहिचानवादी मोर्चा घोषणाको आन्तरिक गृह कार्यमा लागेको पालुङ्वा बताउँछन् । ‘८२ अघि नै निर्णायक शक्ति बनाउने अभियानमा छौ,’ उनी भन्छन्,‘पहिचानवादी शक्तिहरू टुट्न मात्रै हैन जुट्न पनि तयार छ भन्ने सन्देश पनि दिन खोजेका हौ ।’ 

पहाड चढ्दै मधेशी दल

नेपालको राजनीतिक परिदृश्यमा पछिल्लो समय मधेशी दलहरू धमाधम पहाड उक्लिरहेका छन् । जनता समाजावादी नेपालबाट विभाजन भएर बनेको अशोक राई अध्यक्ष रहेको जनता समाजवादी पार्टीले पूर्वी पहाडलाई केन्द्रित भएर संगठन निर्माण गरेको छ । यही साता राई संगठन विस्तारको क्रममा पूर्वी पहाडी जिल्लामा केन्द्रित भएको बताए । जसपामा पहिले मधेशकेन्द्रित दलका नेताहरू उल्लेख्य संख्यामा छन् । 

उनीहरूको यो यात्रा रोचक र ऐतिहासिक छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहँदै ०८० फागुन ७ मा राजेन्द्र महतोले संघीय लिम्बुवान पार्टीका नेता सञ्जुहाङ पालुङ्वा र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाहरूसँग विर्तामोडमा सहकार्यको हात बढाएका थिए । 

उनले त्यो बेला मधेश र पहाडबीचको ऐतिहासिक दूरीलाई हटाउँदै राजनीतिक सहकार्यको नयाँ सम्भावनाको ढोका खुलेको जनाएका थिए । लोसपा छाडेर राष्ट्रिय मुक्ति क्रान्ति नामक नयाँ दल जन्माएका राजेन्द्र महतोले पहाडका पहिचानवादी शक्तिहरूसँगको सम्बन्ध पुनः कसिलो पार्दै लगेको देखिन्छ । 

पछिल्लो पहिचानको आन्दोलनहरूमा पनि उनी प्रत्यक्ष जोडिएका छन् । मंसिर २ गते विराटनगरमा आयोजित पहिचान पक्षधरहरूको खवरदारी सभामा राजेन्द्र महतो वक्ता बनेर उभिए । 

उनले नेपाललाई एकल राष्ट्रिय राज्यको ढाँचाबाट बहुलराष्ट्रिय राज्यमा रूपान्तरण गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको जिकिर गरे । भने, ‘पृथ्वीनारायण शाहले माटो मिलाए, तर मन मिलाउन सकेनन् । मधेश र पहाडबीचको सहकार्यले नेपाललाई सबै नेपालीको साझा फूलबारी बनाउन योगदान गर्नेछ ।’ 

महतोअघि नै सीके राउतको दल जनमत पार्टी पहाड उक्लिइसकेको थियो । इलाम–२ को उपनिर्वाचनमा जनमतले उम्मेदवार नै खडा गरेको थियो । तर, महतोले जस्तो राउतले आक्रामक रूपमा पहाडसँग सम्बन्ध कस्न भने सकेका छैनन् । 

मधेशी दलहरू पहाडतर्फ उक्लिनुका राजनीतिक विस्तारको खोजी नै मुख्य कारण रहेको विष्लेषकहरू बताउँछन् । ‘मधेशको सीमित भौगोलिक प्रभावबाट बाहिर निस्केर पहाडमा पनि समर्थन बढाउने प्रयास मधेशी दलहरूको देखिन्छ,’ राजनीतिक विष्लेषक चन्द्रकिशोर भन्छन्,‘ पहिचान, आत्मनिर्णय र समानुपातिक प्रतिनिधित्वका साझा मुद्दालाई बलियो बनाउने उद्देश्य पनि हो ।’ 

लिम्बुवान, तम्सालिङजस्ता पहाडका आन्दोलनहरूसँग सहकार्य गर्दै संघीय राज्यको संरचना निर्माण गर्नु, क्षेत्रीय दलको ट्याग हटाई राष्ट्रिय दलका रूपमा उभिनु र पहाडका समुदायहरूमा स्थापित दलहरूप्रति बढ्दो निराशाको लाभ उठाउन खोज्नु मधेशी दलहरू पहाड उक्लिनुका कारणहरू रहेको विश्लेषक चन्द्रकिशोर बताउँछन् । 

तर, पहाडसँग मधेशी दलहरूले विश्वास आर्जन गर्न निक्कै समय लाग्न सक्ने आकलन चन्द्रकिशोरको छ । ‘मधेशी दलहरूको पहाडतर्फको यात्रा केवल राजनीतिक विस्तारको रणनीति मात्र नभई संघीयता, पहिचान र समानताको मुद्दामा पहाड र मधेशबीच सहकार्यको आवश्यकताबोध हो,’ उनी भन्छन् ।

गंगा बीसी

Link copied successfully