यसरी बढ्यो मधेशमा राजनीतिक टकराब

मधेशमा राजनीतिक टकराब बढाएर प्रदेश प्रमुख भण्डारी काठमाडौं पुगेकी छन् भने नवनियुक्त मुख्यमन्त्री यादव बधाई खाँदै र मन्दिर दर्शन गर्दै गृहजिल्ला महोत्तरीमै रोकिएका छन् । 

कार्तिक २४, २०८२

अजित तिवारी

This is how political conflict escalated in Madhesh

What you should know

जनकपुर — गत शनिबार माओवादीका दुई सांसदले विद्रोह गरेपछि विश्वासको मत गुम्ने स्थितिमा पुगेका मुख्यमन्त्री जितेन्द्र सोनलले तनावबीच पदबाट राजीनामा गरे । 

एमाले–कांग्रेसले विश्वासको मतमा मत विभाजन गर्न सभामुख रामचन्द्र मण्डललाई खबरदारी गरिरहेका थिए भने सोनल समर्थित दल र सांसदले छलफलका लागि केही समय थपेर गतिरोध हटाउनुपर्ने भन्दै नाराबाजी गरिरहे ।

प्रदेशसभाको बैठक रोक्न सभामुख मण्डल तयार नभएपछि मुख्यमन्त्री सोनल र दुई बिनाविभागीय मन्त्री जनमत पार्टीका महेश यादव र नेकपा (एस) का कनिष्क पटेल भने बैठकबाट बाहिरिएका थिए । सरकारका कुनै पनि मन्त्री उपस्थित नहुँदा संसद् बैठक स्थगित हुने संवैधानिक परम्परा लोसपाका सांसद उपेन्द्र महतोले सम्झाएपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक रोकेका थिए । 

त्यो समयमा विद्रोहमा उत्रिएका माओवादीका दुई सांसद रहवर अन्सारी र माला कर्णलाई फकाउन सोनललाई समर्थन गरेका दल र नेताहरु प्रयासरत रहे । माओवादीका उपल्ला नेताको फोन आएपछि सांसद कर्ण विश्वासको मत दिन राजी भए पनि अन्सारी भने टसमस भएनन् ।

‘माओवादी सांसद अन्सारीलाई मनाउन म आफैं पनि लागेँ,’ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवं जसपा नेपालका नेता लालबाबु राउतले शनिबार अबेर कान्तिपुरसँग भनेका थिए, ‘तर, उनी टसमस भएनन् । उनको दलकै शीर्ष नेताको फोन आउँदा पनि रिसिभ गरेनन् ।’ 

सोनल समर्थक दल र नेताहरु आन्तरिक छलफलमै रहेका बेला सभामुख मण्डलले भने एमाले–कांग्रेसको सांसद मात्र उपस्थित रहेको अवस्थामा प्रदेशसभाको बैठक अगाडि बढाए र मत विभाजनका लागि बेल बजाइदिए । 

त्यसपछि प्रदेशसभाको बैठक तनावपूर्ण बन्यो । ठूलो संख्यामा मर्यादापालकले रोष्ट्रम घेरेर बसेका थिए । मर्यादापालकलाई धकेलेर सभामुखको आसनसम्म पुग्न केही सांसद संघर्ष गरिरहे । त्यहीबीच संसद् बैठकमा आएर मुख्यमन्त्री सोनलले सभामुख मण्डललाई दलीय व्यवहार गरेको आरोप लगाउँदै पदबाट राजीनामा गरे । 

सोनलले मुख्यमन्त्री पदबाट राजीनामा गरे पनि उनले आफ्नै नेतृत्वमा बहुमत पुर्‍याएर फेरि सरकार बनाउन भने कसरत गरिरहे । उनकै अगुवाइमा भएका छलफलपछि कांग्रेसले एमालेको साथ छोडेर सोनलको पक्षमा आइतबार उभिए । ‘प्रदेशसभामा विश्वासको मत फेस गर्नुअघि नै राजीनामा गरेकाले अर्को सरकारको गठन संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गर्न आग्रहसहित प्रदेश प्रमुखलाई भेटेको थिए,’ सोनलले भने, ‘प्रदेश प्रमुखले कानुनी सल्लाह गर्न एक–दुई दिनको समय माग्नुभयो । केही गडबड हुँदै छ भने संशय त थियो ।’

आइतबार अबेर साँझदेखि जनकपुर चुरोट कारखानाभित्र रहेको प्रदेश प्रमुखको निवासमा कांग्रेससहित ७ दलका समर्थकहरु नाराबाजी गर्दै धर्नामा बसे । एमालेका नेता र कार्यकर्ता पनि पुगेर त्यहाँ प्रदर्शन गरे । जचुकालिभित्रकै सरकारी निवासमा रहेका सोनललाई प्रदेश प्रमुखको सचिवालयबाट सोमबार बिहान ४ बजेतिर फोन आयो, ‘माननीयज्यूको स्वास्थ्यमा खराबी आएकाले उहाँ अहिले नै काठमाडौं जान लाग्नुभएको छ ।’

सोनल छेउमै रहेको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको सरकारी निवासमा पुगे । भण्डारी काठमाडौं हिँड्न तयार भएर बसेकी थिइन् । उनको निवासबाहिर भने सोनल पक्षधरको भर्ना छँदै थियो । सोनल बाहिर निस्केर धर्नामा रहेकालाई हटाउँदै प्रदेश प्रमुखको काफिलालाई अगाडि बढाउन आफै खटिए । पुष्पको गुच्छा दिएर शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरे । 

‘उपचारबाट फर्केपछि नयाँ सरकार गठनको आह्वान गर्ने भनेर काठमाडौं लाग्नुभएको थियो,’ लोसपाका एक प्रदेश सांसदले भने, ‘तर, बर्दिबासको कालापानीस्थित पानस कटेजमा मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव (महोत्तरी) लाई नियुक्त गरेर शपथ खुवाउने तयारी भइसकेको रहेछ । झिसमिसैमा प्रदेश राजधानी जनकपुरबाट उपचारको बहानाले हिँडेकी प्रदेश प्रमुखले संविधान मिचेर मुख्यमन्त्री नियुक्त र शपथ ग्रहण गराएको हेर्दा छक्क पर्‍यौं ।'

प्रदेश प्रमुख भण्डारीका स्वकीय सचिव टीकाराम उप्रेतीले नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउने वातावरण नरहेकाले बाहिर गराउनुपरेको तर्क गरे । ‘निवास र कार्यालयअगाडि धर्ना थियो । प्रदेश प्रमुखज्यूले संवैधानिक सबै पक्ष हेरेर र कानुनी सल्लाह गरेर मात्रै उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।’

उप्रेतीका अनुसार प्रदेश प्रमुखलाई रातिको समयमा दम र रुघाखोकी बढेको र कोलेस्ट्रोल पनि उच्च भएपछि उपचारका लागि काठमाडौं जानुपरेको हो । ‘शपथ ग्रहणमा धेरैबेर समय नलाग्ने भएकाले बाटो पर्ने स्थानमा गराइएको हो,’ उप्रेतीले भने, ‘काठमाडौं पुग्नै लाग्यौ । चिकित्सकको परामर्शमा उहाँको उपचार अगाडि बढ्नेछ ।’

बर्दिबासको पनास कटेजको घटनाक्रमले भने मधेश प्रदेश सरकारको जनकपुरस्थित सचिवालय तनावग्रस्त बनेको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड र मन्त्रालयहरुमा तालाबन्दी गरिएको छ । नवनियुक्त मुख्यमन्त्री यादवलाई सरकारको सचिवालय आउनबाट छेक्न मूलगेटमा गाडी तेर्स्याएर राखिएका छन् । कांग्रेससहितको सात दल प्रदेश प्रमुखको निर्णयलाई चुनौती दिँदै ७४ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिने तयारीमा छ ।

प्रदेश प्रमुख भण्डारीले दलीय पक्षधरता लिएको सात दलको आरोप छ । उनीहरुले भण्डारीको बर्खास्तगीको माग गर्दै सभामुख मण्डललाई पनि महाअभियोग लगाएर हटाउन छलफलमा छन् । मधेशमा तनावसँगै राजनीति टकराब बढाएर प्रदेश प्रमुख भण्डारी काठमाडौं पुगेकी छन् भने नवनियुक्त मुख्यमन्त्री यादव बधाई, मन्दिर दर्शन गर्दै आफ्नो गृहजिल्ला महोत्तरीमै रोकिएका छन् । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully