केन्द्रीय कमिटीमा बोल्ने एक सय ८४ सदस्यमध्ये अधिकांशले गरे प्रतिनिधिसभा पुनःस्थापनाको प्रस्तावमा समर्थन गरेका छन् भने आन्तरिक रूपमा निर्वाचनको तयारी गर्न सुझाव दिएका छन् ।
What you should know
काठमाडौँ — एमालेमा संसद् पुनःस्थापना गर्ने कि निर्वाचनमा जाने भन्ने विषयमा मतभेद देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने प्रस्ताव गरेका छन् । तर केही केन्द्रीय सदस्यले चुनावमा जानुपर्ने मत राखेका छन् ।
बुधबार र बिहीबार बैठकमा बोल्ने एक सय ८४ केन्द्रीय सदस्यमध्ये करिब ८० प्रतिशतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु उचित हुने मत राखे । सरकारले २१ फागुनमा चुनाव गराउनेमा आशंका व्यक्त गर्दै उनीहरूले चुनाव हुने स्थितिमा पार्टी भाग्न नहुने धारणा राखे । प्रतिनिधिसभा पुनःस्थापनाको प्रस्तावमा समर्थन गर्ने नेताहरूले आन्तरिक रूपमा निर्वाचनको तयारीमा लाग्नुपर्ने सुझाव पनि दिए ।
केन्द्रीय सदस्य महेश बर्तौला, यज्ञराज सुनुवारले संसद् पुनःस्थापना गर्नुपर्ने धारणा राखेका थिए । ‘सडक आन्दोलनबाट प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्छ । त्यसपछि सर्वदलीय सरकारमार्फत निर्वाचनमा जानुपर्छ’ एमालेको पूर्वप्रमुख सचेतकसमेत रहेका बर्तौलाको भनाइ थियो । त्यस्तै मोहम्मद हारुन, मोहम्मद समिरले पनि प्रतिनिधिसभा पुनःस्थापना गर्नु उचित हुने बताएका थिए ।
केन्द्रीय सदस्यहरू दीपा शर्मा, युवराज बाँस्कोटा, रामलाल साह, माधव अर्याल, रामचन्द्र खड्का, रचना खड्का, झपट रावल, प्रकाश शाह, नरेन्द्र श्रेष्ठ, सुरेन्द्र मानन्धर, बाबुराम थापा, नवीना लामा, नरकुमारी पुन र ठम्मर बिष्टलगायतले ओली नेतृत्वको सरकारका कारण वर्तमान अवस्था आएको बताएका थिए । उनीहरूले जेन–जी आन्दोलनबाट सरकार विस्थापित भएकाले घोषणा भएको निर्वाचनमा भाग लिने तयारी गर्न सुझाव दिएका थिए ।
आफ्नो सुझावविपरीत अन्तरिम सरकार गठन भएको भन्दै एमाले संसद् पुनःस्थापनाको पक्षमा उभिएको हो । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको उल्लेख गर्दै पुनःस्थापनामा जोड दिएका छन् । यस्तै उनले आगामी मंसिर अन्तिममा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव पनि गरेका छन् ।
केन्द्रीय सदस्य सुभाष देवकोटाले परिस्थिति मूल्यांकनमा कमजोरी भएको अधिकांशको बुझाइ भएको बताए । ‘यही बुझाइलाई संश्लेषण गरी महाधिवेशनमा लोकतान्त्रिक विधिबाट नेतृृत्व चयन गर्नुको अर्को विकल्प छैन,’ उनले भने । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन घोषणा भइसकेको हुनाले अहिले नेतृत्व पुनर्गठन विषय मुख्य एजेन्डा नभएको बताए । उनले निर्वाचन हुने अवस्थामा एमाले चुनावबाट नभाग्ने जनाए ।
बैठकमा नेताहरू पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका छन् । भण्डारीको सदस्यता रोकेको भन्दै नेताहरूले राजनीतिमा आउन रोक्नु गलत भएको बताएका हुन् । केन्द्रीय सदस्यहरू दीपा शर्मा, युवराज बाँस्कोटा, रामलाल साह, माधव अर्याल, रचना खड्का, मञ्जु गुरुङ, नवीना लामा, परशुराम अधिकारीलगायत ३० जनाले सदस्यता ‘पेन्डिङ’ मा राख्न नहुने धारणा राखेका थिए ।
‘पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउँदा पार्टीलाई फाइदा हुन्छ’ उनीहरूको भनाइ थियो, ‘उहाँलाई राजनीतिमा आउन बाटो खुला राख्नुपर्छ ।’ बुधबारको बैठकमा पनि भण्डारीलाई राजनीतिमा आउन दिनुपर्ने माग भएको थियो । २०–२२ भदौको विधान महाधिवेशनअघि भण्डारीको सदस्यता पेन्डिङमा राखिएको थियो ।
बैठकमा पार्टीमा आन्तरिक लोकतन्त्र नभएको, जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट आउनुमा नेतृत्व जिम्मेवार रहेको भन्दैै एमाले अध्यक्ष ओलीको आलोचना भएको छ । यो राजनीतिक अवस्था आउनुमा नेतृत्वले जिम्मेवारी स्वीकार गर्नुपर्ने र नयाँ ढंगले अघि बढ्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो । उनीहरूले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गर्दै फरक विचारलाई सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।
