रेमिट्यान्समा निर्भर अर्थतन्त्रका जोखिम

रेमिट्यान्सलाई कृषि आधुनिकीकरण, साना उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र स्टार्टअपमा लगानी गर्न सकिएको भए नेपालको आजको आर्थिक संरचना फरक हुन सक्थ्यो।

चैत्र ६, २०८२

रोशन आउजी

Risks of an economy dependent on remittances

नेपालको अर्थतन्त्र पछिल्ला दुई दशकदेखि मुख्यतः रेमिट्यान्स अर्थात् वैदेशिक रोजगारबाट प्राप्त आम्दानीमा निर्भर हुँदै आएको छ । सरकारी तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २२–२५ प्रतिशत हिस्सा रेमिट्यान्सबाट आउँछ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालबाट करिब दुई हजार मानिस प्रतिदिन वैदेशिक रोजगारीका लागि विदेशिँदै गएका छन् ।

रेमिट्यान्सले लाखौं परिवारको जीवनस्तर उकासेको छ । अर्कोतिर, यसले दीर्घकालीन आर्थिक संरचनामा गम्भीर प्रश्न पनि उठाइरहेको छ । जस्तै– के यस्तो निर्भरता सुरक्षित र दिगो छ त ? रेमिट्यान्सले तत्कालीन रूपमा राहत र सुविधा त दिएको छ । तर यसले नेपालको आर्थिक संरचनालाई आत्मनिर्भर, उत्पादनमुखी र दिगो बनाउन सकेको छैन । त्यसैले यो निर्भरता कति सुरक्षित र कति समयसम्म टिकाउ हुन्छ भन्ने प्रश्न आज नेपालका लागि सबैभन्दा गम्भीर र रणनीतिक बहसको विषय बनेको छ ।

रेमिट्यान्स : अर्थतन्त्रको मेरुदण्ड

नेपालमा रोजगारीका पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेशिन बाध्य छन् । खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान, युरोप र पछिल्लो समय अस्ट्रेलिया र क्यानडासम्म नेपाली श्रमिक पुगेका छन् । उनीहरूले पठाएको पैसाले गाउँदेखि सहरसम्म उपभोग बढेको छ, गरिबी घटेको छ, घर, शिक्षा, स्वास्थ्य र उपभोग्य सामग्रीमा खर्च बढेको छ । रेमिट्यान्सकै कारण नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो बनेको छ । आयात भुक्तानी, ऋण तिर्ने क्षमता र चालु खाताको घाटा पूर्ति गर्न यसले ठूलो भूमिका खेलेको छ । महामारीको समयमा समेत रेमिट्यान्स अपेक्षाकृत स्थिर रहनुले यसलाई ‘संकटका बेलाको ढाल’ जस्तै बनायो ।

देखिने फाइदा, लुकेका जोखिम

रेमिट्यान्सको चम्किलो पक्षसँगै यसको अँध्यारो पाटो पनि गम्भीर छ । पहिलो जोखिम भनेकै अत्यधिक निर्भरता हो । कुनै पनि बाह्य स्रोतमा अत्यधिक निर्भर अर्थतन्त्र सधैं असुरक्षित हुन्छ । यदि विश्व अर्थतन्त्रमा मन्दी आयो, युद्ध बढ्यो वा खाडी मुलुकहरूले आप्रवासन नीति कडा बनाए भने लाखौं नेपालीको रोजगारी एकै पटक संकटमा पर्न सक्छ । दोस्रो जोखिम उत्पादनमूलक क्षेत्रको उपेक्षा पनि हो ।

रेमिट्यान्सले उपभोग बढाउँछ तर उत्पादन बढाउँदैन । कृषि, उद्योग र प्रविधि क्षेत्रमा लगानी घट्दै गएको छ । धेरै युवाहरू विदेश गएकाले गाउँमा खेत बाँझो रहन थालेका छन् । उद्योगमा दक्ष जनशक्ति अभाव छ । यसरी रेमिट्यान्सले तत्काल राहत त दिन्छ तर दीर्घकालमा आत्मनिर्भरता कमजोर बनाउनुका साथै देश विकासमा ठूलो चुनौती ल्याउँछ ।

श्रम निर्यात कि मस्तिष्क पलायन ?

रेमिट्यान्सलाई ‘श्रम निर्यात’ का रूपमा बुझ्ने गरिन्छ तर वास्तविकतामा यो ‘मानव पुँजीको पलायन’ पनि हो । नेपालमा शिक्षित र सीपयुक्त युवाहरू विदेश जानु विकासका लागि दोहोरो घाटा हो । एकातिर देशले लगानी गरेर तयार पारेको जनशक्ति बाहिरिन्छ र अर्कोतिर यहाँको उत्पादक क्षमता कमजोर हुन्छ । डाक्टर, इन्जिनियर, आईटी विशेषज्ञ, नर्स, प्राविधिकजस्ता दक्ष जनशक्ति विदेशमै स्थायी बसोबास गर्न थालेका छन् । यसले देशभित्र गुणस्तरीय सेवा दिन सक्ने संरचना कमजोर बनाइरहेको छ । यसलाई ‘ब्रेन ड्रेन’ को गम्भीर समस्या मानिन्छ ।

सामाजिक मूल्यमा असर

रेमिट्यान्सले आर्थिक मात्र होइन, सामाजिक संरचनामा पनि प्रभाव पारेको छ । धेरै परिवारमा आमा वा बुबा लामो समय विदेश हुँदा पारिवारिक सम्बन्ध कमजोर बनेका छन् । बालबालिकाको मानसिक स्वास्थ्य, शिक्षा र व्यवहारमा नकारात्मक असर देखिएको छ । समाजमा उपभोगवादी सोच बढ्दै गएको छ साथै घर, गाडी, मोबाइल, ब्रान्डेड जीवनशैलीलाई सफलताको मापदण्ड मान्न थालिएको छ । यसले उत्पादनभन्दा खर्चमुखी संस्कृति विकास गरेको छ । धेरैले व्यवसाय वा उद्यम सुरु गर्नुभन्दा विदेश जानुलाई सुरक्षित विकल्प ठान्छन् । जोखिम लिन चाहने उद्यमी संस्कृति कमजोर हुँदै गएको छ ।

रेमिट्यान्सको सदुपयोग : अवसर कि चुनौती ?

रेमिट्यान्स आफैंमा समस्या होइन, समस्या यसको प्रयोगको ढाँचा हो । नेपालमा आउने रेमिट्यान्सको ठूलो हिस्सा दैनिक उपभोग, घर निर्माण र आयातित सामानमा खर्च हुन्छ । अत्यन्तै थोरै हिस्सा मात्र उत्पादनमूलक क्षेत्रमा लगानी हुन्छ । यदि यही रकम कृषि आधुनिकीकरण, साना उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र स्टार्टअपमा लगानी भएको भए आजको आर्थिक संरचना फरक हुन सक्थ्यो । तर नीति र संस्थागत कमजोरीका कारण रेमिट्यान्सलाई लगानीमा रूपान्तरण गर्ने संयन्त्र कमजोर छन् । बैंकमा बचत त हुन्छ तर दीर्घकालीन औद्योगिक परियोजनामा प्रवाह कम हुन्छ ।

सरकारको भूमिका : नीति छ, कार्यान्वयन छैन

सरकारले पटक–पटक ‘रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने’ नीति घोषणा गरेको छ । विभिन्न योजनाहरू पनि ल्याइएका छन् । जस्तै– वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत ऋण, सीपमूलक तालिम, उद्यमशीलता कार्यक्रम आदि तर व्यवहारमा यी कार्यक्रम कागजमै सीमित छन् । प्रमुख समस्या भनेको नीति निरन्तरता र विश्वासको अभाव हो । व्यवसाय गर्न चाहने युवाले प्रशासनिक झन्झट, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र बजार अस्थिरताका कारण जोखिम लिन चाहँदैनन् । यस्तो समस्याबाट पन्छिन उनीहरू फेरि विदेश नै जान्छन् ।

अन्तर्राष्ट्रिय सन्दर्भ : अन्य देशबाट सिक्न सकिने पाठ

फिलिपिन्स, बंगलादेश, श्रीलंकाजस्ता देशहरू पनि रेमिट्यान्समा निर्भर छन् । तर उनीहरूले यसलाई वित्तीय प्रणालीमार्फत उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्ने प्रयास गरेका छन् । फिलिपिन्सले प्रवासी श्रमिकलाई स्वदेश फर्किएपछि उद्यम गर्न कर छुट र सहुलियत ऋण दिएको छ । बंगलादेशले गार्मेन्ट उद्योगमा लगानी बढाएर श्रम निर्यातसँगै निर्यात उत्पादन पनि बढाएको छ । नेपालले पनि यस्ता मोडेलबाट सिकेर ‘रेमिट्यान्स आधारित विकास’ बाट ‘उत्पादन आधारित विकास’ तर्फ जानुपर्छ ।

दीर्घकालीन सुरक्षा कसरी सम्भव ?

रेमिट्यान्समाथिको निर्भरता घटाउन तीन मुख्य आधार आवश्यक छन् । पहिलो, स्वदेशी रोजगारी सिर्जना गर्नु । जस्तै– कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, निर्माण र साना उद्योगमा ठूलो सम्भावना छ । यी क्षेत्रमा लगानी र नीतिगत स्थायित्व भएमा लाखौं युवालाई देशमै रोक्न सकिन्छ । दोस्रो, सीप विकास गर्नु । जस्तै– विदेश जाने युवालाई पनि अदक्ष श्रमिक होइन, दक्ष र उच्च तलब पाउने श्रमिक बनाउने नीति आवश्यक छ । यसले रेमिट्यान्सको मात्रा मात्र होइन, श्रमिकको जीवनस्तर पनि सुधार गर्छ । तेस्रो, रेमिट्यान्सको लगानीकरणमा परिमार्जन । जस्तै– प्रवासी नेपालीका लागि विशेष लगानी कोष, बन्ड, सहकारी र स्टार्टअप फन्ड स्थापना गरेर उनीहरूको बचतलाई उत्पादनमा लगानी गर्न प्रेरित गर्नुपर्छ ।

निष्कर्ष

रेमिट्यान्सले आज नेपाललाई आर्थिक रूपमा धानिरहेको सत्य हो । किनकि यसले लाखौं परिवारलाई प्रत्यक्ष रूपमा जीवन निर्वाह गर्न सहयोग गरेको छ, गरिबीको दर उल्लेखनीय रूपमा घटाएको छ, विदेशी मुद्रा भित्र्याएर आयात भुक्तानी, ऋण तिर्ने क्षमता र मौद्रिक स्थायित्व कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ र महामारी, प्राकृतिक विपत्ति तथा आर्थिक संकटको समयमा समेत राष्ट्रलाई तत्काल राहत दिने प्रमुख स्रोत बनेको छ तर यति हुँदाहुँदै पनि यो दीर्घकालीन विकासको स्थायी आधार होइन, बरु अत्यधिक निर्भरता आफैंमा गम्भीर जोखिम हो । 

जसले देशको आन्तरिक उत्पादन क्षमतालाई कमजोर बनाइरहेको छ, कृषि र उद्योगजस्ता उत्पादनमूलक क्षेत्रलाई उपेक्षित गरिरहेको छ, शिक्षित तथा सीपयुक्त युवालाई विदेश पलायन हुन प्रेरित गरिरहेको छ र उपभोगमुखी तथा आयात आश्रित अर्थतन्त्र निर्माण गर्दै लगिरहेको छ जसको परिणामस्वरूप नेपाल आत्मनिर्भर बन्नुको साटो झन् बढी बाह्य श्रम बजार र अन्तर्राष्ट्रिय परिस्थितिमा निर्भर बन्दै गएको छ । 

त्यसैले रेमिट्यान्सलाई ‘अन्तिम समाधान’ होइन, ‘अस्थायी सहारा’ का रूपमा बुझ्न जरुरी छ किनकि दीर्घकालीन रूपमा सुरक्षित र सबल अर्थतन्त्र तब मात्र सम्भव हुन्छ, जब स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरिन्छ, उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन दिइन्छ, कृषि, उद्योग, पर्यटन, ऊर्जा र प्रविधि क्षेत्रमा लगानी बढाइन्छ र बाह्य आम्दानीलाई पूरक स्रोतका रूपमा मात्र प्रयोग गरिन्छ न कि मुख्य आधारका रूपमा, अन्यथा आज रेमिट्यान्सले दिएको आर्थिक सुविधा भोलि संरचनागत कमजोरीमा रूपान्तरण भएर राष्ट्रकै आर्थिक असुरक्षाको कारण बन्न सक्छ ।

जेन-जी अभिमत

रोशन आउजीले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully