नयाँ सरकारसँग जेन–जीको अपेक्षा 

यो केवल एउटा चुनावी परिणाम मात्र होइन, नेपाली समाजमा परिवर्तन भएको गहिरो मनोविज्ञान र राजनीतिक संस्कृतिमा आएको परिवर्तनको संकेत हो ।

चैत्र ४, २०८२

ऋषि थापा

Gen Z's expectations from the new government

What you should know

काठमाडौँ — म आफैं २३ र २४ भदौको जेन–जी आन्दोलनमा ‘फ्रन्टलाइन’मा भएको युवा हुँ । जतिबेला एभरेस्ट होटलअगाडि ब्यारिकेड तोडेर जेन–जी आन्दोलनकारी अघि बढे, त्यसबेला म त्यो ब्यानर बोकेर अग्रपंक्तिमा थिएँ ।

पछि संसद् भवनको गेटमा पुगेर समेत मैले पटक–पटक साथीहरूलाई यो शान्तिपूर्ण आन्दोलन हो, प्रहरीलाई ढुंगा नहानौं भनेर सम्झाउने कोसिस गरेको थिएँ । प्रहरीले गोली चलाउन लागेका बेलासमेत उनीहरूलाई हात जोडेर संयमित भइदिन आग्रह गरेको थिएँ । मजस्तै थुप्रै साथीहरूको उद्धारमा खटिएँ, अहिले पनि त्यो दिन सम्झिँदा आङ जिरिङ हुन्छ । 

त्यसबेला हाम्रो पहिलो माग सुशासन र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको फुकुवा गराउनु थियो । तर, अहिले फर्किएर हेर्दा त्यो आन्दोलनले प्रश्न गर्ने शैलीको विकास गरायो । नयाँ पुस्तालाई राजनीतिप्रति सचेत पनि गरायो । अहिले जेन–जीको प्रस्तावमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीकै कदममाथि पनि नयाँ पुस्ताले प्रश्न उठाइरहेको छ । सचिवालय र उनको हरेक काम–कारबाहीमाथि जवाफदेहिता खोजिरहेको छ । जुन पहिले परम्परागत दलमा सम्भव हुन्थेन । 

२१ फागुनको निर्वाचनको एक दिनअगाडि एउटा जापानी टेलिभिजनले मलाई सोधेको थियो, ‘यसपालिको चुनावको नतिजा के हुन्छ ?’ त्यो प्रश्नमा जेन–जी आन्दोलनलाई चुनावले मात्र सम्बोधन गर्न सक्छ ? भन्ने शंका मिसिएको थियो । तर, मैले त्यतिबेला भनेको थिएँ– २३ भदौको आक्रोश भोलि (२१ फागुन) मा पोखिन्छ । अहिले फर्किएर हेर्दा मैले भनेको कुरा सत्य सावित भयो ।

जनतामा आक्रोश वास्तवमै बाँकी थियो । मानिसहरूले त्यो आक्रोशलाई मनभित्र राखेका थिए । धेरैजसो सामान्य नागरिकको मानसिकता के थियो, ‘त्यो ठाउँमा मेरो बच्चा परेको भए के हुन्थ्यो ?’ यो प्रश्नले उनीहरूलाई भित्रैबाट हल्लाएको थियो । त्यसैले चुनावको परिणामले पनि त्यही भावनालाई प्रतिबिम्बित गर्‍यो ।

म आफैं त्यो समयको ‘सर्भाइभर’ हुँ । जब म अरूसँग कुरा गर्छु, उनीहरू एमाले, कांग्रेस वा अरू पार्टीका समर्थक हुन्, तर उनीहरू आफूलाई त्यो हिंसा, त्यो अन्याय मन नपरेको बताउँथे । अहिलेको चुनावी नतिजाले यो परिवर्तन केवल युवामा मात्र होइन, बूढापाका मानिसहरूमा पनि देखाएको छ ।

Gen Z's expectations from the new government

झापामा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहले ठूलो मतान्तरणले जित्नुभयो । एमाले अध्यक्ष अनि त्यसबेला दमन गर्ने सरकारका नेतृत्वकर्तालाई भारी अन्तरले उनकै जिल्लामा बालेन्द्र शाहले जित्नु भनेको यसले हाम्रो राजनीतिक संस्कार कसरी परिवर्तन हुँदै छ भन्ने देखाउँछ । र, त्यो परिवर्तन गराउने काम जेन–जी आन्दोलनले गरेको हो । 

यो केवल एउटा चुनावी परिणाम मात्र होइन, नेपाली समाजमा परिवर्तन भएको गहिरो मनोविज्ञान र राजनीतिक संस्कृतिमा आएको परिवर्तनको संकेत हो । चुनावका बेला म आफैं केही समय झापा बसें, त्यहाँको माहोल नजिकबाट देखें । पहिले कस्तो हुन्थ्यो भने एउटा नेता हुन्थ्यो, उसले जसलाई भोट हाल्न भन्यो, त्यही नै एउटा समूहको दायित्व जस्तो हुन्थ्यो । एउटा व्यक्तिले निर्णय गर्थ्यो, कार्यकर्ताले पालना गर्थे । तर अहिले स्थिति बदलिएको छ । अहिले प्रत्येक नागरिकले आफ्नो विवेक प्रयोग गर्न थालेका छन् । यो परिवर्तन सानो होइन, यो राजनीतिक चेतनाको ठूलो छलाङ हो ।

२१ फागुनमा जनताले आन्दोलनलाई अनुमोदन गरेका हुन् । यो चुनाव पहिलाको जस्तो चुनाव होइन भन्ने कुरा स्थापित भयो । बालेन्द्र सामेल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले झन्डै दुईतिहाइ बहुमत ल्याएको छ । अब प्रश्न आउँछ यो तहको जितपछि के जेन–जी आन्दोलनले मागेको कुरा पूरा हुन्छ ? हामीलाई आशा किन छ भने बालेन्द्रले काठमाडौं महानगरपालिकामा एउटा उदाहरण देखाएका छन् ।

उनले देखाएका छन्, स्थानीय तहको अधिकार कति हुन्छ, एउटा व्यक्तिले चाह्यो भने कति सुधार गर्न सक्छ । सुशासन केवल नारा होइन, व्यवहारमा ल्याउन सकिने कुरा हो । डिजिटल प्रणाली ल्याएर, विभागीय कामलाई व्यवस्थित गरेर, अनुगमन गरेर भ्रष्टाचार घटाउन सकिन्छ भन्ने प्रमाणित गरेका छन् । यही कारणले मानिसहरू भन्छन्, बालेन्द्रले यो मोडल अब देशभरि लागू गर्न सक्छन् । हाम्रो बालेन्द्रसँग अपेक्षा पनि त्यही हो । 

हाम्रो आन्दोलनका मागहरू पनि धेरै जटिल थिएनन् । सुशासन, भ्रष्टाचार अन्त्य, देशमै रोजगारी र अभिव्यक्ति स्वतन्त्रता खोजेका थियौं । त्यो कुरा अब सरकारको नेतृत्व गर्ने बालेन्द्रले सधैं मनमा राख्नुपर्छ ।

हामी जेन–जी पनि सधैं त्यसका लागि उनलाई घच्घच्याइरहनेछौं । जेन–जी आन्दोलनका बेला धेरै नारा लेख्ने काममा म आफैं सरिक थिएँ । मैले कतिपय साथीहरूलाई पठाएको थिएँ, त्यो दिन हामीले व्यक्त गरेका नाराहरूलाई अब बन्ने सरकारले हरेक दिन ख्याल गरोस् । त्यो दिन लागेको नारा केवल शब्द मात्र होइनन्, सिंगो जेन–जीको भावना हो । 

कसैले पनि एउटा कुरा भुल्नु हुँदैन कि, यो आन्दोलन एउटा कुनै दल बनाउनका लागि होइन । यो प्रणाली सुधारका लागि हो । पुराना दलहरूले यदि यो सन्देश बुझेनन् भने उनीहरूको भविष्य छैन । तर यदि उनीहरूले आत्मालोचना गरेर सुधार गरे भने अर्को चुनाव त छँदै छ । जनताले फेरि मौका दिन सक्छन्, तर सर्त एउटै छ– नातावाद, कृपावाद, धनवाद त्याग्नुपर्छ ।

अन्ततः यो चुनावको अर्थ के हो भने जनता बदलिएका छन् । अब उनीहरू आदेश मान्ने होइनन्, विवेक प्रयोग गर्ने भएका छन् । अब उनीहरू नारा होइन, परिणाम खोज्छन् । अब उनीहरू डराएर होइन, सोचेर मतदान गर्छन् । र, भोलिको सरकारलाई समेत आफ्नो दायित्वबाट चुक भए तत्काल प्रश्न उठाउनेछन् र पुरानै शैली पछ्याए अर्को चुनावबाट फेरि सशक्त जवाफ दिनेछन् ।

ऋषि थापा जेन-जी अगुवा हुन् । उनी २३ र २४ भदौको आन्दोलनको अग्रपंक्तिमा थिए ।

Link copied successfully