आधुनिक डिजिटल समाजको प्रवृत्ति

अन्य कुनै देशमा चलेको ट्रेन्ड नेपालमा व्यापक रूपमा चल्न थाल्यो, नेपो बेबी, नेपो किड, नेताहरूको महँगो र आलिसान जीवनशैलीमाथि व्यापक रूपमा टिकटक, फेसबुक, इन्स्टाग्रामबाट पोस्ट हुन थाल्यो । ती प्लाटफर्महरूले राजनीतिक व्यंग्य र आक्रोशयुक्त सामग्रीलाई तीव्र रूपमा प्रसार गरे ।

फाल्गुन २९, २०८२

लक्ष्मी भट्टराई, राहुलकुमार सिंह

Trends in modern digital society

What you should know

सामाजिक सञ्जालले मानिसबीचको सञ्चार, सूचना आदानप्रदान र लोकप्रियता प्राप्त गर्ने तरिकालाई आधुनिकीकरण गरिदिएको छ । यससँगै ‘भाइरल’ हुने प्रवृत्ति पनि चर्चित बनेको छ । ‘भाइरल’ र ‘हाइप’ भन्ने शब्द अब सामाजिक सञ्जाल प्रयोगकर्तामा मात्र सीमित छैन, छलफलका सबै मञ्चमा फैलिएको छ । सामाजिक सञ्जालको तीव्र विस्तार, स्मार्टफोनको सहज उपलब्धता र डिजिटल प्लाटफर्मको प्रभावशाली पहुँचले यसलाई आधुनिक समाजको केन्द्रीय प्रवृत्तिमा रूपान्तरण गरिदिएको छ ।

२३ र २४ भदौमा जेन–जी आन्दोलन भयो । यो आन्दोलनको योजना के र कसरी सुरु भयो भन्ने प्रश्न सबैको मनमा छ तर सामाजिक सञ्जालले नै धेरैलाई उत्साहित गरेको थियो । अन्य कुनै देशमा चलेको ट्रेन्ड नेपालमा व्यापक रूपमा चल्न थाल्यो, नेपो बेबी, नेपो किड, नेताहरूको महँगो र आलिसान जीवनशैलीमाथि व्यापक रूपमा टिकटक, फेसबुक, इन्स्टाग्रामबाट पोस्ट हुन थाल्यो । ती प्लाटफर्महरूले राजनीतिक व्यंग्य र आक्रोशयुक्त सामग्रीलाई तीव्र रूपमा प्रसार गरे । अल्गोरिदमले लोकप्रिय सामग्रीलाई अझ व्यापक बनाउँदै जाँदा असन्तुष्टि सामूहिक भावनामा रूपान्तरण भयो र डिजिटल असन्तोषले सडक आन्दोलनको स्वरूप लिन थाल्यो । सामाजिक सञ्जालबाट सुरु भएको आन्दोलन सडकसम्म पुग्यो ।

अहिलेको समयमा दुर्घटना भयो भने मानिस आफ्नो मोबाइलबाट तस्बिर र भिडियो खिच्छन् । पीडितलाई सहारा दिने कमै हुन्छन् । यस्तो दृश्य केवल व्यक्तिका कमजोरी मात्र होइनन्, हाम्रो डिजिटल संस्कृतिको बदलिँदो अनुहार हो, जहाँ मानवीय संवेदनाभन्दा दृश्य सामग्रीको मूल्य बढी भएको छ । त्यसैले संवेदनशीलताभन्दा लोकप्रियताले मान्यता पाएको छ । मानिसमा ‘पहिले खिच र पछि सोच’ भन्ने मानसिकता विकास हुँदै गएको छ । दुर्घटना, गरिबी, बालश्रम वा अन्य सामाजिक समस्यालाई समाधान गर्नेभन्दा पनि प्रदर्शन गर्ने विषय बनाइदिएको छ । आधुनिक डिजिटल समाजमा भाइरल हुनु उपलब्धि जस्तो ठानिन थालेको छ तर यदि त्यो भाइरलपन मानवता गुमाएर प्राप्त हुन्छ भने त्यो प्रगति होइन, संवेदनहीनताको संकेत हो ।

अहिले डोपामिन संस्कृति बढ्दै गएको छ । सामाजिक सञ्जालले लोकप्रियतामार्फत तुरुन्त सन्तुष्टि दिन्छ । मस्तिष्कमा डोपामिनको सिर्जना गरेर सामाजिक मान्यताका रूपमा विकास गरेको अवस्था छ । ‘मेरो किन यति थोरै लाइक्स, उसको किन बढी ?’ जस्ता प्रश्न मनमा उब्जिन थाल्छ र सुरु हुन्छ डोपामिनको खेल । आफू चर्चित हुन जुनसुकै हदसम्म जान तयार हुन्छन् । केवल केही सेकेन्डको भाइरल चर्चाका लागि लाइक र प्रतिक्रियाको संख्या नै आत्ममूल्यांकनको आधार बन्दै जान्छ । तुलना, असन्तुष्टि र असुरक्षाको भावना बढ्छ, अरूको सफलताको चम्किलो झलकसँग आफ्नो वास्तविक जीवन दाँज्न थालिन्छ । क्रमशः धैर्य घट्दै जान्छ, एकाग्रता कमजोर बन्छ र वास्तविक सम्बन्धहरूभन्दा डिजिटल उपस्थितिलाई प्राथमिकता दिइन्छ । जब अपेक्षाअनुसार प्रतिक्रिया आउँदैन, निराशा, चिन्ता र हीन भावनाले ठाउँ लिन्छ । मानिस वास्तविक उपलब्धि, सीप र चरित्र विकासभन्दा डिजिटल स्वीकृतिको पछि दौडिन थाल्छन् ।

नेपालजस्ता देशका लागि ‘हाइप’ सही दिशामा प्रयोग गर्दा समुदायलाई सशक्त बनाउने र विश्वसँग जोड्ने माध्यम बन्न सक्छ । उदाहरणका लागि, मुस्ताङ, मुगु र कर्णालीका स्थानहरू पहिले पर्यटकको दृष्टिमा खासै चर्चित थिएनन् तर टिकटक, फेसबुक र युट्युबमा त्यहाँका प्राकृतिक दृश्य, सडक यात्रा, स्थानीय जीवनशैलीका भिडियोहरू भाइरल भएपछि ती स्थानहरूमा पर्यटकको चाप अचानक बढ्यो । व्यवसाहीले गाइड वा होमस्टे व्यवसाय सुरु गरेर रोजगारी सिर्जना गरे, जुन सामाजिक मिडियाको ‘हाइप’ ले सम्भव बनाएको वास्तविक विकास हो । विपद् व्यवस्थापनमा सामाजिक मिडियाको भूमिका निर्णायक रहेको छ । २०१५ को भूकम्पपछि राहत आवश्यकताबारे पोस्टहरू भाइरल हुँदा अन्तर्राष्ट्रिय सहयोग छिटो जुट्यो । अहिले पनि हिमाली र पहाडी भेगमा बाढी, पहिरो गएर जनधनको क्षति हुँदा देश–विदेशबाट अनलाइन लेनदेन गरी सहयोग गर्ने र स्वयंसेवक समन्वय सामाजिक मिडियाबाट सम्भव रहेको छ ।

सामाजिक समस्यामा पनि ‘हाइप’ ले ठूलो प्रभाव पारी धेरैलाई समाधानतर्फ धकेलेको छ । केही वर्षअघि नेपालका विभिन्न जिल्लामा विद्यालयभित्र विद्यार्थीमाथि यौन उत्पीडन र यौन दुर्व्यवहार भएका घटना सार्वजनिक भएपछि, पहिले स्थानीयस्तरमा मात्र चर्चा हुने यस्ता घटनाका विषयहरू राष्ट्रियस्तरमै चर्चामा आएर ‘भाइरल’ भई भिडियो, स्टोरी वा पोस्टमार्फत आवाज उठाउन थालिएपछि घटनाले व्यापक ध्यान पायो र सम्बन्धित निकायले छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउन बाध्य भए । यही प्रक्रियाका कारण निर्मला हत्याकाण्ड पनि सम्पूर्ण नेपालमा फैलिएको हो । साथै, ह्यासट्याग ‘रेडटीकाच्यालेन्ज’ ले नेपाली समाजमा सानो तर शक्तिशाली सन्देश फैलायो । अनलाइन चुनौतीमा मानिसहरूले रातो पोसाक र टीका लगाएर फोटो सेयर गरे, जसले विधवा र एकल महिलाहरूमाथि रहेका पुराना कुप्रथा र लैंगिक भेदभावलाई उजागर गर्‍यो । हजारौं युवाहरू, कलाकार र सार्वजनिक हस्तीहरूले समर्थन गर्दै पुरानो रूढिवादितालाई चुनौती दिए र यो अभियान केवल ट्रेन्ड मात्र नभई महिलाहरूको सम्मान र सामाजिक स्विकारोक्तिका लागि वास्तविक प्रयास बनेको छ ।

नेपालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । धेरै उम्मेदवारहरूले फेसबुक र टिकटकलाई मुख्य प्रचार माध्यम बनाएका थिए । राजनीतिक दलहरूले परम्परागत प्रचारशैली पोस्टर, ब्यानर, झन्डा, पम्प्लेट, घरदैलोभन्दा बढी बजेट सामाजिक सञ्जाल विज्ञापनमा खर्च गरे र यसरी प्रचारको केन्द्रविन्दु सडकका ब्यानरबाट मोबाइल स्क्रिनका बाइट्समा सारिएको छ । निर्वाचनबाट पहिलो दल बनेको रास्वपा देशभर चर्चित हुनुको पछाडि यही सामाजिक सञ्जालको ‘हाइप’ ले काम गरेको देख्न सकिन्छ । नेकपाका शीर्ष नेताद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल टिकटक लाइभमा सामेल भएर चुनावका बारेमा जनतासँग प्रत्यक्ष संवाद गरेका थिए । अहिले एउटा क्यूआर स्क्यान गरेर मतदाता, मतदान र उम्मेदवारका बारेमा सजिलै थाहा पाउन सक्छौं । यसले, नेपालमा राजनीति अब डिजिटल युगमा प्रवेश गरिसकेको भनेर देखाउँछ, जहाँ मतदाताको मन जित्ने मुख्य माध्यम सामाजिक सञ्जाल बनेको छ । आफ्नो विचार सबैलाई बताउने माध्यम बनेको छ ।

अन्ततः ‘भाइरल’ हुने ‘हाइप’ आधुनिक डिजिटल समाजको यथार्थ हो । यसलाई नकार्न सकिँदैन । बेवास्ता, अस्वीकार र अन्धाधुन्ध अपनाउन मिल्दैन । यसले चेतना जगाएको छ, अवसर सिर्जना गरेको छ, न्यायको आवाजलाई बलियो बनाएको छ, पर्यटन, उद्यम, संस्कृति र मानवीय सहयोगलाई फैलाएको छ । तर यही ‘हाइप’ ले संवेदनशीलता घटाएको, सतही बहसलाई प्रोत्साहन दिएको, डोपामिनको लत बढाएको र राजनीतिक निर्णयलाई भावनात्मक लहरमा बहकाउने जोखिम पनि देखाएको छ । अबको चुनौती भनेको ‘भाइरल’ भएर ‘हाइप’ मा आउनु होइन, कसरी प्रभावकारी ढंगले यसको सही सदुपयोग गर्न सकिन्छ भन्ने हो । ‘हाइप’ क्षणिक हुन सक्छ तर विचार विनिमय गर्ने, नीति बनाउने र मानवता देखाउने दीर्घकालीन भविष्य निर्माण गर्ने आधार हुन् । डिजिटल साक्षरता, आत्मअनुशासन र उत्तरदायित्वको संस्कार विकास गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गर्नुअघि सत्यता जाँच्ने, भावनामा बहकिनुअघि तथ्य खोज्ने र आलोचना गर्नुअघि समाधान सोच्ने बानी बसाल्नुपर्छ । मिडिया संस्थाले ‘क्लिक’ भन्दा विश्वसनीयतालाई प्राथमिकता दिनुपर्छ, राजनीतिक नेतृत्वले नाराभन्दा नीतिलाई अगाडि सार्नुपर्छ र युवा पुस्ताले प्रसिद्धिभन्दा उद्देश्यलाई महत्त्वपूर्ण मान्न सिक्नुपर्छ ।

जेन-जी अभिमत

लक्ष्मी

राहुलकुमार

Link copied successfully