घोषणापत्रमा कृषि रूपान्तरण एजेन्डा

कृषि क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी, आय तथा रोजगारी सिर्जनायोग्य बनाउन अनि सम्मानित पेसाका रूपमा रूपान्तरण गर्न दलहरूले आफ्ना घोषणापत्रमा खास–खास योजना र विशिष्ट कार्यक्रमको एजेन्डा निर्माण गर्नुपर्छ 

माघ १४, २०८२

गणेशराज जोशी

Agricultural transformation agenda in the manifesto

What you should know

(२१ फागुनको निर्वाचनका लागि उम्मेदवारहरू आफ्नो घोषणापत्र लिएर जनतासमक्ष पुगिरहेका छन् । उनीहरू आफ्नो एजेन्डा सुनाइरहेका छन् । यतिबेला कान्तिपुरले भने जनताको एजेन्डा दल र उम्मेदवारलाई सुनाउनका लागि विशेष शृंखला ‘कान्तिपुर विमर्शः नागरिक घोषणापत्र’ सुरु गर्दैछ । तपाईंहरूले पनि खास क्षेत्रमा केन्द्रित रहेर यस शृंखलाका लागि घोषणापत्र लेख्न सक्नुहुनेछ । तथ्य, तथ्यांक र तर्कयुक्त घोषणापत्रलाई हामी स्थान दिनेछौँ ।)

गणेशराज जोशी

कृषि क्षेत्र बहुसंख्यक नेपालीको जीविकोपार्जन र रोजगारीको आधारशिला मात्रै होइन, समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा योगदान गर्ने महŒवपूर्ण क्षेत्र पनि हो । यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा करिब एकचौथाइ हिस्सा ओगटेको छ । र, कृषिले कृषिजन्य उद्योगका लागि कच्चा पदार्थ पनि उपलब्ध गराउँदै आएको छ । 

संविधानको निर्देशक सिद्धान्तअनुरूप स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने राज्यको उद्देश्य छ । त्यसका लागि अर्थ, उद्योग, वाणिज्य, कृषि, भूमिसुधार, विकास नीति, प्राकृतिक स्रोत साधन संरक्षण–संवद्र्धन र उपयोगसम्बन्धी नीतिलाई कृषि क्षेत्रको विकासमा आत्मसात् गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सकिन्छ ।

दिगो व्यावसायिक खेती प्रवद्र्धनमार्फत खाद्य तथा पोषण सुरक्षा, प्रमुख खाद्यवस्तुमा आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व वृद्धि महत्त्वपूर्ण पक्ष हुन आउँछ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि प्रतिस्पर्धी कृषि प्रणालीको विकास एवं नेपालको भौगोलिक स्थिति, पारिस्थितिकीय प्रणाली, हावापानी र कृषि प्रणालीको उच्चतम सदुपयोग गर्दै जलवायु मैत्री प्रविधि, स्वच्छ खाद्य उत्पादन, प्रशोधन र वितरण पद्धति अवलम्बनमार्फत कृषि क्षेत्रको रूपान्तरण गर्नु आजको खास आवश्यकता हो । 

कृषि क्षेत्रको दिगो तथा कृषक केन्द्रित विकासबाट मात्रै आत्मनिर्भर तथा स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास, औद्योगिकीकरणको आधार, राष्ट्रिय पुँजीको निर्माण, नेपाली जनताको समृद्धिको जग र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला सिर्जना गर्न सकिन्छ । साथै नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको अवलम्बन, संघीय शासन प्रणालीअनुरूपको आवश्यकता सम्बोधनका लागि कृषि क्षेत्रले अवलम्बन गर्नुपर्ने स्पष्ट नीति, रणनीति र कार्यक्रम कार्यान्वयन हुनु आवश्यक छ । 

वर्तमान अवस्था

्पूर्वदेखि पश्चिमसम्म फैलिएका उत्तरदेखि दक्षिणतिरका तीनवटा ठूला कृषि–जलवायु क्षेत्रको अवस्थिति र विशाल जलस्रोतको भण्डारले विभिन्न कृषि, पशु र वनजन्य उत्पादनका लागि तुलनात्मक लाभको अवस्था पनि सिर्जना गरेको छ । कृषि विकासका लागि आवश्यक सिँचाइ, सडक, विद्युत्, बजार, प्रविधि र अन्य उत्पादनोपरान्त पूर्वाधार पुगेका पकेट क्षेत्रहरूमा व्यवसायीकरण र विविधीकरणबाट कृषिको रूपान्तरणको सम्भावना रहँदारहँदै पनि कृषि श्रमिकहरूको चरम अभाव छ ।

जलवायु परिवर्तनको दुष्प्रभाव, सिँचाइ, सडक र बजार जस्ता पूर्वाधारको अपर्याप्त विकास, गुणस्तरयुक्त कृषि सामग्रीको अभाव, माग–आपूर्तिबीचको असामञ्जस्यताले कृषि क्षेत्रको विकास हुन सकेको छैन । समस्यामा आधारित प्रविधिहरूको विकास–विस्तार, सरकारी तथा निजी क्षेत्रको अपर्याप्त लगानी, कमजोर प्रतिस्पर्धात्मक क्षमता जस्ता कारणले यस क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि सम्भावनाको तुलनामा न्यून छ । फलस्वरूपः विगतका केही दशकदेखि कृषि क्षेत्रको यथार्थ वार्षिक वृद्धिदरमा धेरै उतारचढाव आई करिब ३ प्रतिशतको हाराहारीमा मात्र रहने गरेको छ । 

नेपालको कृषि उत्पादन प्रणाली अझै निर्वाहमुखी रहनु र व्यापक व्यवसायीकरण हुन नसक्नुका कारण यसतर्फ शिक्षित युवाको आकर्षण कम भई यो सम्मानित तथा मर्यादित पेसाका रूपमा स्थापित हुन सकेको छैन । त्यसैले ग्रामीण युवाहरूको सहर तथा विदेश पलायनको क्रम बढ्दो छ । फलस्वरूपः देशको करिब एकतिहाइ कृषियोग्य भूमि बाँझो छ । र, उर्वर कृषि जमिन तीव्र रूपमा आवासीय तथा गैरकृषि प्रयोजनमा उपयोग हुँदै गइरहेको छ । जलवायु परिवर्तनको जोखिम कम गर्न कृषिमा अनुसन्धानको खाँचो टड्कारै देखिएको भए पनि जलवायु अनुकूलन तथा न्यूनीकरणसम्बन्धी अनुसन्धान तथा प्रविधि विकास ज्यादै न्यून छ ।

संघ, प्रदेश र स्थानीय तहबीच संविधानको मर्मबमोजिम घनीभूत समन्वय र सहकार्य सँगै कृषि तथा पशुपन्छी विकासका कार्यक्रमको तर्जुमा, कार्यान्वयन र निरन्तर पृष्ठपोषण एवं अनुगमन हुनुपर्ने हो । तर, यी तीनवटै तहबाट आ–आफ्नै तरिका र समानान्तर रूपले कार्यक्रम सञ्चालन हुँदा नीति र कार्यक्रमबीच तादात्म्यता देखिँदैन । त्यसैले कार्यक्रम कार्यान्वयन सम्बन्धमा सूचना र तथ्यांकको समेत अभाव छ । विभिन्न तहबीच यसको आदानप्रदानका लागि स्पष्ट आधार, खाका र कानुनी व्यवस्थासमेतको विकास हुन सकेको छैन । 

ग्रामीण तहमा कृषि क्षेत्रबाट पर्याप्त रोजगारी सिर्जना र आयआर्जनसहित सहज किसिमले जीवनयापनको अवस्था छैन । रोजगारीका वैकल्पिक अवसरहरू हुन नसक्दा ग्रामीण युवाको सहरी क्षेत्र तथा विदेश पलायन बढ्दो छ । यसले श्रमशक्तिको चरम अभाव छ भने कृषिको सम्पूर्ण जिम्मेवारी महिला, वृद्ध र बालबालिकाको काँधमा छ । 

राष्ट्रिय आयमा कृषि क्षेत्रको हिस्सा निरन्तर कम हुँदै गए पनि यस क्षेत्रमा संलग्न जनसंख्या सोहीअनुरूप कम हुन सकेको छैन । यसलाई अवसरका रूपमा लिन सकिन्छ । तर, कृषि उत्पादनका लागि मुख्यतया आकाशे पानीमा भर पर्नु, बजारको सुनिश्चितता हुन नसक्नु तथा सीमित आम्दानी र बचतले यस क्षेत्रमा कृषकको आफ्नै र निजी लगानी आकर्षण हुन सकेको देखिँदैन । कृषि क्षेत्रका यस्ता अनिश्चितताले यसलाई नाफामूलक पेसामा रूपान्तरण गर्न सकेको छैन । उत्पादनका सम्पूर्ण साधनको उत्पादकत्व वृद्धि गर्नु, देशलाई प्रमुख खाद्यवस्तुमा आत्मनिर्भर बनाउनु, कृषिमा लगानी वृद्धि गर्नु र आय तथा रोजगारीका अवसर सिर्जनासहित युवा आकर्षित गराउनु आजको मुख्य चुनौती हो ।

मूलतः पारिवारिक खेतीको बाहुल्यता रहेको निर्वाहमुखी कृषि क्षेत्रमा खाद्यान्न, नगदे, दलहन तथा तरकारी बालीको उत्पादकत्व विगत २० वर्षको तुलनामा करिब ५० प्रतिशतले वृद्धि भएको छ । तर, जनसंख्या र आयमा आएको वृद्धि एवं खाने बानीमा आएको परिवर्तनसँग उत्पादन र उत्पादकत्वको तालमेल मिल्न नसक्दा पछिल्ला केही वर्षमा आधारभूत खाद्यवस्तुको आयातमा वृद्धि हुन गएको छ । साथै भौगोलिक विकटता, पूर्वाधारको कमी, उन्नत प्रविधिको सीमित प्रयोग, भूमिको बढ्दो खण्डीकरण, कृषि श्रमिक तथा जनशक्तिको अभाव, कृषि शिक्षा, अनुसन्धान र प्रसार सेवाको कमजोर अवस्था र जलवायु परिवर्तन कृषि विकासका प्रमुख चुनौतीका रूपमा रहँदै आएका छन् । 

नेपालको कृषि क्षेत्रको विकासका आधारभूत पक्षमाथि दृष्टिगत गर्दा केही प्रश्न सामुन्ने आउँछन्— खेती प्रणालीलाई कसरी व्यवसायमूलक बनाउने ? कृषि भूमि, जलस्रोत तथा पारिस्थितिकीय प्रणालीमा रहेका तुलनात्मक लाभको उपयोग कसरी गर्ने ? यातायात तथा बजार सुविधाको विकास र यिनको लाभप्रद उपयोग कसरी गर्ने ? कृषकहरूको स्रोत र सम्पदाको दिगो विकास र उपयोग कसरी गर्ने ? संघीयताको सन्दर्भमा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न तहबाट कार्यान्वयन हुने कार्यक्रमको अन्तरसम्बन्ध र परिपूरकता कसरी विकास गर्ने ?

जलवायु परिवर्तनबाट परेको नकारात्मक असरलाई सम्बोधन गर्दै कसरी उत्पादन प्रणालीमा उत्थानशीलताको अवस्था सिर्जना गर्ने ? आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी कृषि व्यापार घाटाको अवस्थालाई कसरी सन्तुलनमा ल्याउने ? बाँझो कृषि भूमिलाई कसरी उपयोगमा ल्याउने ? कृषि श्रमिकको अभावलाई कसरी सम्बोधन गर्ने ? कृषि भूमिको गैरकृषि प्रयोजनमा बढ्दो रूपान्तरणलाई कसरी नियन्त्रण गर्ने ? प्रविधि र प्राविधिक सेवामा कृषकहरूको पहुँच कसरी बढाउने ? सबै किसिमका कृषकहरूको उत्पादन सामग्रीमा पहुँचको सुनिश्चितता कसरी गर्ने ? कृषि क्षेत्रका यस्ता सवालमाथि दलहरूले निर्वाचन घोषणापत्रमा सम्बोधन गर्नुपर्ने देखिएको छ । 

घोषणापत्रमा समावेश गर्नुपर्ने विषय :

कृषि क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी, जलवायु उत्थानशील, आय तथा रोजगारी सिर्जना, खाद्य तथा पोषण सुरक्षा र आर्थिक विकासमा योगदान दिने समावेशी एवं सम्मानित पेसाका रूपमा रूपान्तरण गर्ने लक्ष्यका साथ दलहरूले योजना तथा कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । मुख्य नीति र सो लक्ष्य प्राप्तिका लागि अवलम्बन गर्नुपर्ने रणनीतिबारे दलहरूले उल्लेख गर्नुपर्ने केही बुँदाहरू यस प्रकार छन् :

१. कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आधारभूत खाद्यवस्तुहरूमा आत्मनिर्भरता हासिल गर्ने । यसका लागि कृषि क्षेत्रमा सरकारी तथा निजी लगानी वृद्धि गरी प्रविधि विकास तथा विस्तार गर्ने । कृषियोग्य भूमिमा सिँचाइ, सडक तथा विद्युत् सुविधाको विस्तार गर्ने । यस्ता सुविधा भएका क्षेत्रमा उपलब्ध प्रविधिको दिगो रूपमा सघन र व्यापक उपयोग गर्ने । हाल विद्यमान न्यून उत्पादकत्व कम्तीमा छिमेकी मुलुकहरूको बराबर पुर्‍याउने । विभिन्न निकाय र समुदाय तथा सहकारीको सहकार्यमा नीतिगत तथा कानुनी व्यवस्थामार्फत जमिनको चक्लाबन्दी गरी बृहत् उत्पादन प्रणाली विकास गर्ने । कृषि श्रमिक, कृषक, उद्यमी, अनुसन्धान तथा प्रसार कार्यकर्ताको क्षमता वृद्धि गरी कार्यदक्षता अभिवृद्धि गर्ने । 

२. कृषि भूमिको वैज्ञानिक तथा व्यावहारिक व्यवस्थापन गर्ने । र, बाँझो तथा कम उर्वर जग्गाको समुचित उपयोग गर्ने । यसअन्तर्गत राष्ट्रिय भू–उपयोग नीति तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमार्फत कृषि भूमिलाई गैरकृषि प्रयोगमा ल्याउन निरुत्साहित गर्ने । कृषि–व्यवसायीकरणका लागि भूमिको चक्लाबन्दी करार गर्न । सामूहिक वा सहकारी खेती प्रवद्र्धन गर्ने । र, तीनै तहमा एकीकृत भूमि व्यवस्थापन प्रणालीको विकास गर्ने । खाली, बाँझो र पर्ती जग्गामा कृषि–वन प्रणालीलगायत उपयुक्त मोडल विकास गर्ने । सीमान्तकृत जग्गा (जस्तै– नदी उकास र बगर आदि) सम्भावनाका आधारमा उपयुक्त बाली/वस्तु उत्पादनका लागि समूह तथा सहकारीलाई उपलब्ध गराउने । करार सहजीकरण गर्न सम्भावना र आवश्यकताअनुसार स्थानीय तहमा भूमि करार सूचना केन्द्र स्थापना गर्ने । 

३. कृषि क्षेत्रको दिगो उत्पादकत्व वृद्धिका लागि आवश्यकताका आधारमा भरपर्दो सिँचाइ प्रणालीको विकास तथा विस्तार गर्ने । यस सन्दर्भमा वर्षायामको पानीलाई पोखरीमा संकलन गरी सिँचाइका रूपमा प्रयोग गर्नुका साथै पुनर्भरण पोखरी र पानीका मुहान संरक्षण गरी उपयोगमा ल्याउने । हरितगृह ग्यास उत्सर्जन र उत्पादन लागत कम गर्न सिँचाइमा शून्य शक्ति तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिने । विद्यमान सिँचाइ प्रणालीहरूको मर्मत सम्भार तथा विभिन्न क्षमता एवं किसिमका सिँचाइ प्रणालीहरूको विकास तथा विस्तार गरी कृषि भूमिको सिञ्चित क्षेत्रफलमा वृद्धि गर्ने । सिँचाइ प्रणालीहरूको व्यवस्थापनमा प्रभावकारिता ल्याउन कृषक समूह, सहकारी, निजी क्षेत्र, समुदायमा आधारित संघ÷संस्था र प्रदेश एवं स्थानीय तहको सहभागिता सुनिश्चित गर्ने । न्यून आय भएका तथा सीमान्तकृत समुदायको पहुँच अभिवृद्धि गर्न विद्युत् महसुल, पूर्वाधार, मेसिनरी औजार तथा साना सिँचाइहरूमा अनुदानको व्यवस्था गर्ने ।

४. कृषि अनुसन्धान, शिक्षा र प्रसारबीचको सम्बन्धलाई कानुनतः क्रियाशील, सुदृढ र प्रभावकारी गराउने । 

यसका लागि यी निकायबीचको सम्बन्धलाई कानुनी मान्यता प्रदान गरी प्रत्येक निकायको स्पष्ट काम, कर्तव्य र अधिकार निर्धारण गर्ने । एकीकृत कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने । यी तीन संस्थामा क्रियाशील बाली एवं वस्तु विशेषका निकायबीच कार्यमूलक सहकार्य बढाउँदै उत्पादन सामग्रीको प्राविधिक मापदण्ड र प्रोटोकल निर्धारण गर्ने । कृषि प्रविधिको व्यापक प्रचार–प्रसारका लागि इन्टरनेट, एप्स र कृत्रिम बौद्धिकता जस्ता डिजिटल माध्यमको उपयोग गर्ने । प्रत्येक स्थानीय तहलाई भौगोलिक सम्भाव्यता, स्थानीय आवश्यकता, बजारको सुनिश्चितताका आधारमा बृहत् कृषि उत्पादन क्षेत्र विकास गरी कृषि प्रसार सेवा एवं अन्य व्यवसायजन्य सुविधाहरू एकीकृत ढंगबाट प्रवाह गर्ने । जंगली जनावरबाट विभिन्न बाली÷वस्तुको उत्पादनमा क्षति न्यूनीकरण गर्न उपयुक्त वैकल्पिक बाली÷वस्तु तथा विधिको अवलम्बन गर्ने । बीउ, बेर्ना, नश्ल, चल्ला, माछाका भुरा जस्ता कृषि उत्पादन सामग्रीको उपलब्धता र गुणस्तर सुनिश्चित गर्ने ।

५. कृषि उपजको उत्पादनोपरान्त हुने क्षति न्यूनीकरण, बजारीकरण र मूल्य व्यवस्थापन गरी कृषकलाई बचतको सुनिश्चितता हुने व्यवस्था गर्ने । कृषि वस्तुहरूको न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि ऋणको ब्याज दर र कृषि बिमालाई तथ्यपरक र व्यावहारिक बनाउने । कृषि मूल्य सम्बन्धमा विश्लेषण गरी समर्थन मूल्य निर्धारण, कृषि व्यवसाय प्रवद्र्धन, कृषि उत्पादनको खरिद, बजार व्यवस्था र बजार नियमनका लागि संस्थागत संरचनाको सुदृढीकरण गर्ने । प्रमुख बालीहरूबाट उचित बचतको सुनिश्चिततासहित बाली लगाउनुपूर्व न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने । स्थानीय तथा दुरस्थ बजारका अवसर र जोखिम पत्ता लगाई त्यसैअनुरूप उत्पादन प्रणाली निर्देशित गर्न मार्केट इन्टेलिजेन्स प्रणालीलाई सुदृढ गर्ने । कृषि उपजको उत्पादनोपरान्त हुने क्षति कम गर्ने र कृषि सहकारी तथा निजी क्षेत्रमा सञ्चय गर्ने गोदामलगायतका पूर्वाधार निर्माणका लागि सहयोग गर्ने । 

६. कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत प्रतिस्पर्धी कृषि प्रणालीको विकास गरी कृषि व्यापार सन्तुलनमा सुधार ल्याउने । यस सन्दर्भमा सरकारी तथा निजी साझेदारीमा उपयुक्त यान्त्रिकीकरणको विकासलाई प्रोत्साहन गर्ने । कृषि यन्त्रको मापदण्ड विकास, गुणस्तर नियमन, अनुसन्धान तथा उद्यमशीलता विकास गर्ने । ठूला व्यावसायिक कृषि क्षेत्रलाई नीतिगत सहयोग उपलब्ध गराउने अनि उपयुक्त वातावरण सिर्जना र नियमन गर्ने । मध्यमदेखि सानो व्यावसायिक कृषि क्षेत्रको संरक्षण र जीविकोपार्जनसहित कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, नवप्रवर्तनको प्रवद्र्धन तथा कृषक सम्मान जस्ता कार्यक्रमको माध्यमबाट कृषि पेसालाई सम्मानजनक पेसाका रूपमा रूपान्तरण गर्ने । स्थानीय ज्ञान र सीपको सम्मान र स्थानीयस्तरमै आवश्यक कृषि औजार निर्माणका लागि प्रोत्साहन गर्ने । विदेशबाट फर्केका युवालक्षित कृषि उत्पादनका प्याकेज कार्यक्रम तयार पारी कार्यान्वयन र उनीहरूको सीप–ज्ञानको उपयोग गर्ने । कृषि उद्योगलाई आवश्यक पर्ने मागअनुरूपको कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न आवश्यक प्रविधि, वित्त तथा ज्ञान उपलब्ध गराउने । कृषि क्षेत्रमा लगानीको वातावरण सिर्जनाका लागि कर्जा प्रवाह तथा बिमालगायतका वित्तीय सेवाको सुधार गर्ने र करमा सहुलियत दिने । 

७. कृषि व्यापार घाटा न्यूनीकरणका लागि आयात प्रतिस्थापन गर्ने । अन्तर्राष्ट्रिय बजार विश्लेषणका आधारमा नेपालको पहिचान दिनेखालका बाली÷वस्तुको निर्यात प्रवद्र्धन गर्ने । यसका लागि आन्तरिक उत्पादन बढाउन सकिने आयातित खाद्यवस्तुहरूको प्रतिस्थापन गरी क्रमश्ः आत्मनिर्भर हुने कार्ययोजना बनाउने । राष्ट्रिय व्यापार एकीकृत रणनीतिले पहिचान गरेका उच्च मूल्यका कृषि उपजहरूको निकासी प्रवद्र्धन गर्ने । नेपालले निर्धारण गरेको मापदण्ड र प्रक्रिया पूरा गरेका वस्तु मात्रै नेपालभित्र प्रवेश हुने व्यवस्था सुनिश्चित गर्ने । बजारको मागअनुसार कृषिजन्य बाली–वस्तुहरूमा स्वदेशी वस्तुको गुणस्तर प्रमाणित गरी निकासी सहजीकरण गर्ने । भौगोलिक संकेतलाई दृष्टिगत गरी निर्यात सम्भाव्य कृषिजन्य वस्तुको उत्पादन क्षेत्र पहिचानपश्चात् प्रांगारिक उत्पादन प्रवद्र्धनका लागि प्राविधिक सेवा–टेवा र उत्पादनोपरान्त कार्यहरू एकीकृत रूपमा कार्यान्वयन गर्ने । व्यावसायिक उत्पादनका लागि बिमाको दायरा बढाउँदै लैजाने । विदेशमा रहेका नेपाली नियोगहरूको सहकार्य तथा समन्वयमा नेपालको पहिचान दिने कृषि उपजको निजी क्षेत्रको सहभागिता प्रवद्र्धन गर्ने ।

८. देशका उपयुक्त सुरक्षित स्थानमा प्रांगारिक खेतीको प्रवद्र्धन र उत्पादनको प्रमाणीकरण हुने सेवाहरूको विकास गर्ने । यसका लागि बिरुवा तथा पशुपन्छीहरूमा एन्टिबायोटिक, औषधि, विषादी र हर्मोनको प्रयोगलाई नियमन र व्यवस्थित गर्ने । पशुपन्छी, वातावरण र मानव स्वास्थ्यलाई एकअर्काको परिपूरकका रूपमा ग्रहण गर्दै एक स्वास्थ्य रणनीति अवलम्बन गर्ने । प्रांगारिक खेतीका लागि उपयुक्त सुरक्षित क्षेत्र तथा बाली तोकी आवश्यक गुणस्तरीय उत्पादन सामग्रीको उपलब्धता सुनिश्चित गर्ने । स्रोत संरक्षण प्रविधिको अनुसन्धान तथा विकासलाई प्राथमिकता दिने । कृषि उपजहरूको प्रांगारिक खेती र प्रमाणीकरण प्रवद्र्धनको माध्यमबाट आन्तरिक खपत तथा निर्यात प्रवद्र्धन गर्ने । माटोमा प्रांगारिक पदार्थको मात्रामा सुधार ल्याउने । रैथाने बाली, बिरुवा, पशुपन्छी तथा जलचरहरूको सूचीकरण तथा संरक्षण गर्ने । रैथाने खाना, परिकार र संस्कृतिको कृषि पर्यटनमा उपयोग गर्ने । जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने । 

९. कृषि क्षेत्रमा जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका लागि विभिन्न प्रविधि तथा पद्धतिहरूको खोज एवं अनुसन्धान र प्रसार गर्ने । यसका लागि जलवायु परिवर्तनबाट बढी संवेदनशील तथा प्रभावितलाई लक्षित गरी कृषि क्षेत्रमा आधारित अनुकूलन कार्यक्रमहरू सञ्चालन गर्ने । जलवायुमैत्री खेती प्रणालीसँग सम्बन्धित परम्परागत ज्ञान, सीप, अभ्यास एवं नवीनतम प्रविधिको प्रवद्र्धन गर्ने । कृषि क्षेत्रमा प्राकृतिक विपद्बाट हुने जोखिम न्यूनीकरण गर्ने । जलवायु परिवर्तनको प्रभाव र प्रवृत्ति पहिचानका लागि विभिन्न रणनैतिक स्थानहरूमा मौसम मापन केन्द्रहरूको विस्तार गर्ने । जलवायुजन्य प्रकोप तथा विपद्बारे सूचना दिन पूर्वसूचना÷सचेतना प्रणाली स्थापना गर्ने । कृषि क्षेत्रमा अनुकूलन तथा न्यूनीकरणका लागि आवश्यक स्वदेशी र अन्तर्राष्ट्रिय जलवायु वित्तका स्रोतहरूबाट वित्त जुटाउने । 

१०. संघ, प्रदेश र स्थानीय तह तथा सम्बद्ध सरोकारवालाबीचको समन्वय र सहकार्यलाई सुदृढ गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासनमा सुधार ल्याउने । यसका लागि तीनै तहका कृषि सम्बद्ध निकायहरूको समयानुकूल पुनःसंरचना गर्ने । कृषकहरूको वर्गीकरण गरी दिइने सेवा–सुविधा सुनिश्चित गर्न कृषक कल्याणकारी योजना बनाई कार्यान्वयन गर्ने । कृषि अनुसन्धान, शिक्षा र प्रसारमा क्रियाशील बाली–वस्तु विशेषका निकायबीचको सहकार्यलाई कार्यमूलक बनाउन प्रभावकारी समन्वय संयन्त्रको विकास गर्ने । संघ, प्रदेश र स्थानीयस्तरमा प्रयोगशाला, फार्म÷केन्द्र, तालिम केन्द्र, क्वारेन्टाइन व्यवस्थापनको मोडालिटी विकास गर्ने । खाद्य संकट व्यवस्थापनमा तीनै तहबीच सहकार्य र समन्वय गर्ने । कृषि क्षेत्रको कानुनी, संस्थागत र संरचनागत सुधार तथा जनशक्ति विकास गर्ने । सहभागिता, जवाफदेहिता, पारदर्शिता जस्ता सुशासनका आधारभूत पक्षलाई कृषि क्षेत्रको सेवा प्रवाहमा अवलम्बन गर्ने ।

गणेशराज जोशी जोशी अख्तियारका पूर्वआयुक्त तथा नेपाल सरकारका पूर्वसचिव हुन् ।

Link copied successfully