राजनीतिक चेतको सदुपयोग गर्ने समय

दलको सदस्यता लिनु नै राजनीतिक चेत हुनु पनि होइन । तर अहिले नेपालमा राजनीतिक चेत भनेकै प्रत्यक्ष राजनीति गर्नु हो भन्ने लहर चलेको छ ।

माघ १३, २०८२

पुष्पा उपाध्याय

Time to make good use of political awareness

What you should know

काठमाडौँ — लाग्दै छ, करियरको अन्तिम बिन्दु (सत्य) राजनीति हो । आखिर राजनीतिमा के त्यस्तो चुम्बकीय शक्ति छ, जसले मानिसलाई आफ्नो धर्म बिर्साउँछ र अन्ततः राजनीतिमा होमिदिन्छ । कलाकार हतार गरेर राजनीतिमै आइरहेका छन् । मेयरहरू राजीनामा दिएर सांसद बन्न उम्मेदवारी दर्ता गराइरहेका छन् ।

नागरिक सरकारका मन्त्रीहरूले ६ महिने जिम्मेवारी पनि पूरा नगरी राजीनामा दिएर चुनाव लड्दै छन् । यो परिदृश्यलाई जुनसुकै दृष्टिकोणबाट व्याख्या गर्न सकिन्छ तर यो आवश्यकता थियो कि अवसरवाद हो ? भविष्यमा प्रस्ट हुने नै छ ।

राजनीतिक चेत अपरिहार्य छ, यदि निरंकुश शासकबाट शासित हुनु छैन भने । तर राजनीतिक चेत भनेको राजनीतिमै होमिनु मात्रै होइन । दलको सदस्यता लिनु नै राजनीतिक चेत हुनु पनि होइन । तर अहिले नेपालमा राजनीतिक चेत भनेकै प्रत्यक्ष राजनीति गर्नु हो भन्ने लहर चलेको छ । राजनीतिको कखरा बुझ्यो कि उम्मेदवारी दिइहाल्ने, दलको सदस्यता लिइहाल्ने प्रवृत्ति विकास भएको छ ।

शासन व्यवस्था कसरी चल्नुपर्छ, आफूलाई कस्तो जनप्रतिनिधि चाहिएको छ, कस्तो एजेन्डा आफूलाई ठीक लाग्छ, आफ्नो मतबाट अनुमोदित भएर जानेले संसद्मा के बोल्छ, कुन विषय उठाउँछ, ऊ र उसको दल संविधान संशोधनको पक्षमा छ कि विपक्षमा छ, संविधान संशोधनकै पक्षमा छ भने उसले प्रतिनिधित्व गर्ने दलले संविधानको कुन प्रावधान फेर्न खोजेको छ, यी यावत् विषय मनन गर्नु राजनीतिक चेत हो । व्यक्ति मन पर्‍यो भन्दै राजतन्त्रको पक्षधर दलको उम्मेदवार जिताइन्छ भने उसका राजावादी भाषण मतदाताकै अनुमोदित रूप हुन् ।

हाम्रो शासकीय स्वरूप बहुलवादमा आधारित छ । सबै प्रकारका विचार, सिद्धान्त, मान्यता बोकेका दललाई स्वागत गरेको छ । तर एउटा मतदाताले देश कस्तो देख्न चाहन्छ, यो मतदाता स्वयंले जान्ने विषय हो । जुन दलको घोषणापत्र र जुन उम्मेदवारमा उसले आफ्नो विचार, चाहना र आवश्यकता पूर्तिको प्रतिबिम्ब देख्छ, उही दल र उम्मेदवारलाई मत हाल्दा मात्र मतदाताको राजनीतिक चेत प्रस्फुटन हुन्छ ।

कसैलाई लाग्छ, संघीयता नेपाललाई आवश्यक छ र तीन तहकै सरकार हुनुपर्छ । त्यतिबेला प्रदेश हुनुहुन्न भन्ने उम्मेदवारलाई जिताउँदा भोलि उसकै चित्त दुख्न सक्छ । किनकि भोलि त्यस्तो सांसदको व्यवहार संसद्मा प्रदेशप्रति नकारात्मक नै देखिन सक्छ ।

राजनीतिक चेत हुनु भीडको पछि लाग्नु होइन, उम्मेदवार र उसको दलको मिसन, भिजन र नियत बुझ्नु हो । मतदाताको विचार, चाहना र आवश्यकतासँग कसको एजेन्डा मिल्छ, उसैलाई प्रतिनिधि बनाउनु वास्तवमा नागरिक चेतना हो । किनकि दलको एजेन्डा सार्वजनिक नीतिको पहिलो खुड्किलो हो । मतदाताले त्यही पाउँछ, जसलाई वैधानिकता दिन्छन् ।

यसो भनिरहँदा राजनीति गर्नु, दल खोल्नु गलत हो भन्ने आशय व्यक्त गर्न खोजिएको होइन । सबैले प्रत्यक्ष राजनीति गर्दैमा देश रातारात विकसित हुन्छ भन्नु पनि भ्रम हो । सबैले राजनीति गर्ने हो भने राजनीतिभन्दा बाहिर बसेर कसले खबरदारी गर्ने ? देशले प्रगति नगरेको राजनीति गर्ने मान्छे नभएर होइन । देशमा गलत राजनीतिक संस्कारको तटस्थतापूर्वक खबरदारी गर्ने, निष्पक्ष रूपमा सल्लाह दिने राजनीतिक चेत भएका विज्ञको कमी भएर हो ।

किनकि जसमा राजनीतिक चेत छ, उनीहरू कतै न कतै कुनै न कुनै दल, विचारधाराको बन्धनमा परे । पेसागत आचारसंहिताभन्दा माथि पार्टीको विधान राखे । हुन त मानवलाई जन्मजात राजनीतिक प्राणी पनि भनिन्छ तर कुनै कर्म र पेसामा आबद्ध व्यक्ति सर्वप्रथम आफ्नो पेसाप्रति प्रतिबद्ध र राजनीतिक रूपमा तटस्थ बस्न सकेन भने उसले प्रवाह गर्ने वस्तु तथा सेवामा विभेद हुन सक्छ ।

राजनीतिक चेत भएको नागरिकले सबैको विचार तथा सिद्धान्तको सम्मान गर्न जान्दछ । आफ्नो नेता र दलको गल्ती ढाकेर अरूको राम्रो कामको विरोध मात्रै गर्नु चेतना होइन । मानिस जति नै बौद्धिक किन नहोस्, यदि उसको सेवा र काममा राजनीतिक गन्ध आउँछ, पक्षपात गर्छ भने ऊ शिक्षित होला तर ऊ चेतनशील होइन ।

अहिले सामाजिक सञ्जालको प्रभाव बढी छ । तर सामाजिक सञ्जाल कसको नियन्त्रणमा छ ? हामीलाई लाग्छ, हाम्रै नियन्त्रणमा हुन्छ । तर, होइन । सामाजिक सञ्जालको ‘आईडी’ र ‘पासवर्ड’ मात्र हाम्रो नियन्त्रणमा हुने हो । तर, ‘फिड’मा आउने सामग्रीमा हाम्रो नियन्त्रण छैन । हामीले ‘फलो’ गरेका पेजहरूले हामीलाई बारम्बार दिइरहेका सन्देश पनि हाम्रो नियन्त्रणमा छैन । तसर्थ समय फेरिएको छ, नयाँ दल थपिएका छन्, मतदाताको दृष्टिकोण बदलिएको छ, प्रचारको तरिका फेरिएको छ । अनि, मतदातालाई आफ्नो पक्षमा पार्ने तरिका पनि बदलिएको छ ।

जनता झनै चनाखो बन्ने बेला आएको छ । प्रायः आ–आफ्नो विधामा दक्ष उम्मेदवार उठेका छन् । नयाँ दलमा त झन् लोकप्रिय अनुहारकै हालिमुहाली छ । कोही मनोरञ्जन क्षेत्रमा चर्चित, कोही अभियानबाट लोकप्रिय । यसले संसद्लाई विविधता र विज्ञतायुक्त बनाउँछ नै, तर राजनीति ‘भिजन भर्सेस पपुलारिटी’ हुँदै त छैन भन्ने डर पनि उत्तिकै छ । नेतृत्व गर्न स्पष्ट ‘भिजन’ चाहिन्छ भनेर यतिका वर्ष ‘भिजन’ सहितको उम्मेदवार कुरेकालाई ‘पपुलर’ अनुहारले ‘भिजन’ प्रस्ट पार्नै पर्छ । यतिका वर्ष नितान्त राजनीति गरेकाहरूलाई अपनाइएकै हो, अब भिजन नभए पनि पपुलर अनुहारलाई पनि अपनाएर हेरौं भन्नु अर्को मूर्खता हो ।

जनताको राजनीतिक चेत र चेतनाको प्रतिबिम्बित हुने दिन हो, २१ फागुन । आफ्नो क्षेत्रमा कसको घोषणापत्र बढी प्रभावकारी छ, कसको विगत कस्तो छ, कसले त्यो ठाउँको समस्या समाधान गर्न सक्छ उसैलाई विश्वास गर्नु अबको आवश्यकता हो । केवल एउटा अनुहार हेरेर सो दलको सबै उम्मेदवार अब्बल भन्नु अनुहारको दास हुनु हो ।

राष्ट्रिय नीतिहरू शासकीय स्वरूप, सरकार निर्माण प्रक्रिया, आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध आदि विषयमा उम्मेदवारको भिजन के छ भनेर जान्न घरदैलो, आमसभामा प्रश्न गर्नुपर्छ । त्यो नागरिकको राजनीतिक चेत र कर्तव्य नै हो । प्रश्नबाट छुट नयाँ पुरानो कसैलाई हुँदैन । 

तर, नेपाली समाज अहिले नायक सिनेमाको जस्तो राजनीतिक नायक खोज्दै छ । त्यो वास्तविकतामा कत्तिको सुहाउँदो छ, त्यो मनन गर्ने क्षमता जनतामा हुनैपर्छ । त्यसैले राजनीतिक चेत भएका मतदाता बढी देशलाई आवश्यक छ, राजनीतिक दललाई भन्दा ।

जेन-जी अभिमत

पुष्पा

Link copied successfully