‘गलत सूचना’ र ‘भ्रामक सामग्री’ को बाढी

झूटो सामग्री फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको बौद्धिकस्तरको उत्तिकै भूमिका हुन्छ ।

मंसिर २, २०८२

दीपक अधिकारी

A flood of 'misinformation' and 'misleading content'

What you should know

गत साता मोरङ जिल्लामा कार्यरत र त्यहाँ घर भएका केही पत्रकारले मलाई एउटा तस्बिर सेयर गरे । साँझको बेला लिइएजस्तो लाग्ने तस्बिरमा पक्की सडकको किनारमा करिब ६ वटा जनावर देखिन्छन् ।

ग्रामीण तराईको जस्तो देखिने सडकमा टाढा बत्तीको मधुरो प्रकाश छाएको छ । तर, ती जनावरमाथि बत्तीको नभई, अन्य कुनै स्रोतबाट (क्यामराको फ्ल्यास ?) आएको प्रकाश परेको देखिन्छ ।

मैले यो तस्बिर पाउँदा अनलाइनहरूमा यसबारे समाचार प्रकाशित भइसकेको थियो । ती समाचारहरूका अनुसार, मोरङ जिल्लाको रंगेली नगरपालिका–६ को एक टोलमा हुँडार (अंग्रेजीमा हाइना भनिने लोपोन्मुख मांसाहारी वन्यजन्तु) देखिएको भन्दै स्थानीय त्रसित भएका थिए । यसबारे जिल्ला वन कार्यालयलाई समेत खबर गरिएपछि उद्धार टोली पठाउँदा ती जनावर फेला नपरेको समाचारमा उल्लेख थियो । ती जनावर भारतबाट आएको हुन सक्ने र पश्चिम नेपालमा मात्रै हुँडार देखिने विवरणहरू समाचारमा थिए ।

सम्बन्धित समाचार

तर, ती समाचारहरूमा त्यो फोटो कसले खिचेको हो भन्ने जानकारी थिएन । पछि त्यो ‘एआई निर्मित फोटो हो’ भनेर मैले समाचार पढेपछि त्यसलाई एआई निर्मित हो कि होइन भनी पत्ता लगाउने ‘हाइभ मोडरेसन’ नामक वेबसाइटमा अपलोड गरें । सो वेबसाइटले ‘नट लाइक्ली टु कन्टेन एआई जेनेरेटेड कन्टेन्ट’ भन्ने जवाफ दियो ।

मैले यो प्रसंग यहाँ कोट्याउनुको कारण छ । अहिलेको सञ्चारको युगमा के सही र के गलत भन्ने छुट्याउन मुस्किल हुँदै गएको छ । खासगरी आन्दोलन, प्राकृतिक विपद् वा हवाई दुर्घटनाजस्ता ठूला घटनालगत्तै फैलिने गलत र भ्रामक सूचनाका कारण वास्तविकता पत्ता लगाउने काम जटिल र दुरुह भएको छ । सत्य–तथ्यभन्दा पनि आक्रोशजन्य भावना जगाउने भाइरल सामग्रीलाई प्राथमिकता राख्ने प्रविधिमा आधारित सामाजिक सञ्जाल अहिले सूचनाको प्राथमिक स्रोत भएको छ । त्यसैले पनि यस्तो भएको हो । यसलाई विज्ञहरूले ‘सूचनाको विकृति’ भन्ने गरेका छन् ।

पछिल्लो दशक ‘गलत सूचना’ र ‘भ्रामक सामग्री’ (मिसइन्फर्मेसन र डिसइन्फर्मेसन) भन्ने शब्द प्रचलनमा आएका छन् । सामान्यतया ‘मिसइन्फर्मेसन’ भन्नाले अञ्जानमा फैलाइने गलत सूचना बुझिन्छ । कतिपयले हल्लाको भरमा वा सुनेको कुरा, अधुरा विवरण वा अनुमानका भरमा सूचना वा सामग्री सेयर गर्छन् । उनीहरूको नियत खराब नहोला, तर यसको असर भने गम्भीर हुन सक्छ ।

‘डिसइन्फर्मेसन’मा चाहिँ झूट फैलाउने नियत हुन्छ । कसैलाई फसाउन, अपमान गर्न वा कुनै समुदायलाई उक्साउन वा होच्याउन तयार पारिएको यस्ता सामग्रीको उद्देश्य भ्रम फैलाउने हुन्छ । काटछाँट गरिएको भिडियो, तोडमोड गरिएको तस्बिर, फेक ‘स्क्रिनसट’ जस्ता सामग्री ‘डिसइन्फर्मेसन’मा पर्छन् ।

नेपालमा भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा फैलिएका फोटो र भिडियोले अफवाहको यो बजारलाई गरम बनाएका थिए । भदौ २३ गतेको आन्दोलनमा भएको मानवीय क्षति र घाइतेको विषयमा भ्रामक सूचना फैलिए । दोस्रो दिन देशव्यापी रूपमा भएको आगजनी र तोडफोड पनि भ्रम फैलाउनेका लागि अवसर बन्यो । यस दिनका घटना के कसरी भएको थियो र कसले गराएको थियो भन्ने विवरणहरू आइरहेका छन् र पछिसम्म आउने नै छन् । तर, त्यसै दिन खिचिएका फोटो र भिडियोले सत्य उजागर गर्नुको साटो मानिसहरूलाई झन् दिग्भ्रमित बनाए । त्यसका पछाडि विभिन्न कारण थिए ।

भिडियोले घटनाको एउटा पाटो मात्र देखाउँछ । अर्को, त्यसबाट व्यक्तिको भूमिका (उ त्यहाँ जलाउन गएको थियो वा बचाउन अथवा दर्शकका रूपमा मात्र) भन्ने प्रस्ट हुँदैन । अझ ‘स्यालो फेक’ भनिने छोटा भिडियो वास्तविकता उजागरभन्दा पनि आफ्नो दाबीलाई पुष्टि गर्नका लागि पोस्ट गर्ने गरिन्छ । जेन–जी विद्रोहपछि त्यसका नेतृृत्वकर्ता र पुराना राजनीतिक दलबीच ‘डिसइन्फर्मेसन वार’ नै सुरु भयो (यो अहिले पनि जारी छ र सम्भवतः चुनावसम्म जारी रहन्छ) । अहिलेका आन्दोलनको भौतिक रूप पछि त्यसबारे भाष्यको लडाइँ डिजिटल स्वरूपमा चर्किने चुनौती हाम्रासामु देखिन्छ ।

‘डिप फेक’ र एआई

सामाजिक सञ्जालमा यस्ता सामग्री किन चाँडो फैलिन्छन् ? यसको उत्तर प्रविधिभन्दा बढी मानवीय प्रवृत्तिसँग जोडिन्छ । हामी साधारण, सीधा र भावनात्मक कथा छिटो पत्याउँछौं । जटिल विषयबारे सामग्री बनाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । तर, ‘फलानो नेता भ्रष्ट’, ‘फलानो समुदायले यस्तो गर्‍यो’, ‘राज्यले गोली चलाउन आदेश दियो’ जस्ता सीधा आरोपले आक्रोश जगाइदिन्छ ।

अधिकांश मानिसका लागि अझै पनि समाचारको मुख्य स्रोत मूलधारका मिडिया नै हुन्, भलै पछिल्लो समय युट्युब र टिकटकमा छाएका ‘कन्टेन्ट क्रिएटर’ पनि लोकप्रिय हुँदै छन् । ठ्याक्कै गलत वा भ्रामक सामग्रीको हिस्सा सानो भएको विभिन्न अध्ययनले देखाएको छ । तर, यही सानो मात्राले पनि संवेदनशील घडी जस्तै आन्दोलन, ठूला दुर्घटना वा चुनावका बेलामा व्यापक प्रभाव पार्छ । यस्ता बेला मानिस स्वभावतः उत्तेजित हुन्छन् ।

उत्तेजनात्मक सामग्रीलाई सामाजिक सञ्जालले पनि प्राथमिकता दिने भएकाले एकै पटक फैलिने झूटले ठूलो संख्यामा मानिसहरूलाई दिग्भ्रमित गर्न सक्ने वातावरण तयार हुन्छ ।

अर्को समस्या पनि छ । आजकल जे पनि ‘फेक’ भनेर उम्किने अवस्था सिर्जना भएको छ । कुनै वास्तविक भिडियोलाई ‘डिप फेक’ करार गरिदिनाले त्यो साँचो भिडियो पनि गलत वा भ्रामक भनेर दाबी गर्ने बाटो खुल्छ । ‘डिप फेक’लाई झूट बोल्नका लागि व्यापक दुरुपयोग भएको छ ।

त्यसैगरी आफू संलग्न कुनै भिडियोका कारण विवाद भए ‘एआईले बनाएको’ भनेर उम्कने प्रवृत्ति नेपालमा पनि देखिन थालेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा भेटिएका नेपाली रुपैयाँको नोटको भिडियो भाइरल भयो । एक महिनापछि उनी सार्वजनिक कार्यक्रममा देखापरेपछि उनले त्यसबारे स्पष्टीकरण दिँदा सो भिडियो ‘फेक’ भएको दाबी गरे । उनले आफ्नो घरको र विदेशी भिडियो काटेर हालिएको बताए । उनलाई एआई भन्न नआएपछि उनले दर्शकतिर हेर्दै सोधे, ‘त्यसलाई के भन्छ रे ?’ एआई भन्ने जवाफ आएपछि उनले पनि दोहोर्‍याए– ‘एआई ।’

देउवा मात्र होइन, हालको अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले समेत आफूले पूर्वराजा वीरेन्द्रको हातबाट टीका लगाएको दाबीका साथ फैलिएको फोटो एआईले बनाएको दाबी गरेका छन् जबकि तथ्य जाँचकीहरूले सो तस्बिर गायक पूर्ण नेपालीको भएको पत्ता लगाएका छन् । वास्तविक फोटो वा भिडियोलाई एआई वा ‘डिप फेक’बाट बनाइएको भन्दै जनताको मनमा शंका जगाउन निकै सजिलो भएको छ । यसरी हेर्दा समस्या केवल गलत तस्बिर वा अडियोको मात्र होइन । सही के हो भन्नेमै मतैक्य हुन छाडेको छ ।

किन सजिलै फैलिन्छ मिथ्या सूचना ?

गलत सूचनाको महामारी केवल प्राविधिक समस्या होइन, यो मानवीय स्वभावसँग गाँसिएको विषय हो । कुनै पनि समाजमा द्वन्द्व र विभाजन, ध्रुवीकरण र अविश्वास बढ्दै जाँदा झूटको प्रभाव झनै बलियो हुन्छ । मनोवैज्ञानिकहरूका अनुसार, मानिस सधैं तथ्य हेरेर मात्रै प्रतिक्रिया दिँदैन । हामीले गर्ने धेरैजसो निर्णय भावनात्मक हुन्छन् । साथै हाम्रो एउटा पहिचान हुन्छ र हामी विभिन्न समूह वा समुदायसँग जोडिएका हुन्छौं । यही कारणले जटिल र मिहिन व्याख्याभन्दा सरल र सीधा दाबी छिटो फैलिन्छ । ‘त्यसमा षड्यन्त्र भएको थियो’, ‘यो विदेशी शक्तिको खेल हो’ जस्ता दाबीको पुष्टि प्रमाण नभए पनि मानिसलाई तत्काल अर्थ दिएको जस्तो लाग्छ ।

मानिस किन यसरी सहजै प्रभावित हुन्छ ? एउटै कुरा बारम्बार दोहोरिँदा त्यो साँचोजस्तै लाग्नुलाई ‘इल्युजरी ट्रुथ इफेक्ट’ भनिन्छ । सामाजिक सञ्जालमा यसको असर बढी देखिन्छ । एउटै पोस्ट दर्जनौं समूह र पेजमार्फत बारम्बार सेयर गरिन्छ । पहिलो पटक शंका गर्नेलाई पनि पटकपटक देखेपछि ‘कतै सही हो कि ?’ भन्ने बनाउँछ । सामाजिक सञ्जालको ‘एल्गोरिदम’ले पनि यसलाई बल दिएको छ ।

अर्को महत्त्वपूर्ण के छ भने झूट धेरैजसो अर्धसत्यका रूपमा आउँछ । सामग्रीमा कुनै सानो अंश सत्य हुन्छ, तर त्यसलाई अलिकति तोडमोड गरी सन्दर्भ मिलाएर बनाइएको सामग्री खतरनाक हुन्छ । एआई प्रयोग गरी बनाइएका तस्बिर, अडियो र भिडियोले झूटलाई यति स्वाभाविक बनाइदिन्छन् कि ‘आँखाले देखेको’ र ‘एआईले बनाएको’ बीच भिन्नता छुट्याउन हम्मेहम्मे पर्न थालेको छ ।

कुनै एक व्यक्तिको ठाउँमा अरू कसैसँग सम्बन्धित घटना राखेर वा पुरानो भिडिओलाई नयाँ क्याप्सन दिई बनाइएको सामग्री आजकल सञ्जालमा देखिन्छ । अनुहार बदलिएको भिडियो, आवाज मिलाइएको अडियो वा आधिकारिक लोगो टाँसिएको ‘फेक स्क्रिनसट’ फैलिएका हुन्छन् । एकातिर झूट सहजै फैलिने, अर्कोतिर असहज सत्य ढिलो आउने परिस्थितिले हामीलाई द्विविधामा पार्छ । यस्ता बेला ‘सबै कुरा फेक हो’ भन्ने अतिशंका पनि उब्जिन सक्छ, जसले विश्वसनीय स्रोतलाई समेत कमजोर बनाइदिन्छ ।

तथ्य जाँचको सीमा

केही दशकयता भ्रामक र मिथ्या सूचनाको जालो तोड्ने उपायका रूपमा तथ्य जाँच अपनाइएको छ । कुनै भाइरल सूचना वा दाबीलाई विश्वसनीय प्रमाण संकलन गरी त्यो सही, गलत वा भ्रामक भनी लेबल लगाउने वा निचोडमा पुग्ने प्रक्रिया नै ‘फ्याक्ट चेक’ हो । तर, यसलाई सूचनाको विकृति हटाउने अचुक अस्त्र ठानिनु हुँदैन । किनभने यो प्रतिक्रियात्मक हुन्छ । गलत सूचना तीव्र गतिमा फैलिन्छ, जसको पहुँच र प्रभाव व्यापक हुन्छ । तथ्य जाँचपछि मात्र आउँछ । सामाजिक सञ्जालमा एउटा फोटो वा भिडियो केहीबेरमै भाइरल हुन्छ ।

तर, त्यसको सत्यापन गर्न तथ्य–जाँचकीलाई समय लाग्छ । कुनै तथ्य जाँच स्रोतसम्म पुगेर खोजी गरी सन्दर्भ खुलाएर प्रमाण प्रस्तुत गरी गरिन्छ । कतिपय अवस्थामा प्रमाण र घटनाको विश्लेषण गर्नुपर्ने हुन्छ । सामान्यतया एउटा तथ्य जाँच उत्पादन गरी प्रकाशित गर्न ४ देखि ५ घण्टासम्म लाग्छ । तर, कहिलेकाहीं जटिल तथ्य जाँच गर्न कैयौं दिन लाग्न सक्छ । तथ्य जाँच प्रकाशित हुने समयसम्म त्यसबारे मानिसहरूले निष्कर्ष निकालिसकेका हुन सक्छन् ।

अर्को चुनौती के भने सबै विषय साँचो/झूटो वा भ्रामक भनेर ठोकुवा गर्न गाह्रो हुन्छ । केही सूचना ‘अर्धसत्य’ हुन्छन् । जस्तै– सन्दर्भ हटाइएको, पुरानो घटना नयाँ जस्तो देखाइएको वा तथ्यलाई तोडमोड गरिएको । यस्ता सामग्रीलाई झूट भन्न कठिन हुन्छ । राजनीतिक–सामाजिक घटनाक्रमहरू छिटछिटो विकसित भइरहेका हुन्छन् । तथ्य–जाँचकीसँग पनि कुनै जादुको छडी हुँदैन । उसले पनि उपलब्ध विश्वसनीय स्रोतहरूका आधारमा अनलाइन र अफलाइन खोज, अनुसन्धान गरेर दाबीको छिनोफानो गर्नुपर्ने हुन्छ । कतिपय घटनाको वास्तविकता धेरै पछि मात्रै बाहिर आउँछ । छानबिन गर्दै जाँदा नयाँ तथ्य आउँछ, निर्णय उल्टिन्छ ।

त्यसो भए के तथ्य जाँच नै नगर्ने त ? तथ्य जाँचको आवश्यकता झन् बढेको छ । तथ्य जाँचमाथि नागरिकको भरोसा बढ्दै जानु राम्रो हो । तर, अहिले हाम्रा संस्थाहरूप्रति विश्वासको संकट गहिरिँदो छ । पत्रकारलाई जस्तै तथ्य–जाँचकीलाई पनि ‘फलानो दलको’ पक्ष लिएको भन्ने आरोप लाग्छ । कतिपयले तथ्य जाँचलाई नै ‘झूटा सिद्धान्त फैलाउने अभियान’ भनेर गलत तरिकाले चित्रित गर्छन् । परिणामतः तथ्य जाँचले समाधान गर्नुपर्ने समस्या उल्टै झन् जटिल हुन्छ ।

साथै, एआईको प्रयोग गरी बनाइएका सामग्रीका सामु परम्परागत तथ्य जाँच धेरै अवस्थामा पर्याप्त नहुने देखिन थालेको छ । कुनै अडियोमा मान्छेको आवाज मिलाइएको छ कि छैन ? कुनै भिडियोमा अनुहार बदलिएको छ कि छैन ? भाइरल तस्बिरको स्रोत के हो ? यी प्रश्नको उत्तरका लागि ‘गुगल रिभर्स इमेज सर्च’ जस्ता प्रविधिमा आधारित उपायका साथै गहिरो सोधखोज आवश्यक पर्छ । प्रविधिमा मात्रै भर पर्ने अवस्था छैन किनभने एकातिर ‘डिटेक्सन टुल’ बनिसक्दा अन्य जटिल समस्या देखापर्छन् भने अर्कातिर आँखाले हेरेर थाहा पाउने अस्वाभाविकतालाई ती कम्पनीले सम्बोधन गरिसक्छन् । कतिपय एआई ‘डिटेक्टर’ले नक्कली सामग्रीलाई सही देखाउँछन् भने कतिपयले सही सामग्रीलाई एआईले बनाएको देखाइदिन्छन् ।

झूटो सामग्री फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन । समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको बौद्धिकस्तरको उत्तिकै भूमिका हुन्छ ।

समाधानको बाटो

आज हामी सबै कसरी सूचना ग्रहण गर्छौं, तिनको मूल्यांकन कसरी गर्छौं, के र कसलाई विश्वास गर्छौं भन्ने गहिरो समस्यामा छौं । एआईसँग आवाज, अनुहार र दृश्य एकै पटक बनाइदिने क्षमता छ, जसकारण साँचो र झूटोबीचको रेखा धमिलो हुँदै गएको छ । तर, यसो हुनुमा प्रविधिलाई मात्रै दोष दिन मिल्दैन । हाम्रो समाजमा रहेको अन्धविश्वास, राजनीतिक ध्रुवीकरण, द्वन्द्व र कमजोर सूचना प्रणालीका कारण समस्या विकराल बनेको छ । विडम्बना के भने आज धेरै मानिससँग मोबाइल छ, तर तीमध्ये अधिकांश डिजिटल साक्षर छैनन् । यो नै गलत सूचना फैलिनका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको छ ।

अन्ततः समाधान सरकार, मिडिया वा प्रविधि कम्पनीको हातमा मात्र छैन । प्रयोगकर्ता आफूले प्रयोग गर्ने ‘प्लेटफर्म’बाट पारदर्शिता माग गर्नुपर्छ । किन कुनै पोस्टलाई ‘प्लेटफर्म’ले ‘रिकमेन्ड’ गर्छ ? किन कुनै सामग्री ‘बुस्ट’ हुन्छ ? मिडियाले पनि आफ्नो स्रोत र प्रक्रिया खुलाउनुपर्छ । सरकारको आधिकारिक सूचना प्रणाली चुस्त र व्यवस्थित हुनुपर्छ । यी सबै कदम सँगसँगै चाले मात्रै सूचनाको विकृति रोक्न सकिन्छ । नत्र एउटा झूटको तथ्य जाँच गरिसक्दा कैयौं नयाँ अफवाह फैलिइसक्छन् । भनाइ नै छ, सत्यले जुत्ताको तुना बाँध्न थाल्दै गर्दा झूटले आधा संसार घुमिसकेको हुन्छ ।

फेसबुक, टिकटक वा युट्युबमा एकैछिनमा फैलिने भिडियोलाई रोक्नु मात्रै समाधान होइन । समाधान तब हुन्छ, जब नागरिकले ‘यो सूचनाको स्रोत के हो र यो मेरो टाइमलाइनमा किन देखिँदै छ ?’ भनेर सोध्न थाल्छन्, मिडियाले ‘हामीले यसलाई यसरी पुष्टि गर्‍यौं’ भनेर बताउँछन् र सरकारले आफ्नो आधिकारिक सूचना घटनापछि होइन, घटना भइरहँदा नै स्पष्ट रूपमा सार्वजनिक गर्छ । कुनै घटनाबारे साझा धारणा त्यतिबेला बन्छ, जब सत्य पत्ता लगाउने काममा नागरिक, मिडिया र संघसंस्थाले आ–आफ्नो भूमिका गम्भीरताका साथ वहन गर्छन् ।

नागरिकस्तरमा पनि स–साना अभ्यासहरूले ठूलो परिणाम दिन सक्छन् । अस्पष्ट र भ्रामक जस्तो लागेका पोस्ट सेयर गर्नुअघि केही रोकिने, पढ्ने अनि पहिलो स्रोत खोजेर हेर्ने गर्नुपर्छ । सन्दर्भ बुझ्ने र उतिबेलै सेयर नगर्ने जस्ता आधारभूत बानीहरू अपनाउनु जरुरी छ । गलत सूचना फैलाउन एक क्लिक चाहिन्छ, रोक्न एक सचेत कदम ।

गलत वा भ्रामक सूचना बाहिरबाट मात्रै आउने संकट होइन । यो हामीभित्रै रहेको अविश्वास, आक्रोश र ध्रुवीकरणका कारण जन्मिने समस्या हो । त्यसैले यसको समाधान पनि तथ्य जाँच वा प्रविधि–जाँचले मात्र हुँदैन । समाधानका लागि नागरिकले आपसमा संवाद गर्ने, सार्वजनिक संस्थालाई विश्वसनीय बनाउने, मिडियामा पुष्टि र प्रमाणीकरणलाई प्राथमिकतामा राख्ने र सामाजिक सञ्जाल कम्पनीहरू जिम्मेवार हुनुपर्छ । – तथ्य–जाँचकी संस्था साउथ एसिया चेकका सम्पादक रहिसकेका अधिकारी स्वतन्त्र पत्रकार हुन् ।

(देशका राजनीतिक, संवैधानिक, औद्योगिक र सामाजिक संरचनाजस्तै मिडिया क्षेत्रमा पनि गहिरो समीक्षा, आत्मसमीक्षा र परिमार्जनको आवश्यकता छ । ‘मिस्इन्फर्मेसन’ र ‘डिस्इन्फर्मेसन’ को बाढीले विश्वसनीय, जिम्मेवार र जवाफदेही पत्रकारिताको संवेदनशील भूमिका झन् धेरै आवश्यक छ । यही सन्दर्भमा आलोचना, समालोचना, समीक्षा, सुझावलाई विशेष स्थान दिन कान्तिपुरले बहस–शृंखला आरम्भ गरेको छ । हामी वस्तुनिष्ठ र जिम्मेवार बहसमा सरोकारवाला तथा विज्ञहरूको सहभागिताका लागि प्रतीक्षारत छौं ।)

कान्तिपुर : मिडिया विमर्श

दीपक

Link copied successfully