कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइकलमैत्री सहर : घोषणापत्रमा मात्र अटाउने चुनावी मुद्दा

काठमाडौं उपत्यकामा गुड्नेमध्ये एकतिहाइ मोटरकार र बाइकलाई मात्र साइकलले प्रतिस्थापन गर्न सके पनि उपत्यकाको यातायात प्रणाली सहज, सुरक्षित र व्यवस्थित हुन सक्छ । के यो चुनावमा हाम्रा सहरहरूले ‘भिजनरी’ नेतृत्व पाउलान् ?
रत्नराम श्रेष्ठ

चुनावसँगै धेरै राजनीतिकर्मी उदाउँछन् । धेरै घोषणापत्र पनि आउँछन् । घोषणापत्रमा धेरैले बोल्ने–लेख्ने शब्दावली हुने गर्छन्— स्मार्ट सहर, हरित सहर, स्वच्छ सहर, दिगो विकास आदि–इत्यादि । चुनावताका राजनीतिकर्मीहरू आफूलाई दिगो विकासको ठूलो पक्षधर र असली विज्ञभन्दा ठूलो विज्ञका रूपमा देखाउने गर्छन् ।

साइकलमैत्री सहर : घोषणापत्रमा मात्र अटाउने चुनावी मुद्दा

तर आम नागरिकलाई थाहा छ, उनीहरूको ‘दिगो विकास’ भनेको ‘राजनीतिको दिगो व्यापार’ हो, ‘दिगो लाजनीति’ हो, ‘दिगो डोजरनीति’ हो । नागरिकहरूको अस्तित्व त केवल एक भोट र करदाता प्रमाणपत्रभन्दा माथि कहाँ छ र ! हामीले दिनदिनै यस्तै त भोगिरहेका छौं । २०७२ सालको भूकम्पताका भोग्यौं, कोरोना महामारीमा भोग्यौं । नागरिकले चुनावमा त्यस्ता दर्दहरूको हिसाबकिताब माग्नुपर्ने हो, तर ‘मास डिमेन्सिया’ का भयंकर रोगी हामीलाई त्यसको के परबाह !

कुनै पनि सहरको आर्थिक, भौतिक र सामाजिक विकासमा नागरिकहरूको आवागमन (मोबिलिटी) या गतिशीलताले प्रमुख भूमिका खेल्छ । मोबिलिटीमा सवारीसाधनहरूको विकास र प्रयोगले उल्लेखनीय भूमिका खेलेको पक्कै हो । मेसिनरी साधनहरूले हाम्रो मोबिलिटीलाई छिटो र सहज बनाए । सवारीसाधनहरूको अत्यधिक प्रयोग हुँदै गयो । यसैका नकारात्मक प्रभावहरू सहरी क्षेत्रमा देखिन थालिसकेका छन् । अत्यधिक इन्धन खपतका कारण धान्नै नसकिने आर्थिक नोक्सानी, हदै दूषित पर्यावरण, खस्किँदो जनस्वास्थ्य, हदै असुरक्षित सडकयात्रा सामान्य भइसकेका छन् । यिनले हाम्रो सहरी जनजीवनलाई अपाहिज, असहज र असुरक्षित बनाइसकेका छन् । काठमाडौं उपत्यकाकै कुरा गरूँ, सवारीसाधनको अचाक्ली प्रयोगले सम्पदा र सांस्कृतिक धरोहरले भरिएको यो सहरलाई कुरूप बनाउँदै लगेको छ ।

कुनै पनि नागरिकले हरेक कोणबाट सहर सहज जीवनको आश्रयस्थल बनोस् भन्ने कामना गर्दछ । सुरक्षित यातायात, स्वच्छ वायु नागरिकको हक हो । ३० लाखको कार चलाउने र ३ हजार रुपैयाँको साइकल चलाउने नागरिकले सडकमा उत्तिकै सम्मानित र सुरक्षित महसुस गर्न पाउनुपर्छ । सहरमा कर्पोरेटहरूले गल्फ खेल्ने हरिया पार्कहरूभन्दा साधारण मजदुरहरू थकानपछि सुस्ताउने सुरम्य चौरहरू बढी हुनुपर्छ । चिल्ला र चौडा सडकहरूबाट फुटपाथहरू अपहेलित र अतिक्रमित हुनु हुन्न । कार्बन उत्सर्जन गर्ने करोड–करोडका सवारीसाधन चढ्नेहरूभन्दा फुटपाथमा हिँड्नेहरू भलादमी मानिनुपर्छ । पैदलयात्रीहरू त्यस्ता व्यक्ति हुन् जसले धूलोधूवाँ निकालेर सहरलाई दूषित बनाउने दुष्कर्म गर्दैनन्, जसले सहरको प्राकृतिक वायुलाई अप्राकृतिक धूवाँ र ध्वनिले आक्रान्त बनाउँदैनन् ।

सहरी यातायात प्रणालीमा गुणस्तरीय सार्वजनिक यातायात, साइकलयात्रा र पैदलयात्रालाई प्राथमिकता नदिए व्यक्तिगत मोटरकार, बाइकहरूलाई प्रश्रय पुग्छ नै । यिनको अत्यधिक प्रयोग गर्नु भनेको सहरलाई समस्यैसमस्याको चक्रव्यूहमा जकड्नु हो । सीमित भूगोल, सीमित सडक, सीमित क्षमताको सहर काठमाडौंमा अनगिन्ती मोटरगाडी, कार, बाइकहरूलाई थुपार्दै जानुले अन्ततः सडक यातायातलाई ठप्प पार्दै लैजान्छ । र, त्यसकै परिणाम अचेल हामीले दिनहुँ भोगिरहेका छौं ।

एउटा तथ्यांक अनुसार, काठमाडौं उपत्यकामा १८ लाख सवारीसाधन थुप्रिएका छन् । तीमध्ये लगभग १६ लाख दैनिक सडकहरूमा कुदिरहेका हुन्छन् । मोटरकार र बाइकहरूमध्ये ७० प्रतिशतको औसत यात्रा दूरी ५–७ किलोमिटर हुन्छ । अर्थात्, १२ लाख मोटरकार र बाइकहरू दैनिक ७ किलोमिटरसम्मका लागि मात्रै प्रयोग हुने गर्छन् । ७ किलोमिटरसम्मको यात्राका लागि मोटरकार र बाइकहरूको घुइँचो, धूलो, धूवाँ र ध्वनिले गर्दा काठमाडौंको ‘अर्बन लाइफ क्वालिटी’ हदै खस्किसकेको छ । काठमाडौंमा गुड्नेमध्ये एकतिहाइ मोटरकार र बाइकलाई मात्र साइकलले प्रतिस्थापन गर्न सके पनि उपत्यकाको यातायात प्रणाली सहज, सुरक्षित र व्यवस्थित हुन सक्छ । यसका लागि यहाँका सडक–बाटाहरू साइकलमैत्री र सुरक्षित हुनु जरुरी छ । सहरभरि साइकल स्ट्यान्ड र लेनको नेटवर्क विकसित हुनुपर्दछ । साइकल संस्कृतिको विकास गर्न विविध कार्यक्रम र नीतिहरू चाहिन्छन् । ‘मोनिटरिङ’ र ‘इन्फोर्समेन्ट’ बिनासाइकल लेनहरू प्रभावकारी हुन सक्दैनन् ।

सहरी विकास प्रारूपको केन्द्रमा मान्छे राख्ने कि मोटर, अर्थतन्त्र राख्ने कि वातावरण, पुँजीवादी अर्थराजनीति समात्ने कि समाजवादी अर्थराजनीतिजस्ता प्रश्नहरूको उत्तरमा छिपेको छ— साइकल प्राथमिकता । सडक र साइकल हाम्रो सहर र समाजलाई समाजवादतर्फ डोर्‍याउने गतिलो पांग्रा र पथ बन्न सक्छन् । के यो चुनावमा हाम्रा सहरहरूले ‘भिजनरी’ नेतृत्व पाउलान् ?

सडक–बाटाहरू, यातायात प्रणाली सहरी विकासको केन्द्रमा पर्दछन् । साइकल र ‘सस्टेनेबल ट्रान्सपोर्टेसन’ का मुद्दाहरू प्रत्यक्ष रूपमै सहरी यातायात प्रणाली र सडक–बाटाहरूसँग जोडिन्छन् । चुनावी मुद्दामा पनि पर्ने गर्छन्— सडक, फुटपाथ, ट्राफिक जाम, धूवाँधूलो आदि ।

स्थानीय तहको गएको चुनावमा काठमाडौं महानगरका मेयर प्रत्याशी विद्यासुन्दर शाक्यले घोषणापत्रमा साइकल सिटीको अवधारणा समेटेका थिए । त्यस्तै अरू कैयौं उम्मेदवारका घोषणापत्रमा साइकलमैत्री र पैदलमैत्री सहरका बुँदाहरू थिए । दुर्भाग्य, काठमाडौं महानगरमा एक इन्च पनि साइकल लेन कतै बनेन । महानगरका मेयर शाक्य सुविधाजनक बहुमतमा हुँदा पनि साइकलमैत्री काठमाडौं सहर बनाउन पहल गरेनन् । ललितपुर महानगरमा भने चुनौती, बाधाहरूबीच दुःखसुखले ३३ किलोमिटरजति साइकल लेन नेटवर्क तयार गरियो ।

सहरका लागि साइकल कति अत्यावश्यक भइसकेको छ भन्ने बुझ्नका लागि केही अन्तर्राष्ट्रिय अनुभव हेरौं । लन्डन र पेरिसमा एक दशकअघिसम्म साइकल लेनहरू अहिलेजति थिएनन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसअघि दुई कार्यकाल मेयर हुँदा र हालका मेयर सादिक खानले लन्डनमा अर्बौंको बजेट खर्चेर साइकल लेनका नेटवर्कहरू बनाए । उनीहरूका चुनावी मुद्दाहरूमध्ये एउटा साइकल सिटी पनि थियो । यही एजेन्डाले उनीहरूलाई जिताउन भूमिका खेलेको थियो । त्यस्तै, पेरिसका मेयर एने हिडाल्गोले पनि साइकल सिटीलाई प्राथमिकतामा राखेका थिए । फलस्वरूप पेरिसमा साइकल लेनको गतिलो नेटवर्क बनिसकेको छ । हाल लन्डन र पेरिस साइकल सिटी अवधारणाको बेन्चमार्क बनेका छन् । यता हाम्रा मेयरका उम्मेदवारहरूचाहिँ साइकल सिटीबारे बोल्दैनन्, प्रतिबद्धता त परकै कुरा ! सिक्ने चाहना भए विकसित देशका सहरहरूका अनुभव कति छन् कति !

गत वैशाख ३ गते त्रिभुवन विश्वविद्यालयमा प्राज्ञ, विज्ञ, लेखक, इन्जिनियर, आर्किटेक्ट, सहरी योजनाकार, जनस्वास्थ्य विज्ञ, मेडिकल डाक्टर र साइकल अभियन्ताहरूको पहलमा छोटो कार्यशाला गरिएको थियो । त्यहीँबाट ‘कीर्तिपुर साइकल घोषणापत्र’ पनि जारी गरियो । घोषणापत्रमा सहरहरूलाई पैदल यात्रु तथा साइकलमैत्री बनाउन पालिकाहरूमा विशेष विभाग या बोर्ड स्थापना गरी त्यही बमोजिम विकास–निर्माण गर्न प्रतिबद्धता गर्नेहरूलाई मात्र भोट हाल्न अपिल गरिएको छ । अन्तर्राष्ट्रिय संस्थाहरूको एउटा अध्ययनले काठमाडौं विश्वकै प्रदूषित सहर भएको निष्कर्ष निकालेको छ । हाम्रा सहरहरू यसरी विषाक्त वायुमा सास फेर्न विवश बनिरहँदा साइकलको कुरा किन नगर्ने ?

अर्थशास्त्री शेरजंगबहादुर चन्दको टिमले डेढ वर्षअघि ट्राफिक जामबाट राष्ट्रलाई परिरहेको आर्थिक नोक्सानीको अध्ययन गरेका थिए, जस अनुसार काठमाडौंको ट्राफिक जामबाट हरेक वर्ष मुलुकलाई १ खर्ब १६ अर्ब रुपैयाँको नोक्सानी हुने गरेको छ । यो अध्ययन कोरोना लकडाउनअघि रहेका मोटरकार, बाइकसहितका सवारीसाधनको आधारमा गरिएको थियो । कोरोना लकडाउनपछि भने उपत्यकामा सवारीसाधनको संख्या ह्वात्तै बढेको छ । त्यसैले पनि साइकल र पैदलयात्रुमैत्री सडक यहाँ अपरिहार्य भइसकेको छ ।

जलवायु संकटले गर्दा विश्व मानव समुदाय समस्याहरूले घेरिँदै गएको छ । कार्बन उत्सर्जन कम गर्ने कठोरतम निर्णय लिइहाल्नुपर्ने यो अवस्थामा त्यसको सर्वोत्तम उपाय भनेको पेट्रोल र डिजेलले चल्ने सवारीसाधनहरूको प्रयोग न्यूनीकरण गर्दै साइकल सवारीलाई प्राथमिकता दिनु नै हो । हाम्रो परिप्रेक्ष्यमा अन्य विकल्प साह्रै कम छन् । संसारका विकसितसहित ५०० सहर साइकल सिटी बन्ने सुरसारमा छन् । हामीलाई पनि त्यही बाध्यता छ ।

यसपालिको स्थानीय चुनावमा ५ वर्षअघिकै घोषणापत्रहरू टकटकाएर नयाँ शब्दजाल समावेश गरिएका छन् । जनता जनार्दनलाई ‘मुर्गा’ बनाउन खप्पिस राजनीतिक खेलाडीहरूले फेरि ५ वर्ष पनि मुर्गै बनाउने त हैनन् ? मतदान गर्नुअघि सयौं पटक सोचौं । भूकम्प र कोरोनाकालका दुःखपीडाहरू पुनःस्मरण गरौं ।

श्रेष्ठ साइकल अभियन्ता हुन् ।

प्रकाशित : वैशाख २९, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?