खतराको संकेतलाई बुझौं
मुलुकमा कोभिड–१९ को संक्रमण पुष्टि हुन थालेको साढे तीन महिना नाघिसकेपछि मात्रै यसबाट मृत्यु हुनेको संख्या १० पुगेको थियो । तर, स्थिति सधैं यही रहेन । फैलिँदो संक्रमणका कारण मृत्युदर बढ्दो छ ।
गत बुधबार त २४ घण्टामै १० जनाले ज्यान गुमाए, जुन अहिलेसम्मकै उच्च हो । मृत्यु हुनेको कुल संख्या करिब सय पुगिसकेको छ । संक्रमितको संख्या उकालो लाग्दै जाँदा गम्भीर बिरामी पनि बढ्न थालेका छन् । करिब ९० जना सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा उपचाररत छन् । यी पछिल्ला परिदृश्यहरूले खतराको संकेत गरिरहेका छन् । हालका तथ्यांकले औंल्याइरहेको यो चेतावनीलाई सरकार र नागरिक दुवै पक्षले गम्भीर रूपमा लिनुपर्छ । सबैको सामूहिक प्रयत्नले परिस्थितिलाई नियन्त्रणमा लिनुपर्छ र थप बिग्रन दिनु हुँदैन ।
घना बस्ती भएको काठमाडौं उपत्यकामै दिनहुँ सय जनाभन्दा बढीका दरले संक्रमित थपिइरहेका छन्, जुन चिन्ताको विषय हो । काठमाडौं महानगर वडा नम्बर १४ ले त वडावासीलाई घरबाहिर ननिस्किन र पाहुना नबोलाउन भन्दै सतर्क गराएको छ । स्थिति अझै बिग्रिए वडा नै ‘सिल’ गर्ने जनाएको छ । देशभरको पछिल्लो अवस्था हेरेर चिकित्सकहरूले नै अब हामी जोखिमको चरणमा छौं भनेकाले बुझिन्छ कि, स्थिति भयावह हुन सक्छ । त्यस्तो अवस्था आउन नदिने सबैभन्दा प्रभावकारी उपाय भनेकै नागरिकले आफूलाई जोगाउने हो । तर कतिपयले अझै मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गरेको पाइन्छ, अध्ययनले पनि यही देखाएको छ । कतिले सही ढंगले मास्क लगाउने गरेका छैनन् । यस्तो हेलचेक्र्याइँ आफू मात्र होइन, समुदायका लागि पनि जोखिमपूर्ण छ ।
संक्रमित भइहालेमा सरकारले उपचार गर्नुपर्ने पाटो आफ्नो ठाउँमा छ, तर सकेसम्म नागरिकले प्रकोपबाट जोगिने पहल गर्नु बढी बुद्धिमानी हुन्छ । विश्वभरमै कोरोनाकालको महत्त्वपूर्ण सिकाइ भनेको घरबाहिर निस्कँदा अनिवार्य रूपमा उचित तवरले मास्क लगाउनु हो । यति गर्न कसैले पनि झन्झट मान्नु हुँदैन । र, एकअर्काबीचको भौतिक दूरीलाई पनि त्यत्तिकै ख्याल गर्नुपर्छ । तैपनि जनस्तरमा यही रूपमा सतर्कता अपनाइएको पाइँदैन । कतिपय निषेधित क्षेत्रमा समेत नाचगानजस्ता भीडभाड हुने कार्यक्रम गरिएका छन् । बिरामीको बहानामा एम्बुलेन्समा आवतजावत भइरहेको छ, जुन प्रवृत्ति आफैंमा घातक छ । त्यसैले, यस्तो पाटोमा प्रशासनले अनुगमन प्रणाली पनि बलियो बनाउनुपर्छ ।
चिन्ता गर्नुपर्ने मुख्य पक्ष, गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा जाने क्रम पछिल्लो साता बढेको छ । यही रूपमा शिथिल बिरामी बढे भने छिट्टै नै हाम्रा अस्पतालहरूमा आईसीयू र भेन्टिलेटर अभाव हुन सक्छ । त्यस्तो चरणमा प्रवेश गर्न लाग्दा पनि यसको व्यवस्थापन जटिल हुन सक्छ । तसर्थ, सरकारले उपचार प्रणालीको उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ । कस्तो बिरामीलाई कहाँ राखेर कसरी उपचार गर्ने स्पष्ट रणनीति र त्यहीअनुसारको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको नेतृत्वले गर्न सक्नुपर्छ । यस्तो समस्या अहिले नै देखिएको वीरगञ्जमा सरकारले ध्यान पुर्याउन ढिलाइ भैसकेको छ ।
समूहगत संक्रमण व्यापक हुँदै जाँदा भोलि उपचार व्यवस्थापन मिलाउनै सकस नहोस् भन्नेमा अहिल्यै विचार पुर्याउनुपर्छ । नेपालमा मृत्युदर कम छ भन्दाभन्दै पनि पछिल्लो समय संक्रमितहरूको एक्कासि मृत्यु हुने अवस्था देखिएको छ, यसलाई सरकारले खतराका रूपमा लिनुपर्छ । गम्भीर संक्रमितहरूले सहज उपचार पाउने व्यवस्था मिलाउन कुनै कसर बाँकी राख्नु हुँदैन । उपचार पाएमा बाँच्न सक्ने बिरामीको मृत्यु हुने अवस्था कुनै पनि हालतमा निम्त्याउनु हुँदैन । भेन्टिलेटर र आईसीयू व्यवस्थापनको पक्षलाई अब महत्त्वपूर्ण रूपमा लिइनुपर्छ ।
देशभर अहिले ९ सय हाराहारी भेन्टिलेटर र दुई हजार आईसीयू बेड छन् । उपत्यकाका अस्पतालमा भेन्टिलेटरसहितका पाँच सय बेड मात्र छन् । त्यसैले निश्चित छ— गम्भीर बिरामी बढेमा यी आईसीयू र भेन्टिलेटर संख्याले पुग्दैन । अब सरकारले जुध्ने रणनीति र व्यवस्थापन योजना पनि त्यही ढंगले बनाउनुपर्छ । उपचार पाए निको हुने वर्गलाई मृत्युवरण गर्नुपर्ने अवस्था आउन नदिन हर तयारी गरिनुपर्छ । भएको पूर्वाधारको व्यवस्थापनको अलावा सम्भव भएसम्म बेड र भेन्टिलेटर थप्नुपर्छ । अक्सिजनको पर्याप्त जोहो गर्नुपर्छ । र, जनशक्तिलाई पनि तम्तयार राख्नुपर्छ । बिरामीलाई उपचार गर्ने सबै सरकारी र निजी अस्पतालहरूबीच उचित समन्वय मिलाउनुपर्छ । सामुन्नेमा ठूलो खतरा छ, राज्य र नागरिकबाट कुनै लापरबाही नहोस् !
प्रकाशित : श्रावण ३०, २०७७ ०७:४१