हात्ती कल्याणलाई प्राथमिकता दिनुपर्ने अदालतको आदेशपछि सौराहाका पर्यटन व्यवसायी आम्दानी र रोजगारीमा पर्ने असरबारे चिन्तित छन्, कतिपयले सरकारसँग स्पष्ट नीति र वैकल्पिक पर्यटन मोडलको मागसमेत गरेका छन् ।
What you should know
चितवन — पर्यटकलाई वनजंगल डुलाउने तालिमप्राप्त नेचर गाइड सम्झना तिवारीले शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो राखिन् । भिडियोमा हात्ती सफारी र डुंगा सफारी जान बाघमारा मध्यवर्ती सामुदायिक वन पुगेका पर्यटक चढेका गाडीबारे थियो । ‘कति धेरै गाडी, यति गाडी त बसपार्कमा पनि हुँदैनन्,’ तिवारीले भनेकी छन् ।
भिडियोले नै भन्दै छ- पर्यटकीय सिजन नभए पनि बाघमारा वन क्षेत्रमा हात्ती र डुंगा सफारी गर्ने पर्यटकको कमी छैन । तिवारीको चिन्ता हात्ती वा डुंगा चढ्ने ठाउँमा पर्यटक बोकेका ठूलासाना गाडी सिधै पुगेको देखेपछि त्यसको व्यवस्थापनबारे थियो ।
अघिल्लो दिन बिहीबार आएको सर्वोच्च अदालतको आदेशसम्बन्धी समाचारले भने सौराहामा अर्कै बहस सिर्जना गरेको छ ।
जनहित संरक्षण मञ्चको तर्फबाट अधिवक्ता सञ्जय अधिकारी लगायतले २०७८ भदौ २९ मा हात्ती संरक्षण गर्नुपर्ने, यातना दिन नहुने, खरिदबिक्रीलाई अभिलेख राख्न, अवैध ओसारपसार नगर्न, चेन (साङ्लो) मा बाँधेर नराख्न, पर्यटन क्षेत्रमा हात्ती चढाउने कार्य रोकी अवलोकनको व्यवस्थालगाउत माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । हात्ती सफारी गराउने सहकारीलाई पनि विपक्षी बनाइएको रिटमा अदालतले गएको पुस २ गते आदेश गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गरेको उक्त आदेशको पूर्णपाठ गएको बिहीबार अदालतको वेबसाइटमा अपलोड भएको छ । जसमा हात्तीको कल्याणसँग जोडिएका विषयमा विभिन्न आदेश उल्लेख हुनुका साथै प्रस्ट रुपमै हात्ती सफारीको विकल्प खोज्न निर्देशन दिइएको छ । योसँगै विकल्प र असरका बारेमा पर्यटन क्षेत्रमा बहस सुरु भएको छ ।
कुल ४६ पृष्ठ र ६२ बुँदाको अदालतको आदेशको बुँदा नम्बर ४८ मा हात्ती सफारीमा व्यक्तिलाई हात्तीको शरीरमा चढाउने अभ्यास पनि हात्तीको कल्याणको दृष्टिले पुनर्विचार गरी वैकल्पिक प्रयोगका उपाय अपनाउनुपर्ने भनिएको छ । अर्थ उपार्जन, पर्यटन प्रवर्धन र रोजगारीका दृष्टिले हात्ती सफारी सौराहा लगायतका क्षेत्रमा महत्वपूर्ण आर्थिक गतिविधिका रुपमा रहेको अदालतले स्वीकार गरेको छ ।
‘अर्कोतर्फ हात्तीजस्तो क्रमशः विलुप्त हुँदै गरेको जनावरलाई मानिसहरु बोक्न बाध्य पार्नु आफैमा गैरजिम्मेवार व्यवहार रहेको देखिन्छ,’ बुँदा ४८ मा उल्लेख छ । अदालतले हात्तीको मेरुदण्ड, खुट्टा र शरीरको बनावट मान्छे बोक्नका लागि विकसित भएको देखिँदैन पनि भनेको छ । लामो समय भारी बोकाउँदा, निरन्तर घुमाउँदा, हात्तीमा शारीरिक तनाव, जोर्नी र खुट्टामा समस्या आउने आदेशमा उल्लेख छ ।
‘यसरी मनोरञ्जन वा पर्यटनको उद्देश्यले हात्तीलाई केवल साधनका रुपमा प्रयोग गर्नु उसको जीवित प्राणीको रुपमा रहेको मूल्य र कल्याणप्रतिको दायित्वसँग मेल खाँदैन,’ बुँदा ४८ को अन्त्यमा भनिएको छ ।
अदालतले पर्यटकलाई बोकेर सफारी गराउने अभ्यासको सट्टा हात्तीमैत्री पदयात्रा (इलाफेन्ट वाक, इलाफेन्ट बुस वाकजस्ता गतिविधि गराउन बुँदा नम्बर ५१ मा विकल्प दिएको छ । ‘कल्याणकारी मापदण्डअनुरुप नेपालमा पनि हात्ती सफारी र क्रूर बन्धन प्रणालीलाई विस्थापित गरी नैतिक पर्यावरणमैत्री मोडेलतर्फ रुपान्तरण गर्न कानुनी तथा नीतिगत व्यवस्था गर्न अपरिहार्य छ,’ आदेशमा उल्लेख छ । अदालतले विभिन्न देशमा प्रचलनमा रहेको बुस वाक, इलाफेन्ट फ्रेन्ड्ली वाक र पर्यटकलाई सुरक्षित दुरीबाट मात्र अवलोकन गर्न मिल्ने अभ्यास नेपालमा सुरु गर्न भनेको छ ।
चिन्तामा व्यवसायी, विकल्पमा बहस
सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वन जम्मा २१५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । हात्ती सफारी नै आर्जनको मुख्य आधार भएको बाघमाराजस्ता वन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सात-आठवटा छन् ।
बाघमाराले वर्षमा कुनै बेला ३ करोड रुपैयाँ हाराहारी आम्दानी गर्थ्यो भन्छन्, वनका निवर्तमान अध्यक्ष जितु लामा तामाङ । जसमा १ करोड रुपैयाँ हाराहारी हात्ती सफारीबाट मात्रै आम्दानी हुन्थ्यो ।
झन्डै डेढ दशकयता चितवन राष्ट्रिय निकुञ्जभित्र हात्ती सफारी हुँदैन । चितवन निकुञ्जको आडमा रहेको मध्यवर्ती सामुदायिक वनले मात्रै हात्ती सफारी गराउँछन्, त्यही पनि घरमा पालिएका निजी हात्तीबाट । सफारीमा सरकारी हात्ती पनि प्रयोग हुँदैनन् ।
‘चीनबाट आउने पर्यटक हात्ती सफारी गर्न निकै रुचि देखाउँछन् । साउन लागेपछि पनि चीनबाट राम्रो संख्यामा पर्यटक आएका छन् । उनीहरु हात्ती सफारी नगरी फर्कंदैनन्,' वनका अध्यक्ष भुवनेश्वरप्रसाद (बीपी) चौधरीले भने, 'कोरोनापछि कम हुँदै गएको सफारीको आम्दानीमा चिनियाँहरुबाट आशा छ । सफारीको विकल्प सोच्ने कुराले वनको आम्दानी प्रभावित हुने चिन्ता पनि सुरु भएको छ ।'
जर्मनीको म्युनिखमा रहेको प्रो वाइल्ड लाइफ नामक संस्थाले सन् २०१४ को डिसेम्बर १८ मा प्रेस विज्ञप्ति जारी गर्दै पर्यटनमा हात्तीको प्रयोगलाई अनुचित भनेको थियो । हात्ती सवारसँग सम्बन्धित पर्यटकीय कार्यक्रमलाई कटौती गर्न संस्थाले टुर अप्रेटरहरुलाई अपिल गरेपछि यसबारे बहस उठेको थियो ।
‘युरोपियन पर्यटक हात्ती चढ्दै चढ्दैनन् । नेपालीहरु एकपटक चढ्छन्, पटकपटक चढ्न खासै रुचि देखाउँदैनन् । अहिले चिनियाँहरुमा रुचि देखिन्छ,’ अध्यक्ष चौधरीले भने । बाघमाराका निवर्तमान अध्यक्ष जितु लामा तामाङ घरपालुवा हात्तीका कारण जंगली भाले हात्ती गाउँ आउने र आक्रमणका घटना हुने भएकाले हात्तीप्रति स्थानीय सकारात्मक हुन छाडेको बताउँछन् । ‘त्यसैले घरपालुवा हात्तीलाई टोलटोलमा होइन, संयुक्त रुपमा वन छेउमा राखेर पाल्ने कुरा उठेको थियो । यसका लागि सरकारले जमिनको प्रबन्ध गर्नुपर्ने थियो । अहिले सर्वोच्चको आदेशले पनि लगभग यही कुरा बोलेको छ । स्याङ्चुरी मोडलमा राख भनेको छ,’ लामाले भने । हात्तीलाई नकारात्मक असर नपर्ने गरी पर्यटकीय गतिविधि गरेको सन्देश दिने समय आएको उनले बताए ।
हात्ती सफारी धेरैभन्दा धेरै सौराहा क्षेत्रमा नै हुन्छ । सफारीमा जाने हात्ती युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडमा आबद्ध छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सहकारीमा अहिले ३० वटा हात्ती छन् । सहकारीबाहिर १४ हात्ती छन् । दिनहुँ करिब ३८ देखि ४० हात्ती सफारीमा प्रयोग हुने खतिवडाले बताए ।
खतिवडाले पछिल्लो समय विविध कारणले हात्ती सफारीमा ह्रास आउँदै गएको बताए । कोरोना आउनुअघि सफारीमा सहकारीका मात्रै कम्तीमा ६३ वटा हात्ती प्रयोग हुने गर्थे । कोरोनापछि पर्यटन सुस्ताउँदा भाडामा ल्याएका हात्ती फिर्ता भए । केही हात्ती बिक्री भएर भारत पुगे । अब जे जति बचेका छन् ती हात्तीको उचित व्यवस्थापन हुनुपर्ने आफूहरुको मत रहेको उनले बताए ।
‘हामीलाई सफारीको विकल्प खोज्न भनिएको छ । तर यो हाम्रो मात्रै प्रयासले हुँदैन । इलाफेन्ट वाक कहाँसम्म जाने, कसरी गर्ने, त्यसका लागि नीतिगत व्यवस्था खोइ ? सरकारले यसमा हेर्नुपर्यो,’ अध्यक्ष खतिवडाले भने, 'हामी अदालतको आदेश मान्छौं तर तत्कालै विकल्पमा जाँदा भने पर्यटन क्षेत्र नै प्रभावित हुन्छ । विकल्प अपनाउन प्रचारप्रसारको समय हामीलाई चाहिन्छ ।'
हात्तीको एकीकृत व्यवस्थापनका विषयमा सरकारले तत्कालै पहल लिनुपर्ने उनले बताए । ‘हामीले पालेका हात्तीका लागि अदालतले धेरै खाले चिन्ता लिएको देखियो । तर हात्तीले घाँस खान नपाएको समस्या निराकरण गर्न चरिचणको व्यवस्था गर्ने कुरा पनि समेटिएको भए राम्रो हुने थियो,’ उनले भने ।
सौराहाका पुराना पर्यटन व्यवसायी हरिभक्त घिमिरे फैसला आएसँगै सरकारको नीति पनि आउनुपर्ने बताउँछन् । घिमिरेले सौराहामा २०४० सालमा होटल खोलेका थिए । लगत्तै सफारीका लागि हात्ती राखे । अहिले पनि उनका दुई ठुला र एउटा दुई वर्षको छावा छ । चितवन निकुञ्जको स्थापनाअघि नै पर्यटनमा हात्ती सफारी जोडिएको हुँदा यसलाई गलतै भनेर मान्न नहुने उनको तर्क छ । चितवन निकुञ्जको पर्यटनको रौनक सफारीसँग जोडिएको उनी बताउँछन् ।
‘नेपाल र भारतमा परापूर्वकालदेखि नै मान्छेले हात्ती चढ्दै आए । चितवन निकुञ्जमा पनि स्थापनासँगै हात्ती सफारी सुरु भएको हो । निकुञ्ज स्थापनाभन्दा आठ वर्षपहिले २०२२ सालमा खुलेको टाइगर टप्सले हात्ती सफारी नै गर्थ्यो । यो पुरानो चलन हो,’ घिमिरेले भने । हात्ती राम्रोसँग पाल्न पर्यटन व्यवसायी प्रतिबद्ध रहेको हुँदा अदालतले सबै विचार गरेर आदेश दिएको भए राम्रो हुने उनी बताउँछन् ।
सौराहा आडको कुमरोजमा पर्यटकीय रिसोर्ट खोलेका संरक्षणकर्मी बासु ढुंगाना बजारले पनि हात्ती सफारीको विकल्प खोजेको हुँदा पर्यटन व्यवसायीले त्यहीअनुसार कार्यक्रम बनाउन उपयुक्त हुने सुझाउँछन् । तीन वर्षअघि रिसोर्ट सुरु गरेका ढुंगानाले हात्ती सफारी गराउँदैनन् । विकल्पका बारेमा सरकार, सामुदायिक वन, होटल र पर्यटन व्यवसायी मिलेर हात्तीमैत्री व्यवस्था गर्न उनले आग्रह गरे ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकाल हात्ती व्यवस्थापनको विषयमा आफहरु गम्भीर भएको बताउँछन् । आदलतबाट आएको आदेश र हात्ती पाल्नेहरुको सरोकारबीच तालमेल गरेरै कार्यन्वयन हुने उनको भनाइ छ ।
चितवन निकुञ्ज आएका पर्यटकको पहिलो रोजाइ नै वन्यजन्तु अवलोकन हो । यहाँ वर्षमा स्वदेशी र विदेशी गरी तीन लाख हाराहारी पर्यटक आउँछन् । हात्ती सफारीसँगै निकुञ्जमा जीप सफारी, सिमाना भएर बग्ने नदी र खोलामा डुंगा सफारी र जंगल वाक हुने गर्छ ।
