हात्ती सफारीको विकल्प खोज्न सर्वोच्चको आदेश

हात्ती कल्याणसँग जोडिएको विषयमा सर्वोच्चले गएको पुस २ गते दिएको आदेशको पूर्णपाठ बिहीबार जारी गरेको हो ।

असार ३२, २०८३

रमेशकुमार पौडेल

Supreme Court orders to find alternative to elephant safari

What you should know

चितवन — पर्यटकमाझ हात्ती सफारी निकै लोकप्रिय छ । पछिल्ला वर्षमा युरोपका पर्यटकले हात्ती सफारीमा अरुचि देखाए पनि नेपाली र अन्य विदेशीहरू हात्ती चढेर जंगल डुल्दै रमाउँछन् । तर सर्वोच्च अदालतले हात्ती सफारीको विकल्प खोज्न सरकारलाई निर्देशन दिएको छ । हात्ती कल्याणसँग जोडिएको विषयमा सर्वोच्चले गएको पुस २ गते दिएको आदेशको पूर्णपाठ बिहीबार जारी गरेको हो । 

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता सञ्जय अधिकारीलगायतले २०७८ भदौ २९ मा हात्ती संरक्षण गर्नुपर्ने, यातना दिन नहुने, खरिद बिक्रीलाई अभिलेख गर्नर्, अवैध ओसारपसार गर्न नहुने, चेनमा बाँधेर राख्न नहुने, पर्यटन क्षेत्रमा हात्तीमा चढाउने कार्य रोकी अवलोकन मात्र गर्नुपर्ने व्यवस्था हुनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । जसमा न्यायाधीश हरिप्रसाद फुयालले आदेश गरेका थिए । 

अदालतले घरपालुवा हात्तीको संरक्षण तथा कल्याणलाई प्राथमिकतामा राख्दै हात्ती सफारीको परम्परागत अभ्यासमा पुनर्विचार गर्न र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नैतिक तथा वातावरणमैत्री पर्यटन प्रणाली विकास गर्न सरकारलाई निर्देशन दिएको छ । अदालतले हात्तीलाई मनोरञ्जन वा व्यावसायिक उपयोगको साधनभन्दा संवेदनशील जीवका रूपमा व्यवहार गर्नुपर्ने आदेश गरेको छ ।

सर्वोच्चले हात्ती सफारीमा पर्यटकलाई हात्तीको ढाडमा चढाएर घुमाउने अभ्यास पनि आधुनिक पशु कल्याणका सिद्धान्तसँग मेल नखाने ठहर गरेको छ । हात्तीको मेरुदण्ड र शरीरको बनावट मानिस बोक्न उपयुक्त नभएको उल्लेख गर्दै लामो समयसम्म भारी बोकाउनु, निरन्तर काममा लगाउनु तथा विश्राम, आहार र सामाजिक आवश्यकताबाट वञ्चित गर्न नहुने अदालतको भनाइ छ ।

यसो हुँदा हात्तीको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने आदेशमा उल्लेख छ । अदालतले हात्तीलाई केवल पर्यटन, श्रम वा मनोरञ्जनको साधनका रूपमा नभई उच्च बौद्धिक क्षमता भएको संवेदनशील वन्यजन्तुका रूपमा सम्मान गर्नुपर्ने व्याख्या गरेको छ । उनीहरूको प्राकृतिक व्यवहार, सामाजिक आवश्यकता र सम्मानजनक अस्तित्व सुनिश्चित गर्नु राज्यको कानुनी तथा नैतिक दायित्व भएको पनि अदालतले स्मरण गराएको छ । 

अदालतले विदेशमा अभ्यास हुँदै आएको ‘एलिफेन्ट–फ्रेन्डली वाक’, ‘बुस वाक’ तथा पर्यटकलाई सुरक्षित दूरीबाट मात्र हात्ती अवलोकन गराउने ‘अब्जर्भेसन–ओन्ली’ अवधारणालाई नेपालमा पनि क्रमशः लागू गर्नुपर्ने भनेको छ ।  अन्तर्राष्ट्रिय पशु कल्याण मापदण्डअनुसार नेपालमा पनि हात्ती सफारीलाई क्रमशः नैतिक र वातावरणमैत्री पर्यटन मोडेलमा रूपान्तरण गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न अदालतले सरकारलाई निर्देशन दिएको छ ।

साथै, जङ्गली हात्तीको संरक्षणका लागि वन्यजन्तु आवागमन मार्गको संरक्षण, बासस्थान पुनर्स्थापना गर्न सरकारलाई आदेश गरेको छ । हात्तीलाई सकारात्मक प्रशिक्षण, पर्याप्त खुला क्षेत्र, प्राकृतिक आहार, सामाजिक सम्पर्क तथा आवश्यक पशु चिकित्सकीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । वृद्ध तथा अशक्त हात्तीका लागि अवकाश तथा पुनर्स्थापना केन्द्र स्थापना गर्न, चेनमुक्त (चेन–फ्रि) व्यवस्थापन लागू गर्न तथा प्राकृतिक वातावरणमा स्वतन्त्र रूपमा बाँच्न सक्ने व्यवस्था मिलाउन आदेश दिएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully