गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक ४१ हजारले बढेका छन्, तर विदेशी र सार्क पर्यटकको उपस्थिति भने घटेको छ।
What you should know
चितवन — गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या २ लाख ७२ हजार ९२३ पुगेको छ । चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या कात्तिक महिनामा उच्च रहँदै क्रमशः घट्थ्यो । कात्तिकपछि प्रायः चैतमा धेरै पर्यटक घुम्न आउँथे । यो पटक पनि कात्तिकमा धेरै पर्यटक आएका छन् । गर्मी महिना वैशाख र जेठमै पनि पर्यटकको संख्या उच्च रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष ०८२/८३ मा सबैभन्दा धेरै स्वदेशी पर्यटक १ लाख ६१ हजार ३७५ जनाले चितवन निकुञ्ज घुमेका छन् । त्यसपछि विदेशी ८८ हजार ६६५ जनाले चितवन निकुञ्ज घुमेका छन् । सार्क देशका २२ हजार ८८३ जनाले निकुञ्ज घुमेको सूचना अधिकारी थापा मगरले बताए ।
सार्क देशबाट चितवन निकुञ्ज घुम्नेमा प्रायः भारतीय हुन्छन् । भारतीयहरु यो पटक जेठ र असारमा धेरै आएका छन् । जेठमा सार्क देशका ५ हजार ८६३ र असारमा ३ हजार २८ जनाले निकुञ्ज घुमेका थिए । सार्क देशबाट त्यसअघि पुसमा ३ हजार १२ जनाले चितवन निकुञ्ज घुमेका थिए । अरु महिनामा सार्क देशबाट आएर निकुञ्ज घुम्नेको संख्या ३९३ देखि २ हजार ३४४ सम्म छ ।
स्वदेशी पर्यटक पनि कात्तिकपछि वैशाखमा सवैभन्दा धेरै आएका छन् । विदेशी पर्यटकको संख्या कात्तिकपछि फागुनमा धेरै छ । यी दुई महिनाबाहेक अरु बेला चितवन निकुञ्ज घुम्ने विदेशीको संख्या १० हजारभन्दा कम छ।
२०७२ को भूकम्पपछि निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्या घट्न सुरु भएको हो । जुन अझै पुरानो अवस्थामा फर्कन सकेको छैन । त्यसयता नेपालीको संख्या अत्याधिक छ । निकुञ्ज घुम्न आर्थिक वर्ष ०८१/८२ मा २ लाख ३१ हजार ३२९ पर्यटक आएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा निकुञ्ज घुम्ने पर्यटकको संख्या ४१ हजार ५९४ ले बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निकुञ्ज घुम्ने सार्क देश र विदेशी पर्यटकको संख्या घटेको छ । तर घुम्न आउने नेपालीे बढेका छन् । ०८१/८२ मा १ लाख १७ हजार २०६ नेपालीले निकुञ्ज घुमेका थिए ।
वन्यजन्तु अवलोकन गर्न रुचाउने पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज पहिलो गन्तब्य हो । यहाँ दुलर्भ वन्यजन्तु पाटेबाघ, एसियाली ठूलो एकसिंगे गैंडा, घडियाल गोहीलगायतका दुर्लभ जीवजन्तु र चराहरु छन् । निकुञ्ज आउने पर्यटक जीप सफारी, हात्ती सफारी गर्दै जंगल घुम्छन् ।
पर्यापर्यटनबाट चितवन राष्ट्रिय निकुञ्जले गएको आर्थिक वर्षमा २७ करोड ६३ लाख ३९ हजार ९५५ रुपैयाँ आम्दानी गरेको थियो । योसहित निकुञ्जको कुल आम्दानी ३१ करो १ लाख ६४ हजार ५५१ रुपैयाँ रहेको छ । त्यसअघि ०८१/८२ मा निकुञ्जले कुल राजश्व आम्दानी ३३ करोड ८६ लाख रुपैयाँ नाघेको थियो । विदेशी पर्यटकको संख्या घट्दा राजश्व आम्दानी प्रभावित हुने गरेको छ ।
