निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले ‘धुर्बे’ गएराति साढे १० बजे निकुञ्जको पश्चिम क्षेत्र सुखिभार पोष्ट नजिक भेटिएपछि डार्ट गरेर निगरानीका लागि स्याटलाइट प्रविधिमा आधारित कलर राखेको जानकारी दिए ।
चितवन — दुईजनाको ज्यान लिएपछि नियन्त्रणमा लिन खोजी हुँदै आएको जंगली भाले हात्ती ‘धुर्बे’लाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले बुधबार राति फेला पारेको छ । निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले ‘धुर्बे’ गएराति साढे १० बजे निकुञ्जको पश्चिम क्षेत्र सुखिभार पोष्ट नजिक भेटिएपछि डार्ट गरेर निगरानीका लागि स्याटलाइट प्रविधिमा आधारित कलर राखेको जानकारी दिए ।
हात्तीको घाँटीमा यस्तो ‘कलर’ राखेपछि हात्ती कहाँ पुगेको छ भन्ने जानकारी बेला बेलामा निकुञ्जका कर्मचारीले कम्प्युटर या मोबाइल फोनमा हेर्न सक्ने छन् । हात्ती वस्ती नजिक आए त्यसलाई जंगल फर्काउन तत्कालै निकुञ्जको टोली परिचालन हुने उनले बताए । हात्तीको दाह्रासमेत काटेको उनले जानकारी गराए ।
‘धुर्बे’ हात्तीले असार २० गते मध्यरातमा भरतपुर महानगरपालिका–२३ जगतपुर बेलहठ्ठाका २५ वर्षकी आशिका बोटे र उनका चार वर्षका छोरा भरत बोटेलाई आक्रमण गरेको थियो । आक्रमणका कारण उनीहरु दुवैजनाको घटनास्थलमै ज्यान गएको थियो । दुईजनाको ज्यान लिएपछि हात्तीलाई नियन्त्रणमा लिन दबाब बढेको थियो । तत्कालै टोली परिचालन हुँदै आए पनि हात्ती भेट्टाउन १० दिन लाग्यो ।
‘वर्षायामको प्रतिकुल मौसम, घना जंगल र बढेको झाडीले गर्दा असहज भएको थियो । निकुञ्जको टोलीसँगै निकुञ्ज सुरक्षाका लागि तैनाथ नयाँ गोरखा गणको टोली नियमित गस्तीमा थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्राविधिकहरु पनि निरन्तर खटेका थिए,’ सूचना अधिकारी थापा मगरले भने । ‘धुर्बे’को घाँटीमा यस्तो कलर राखेको यो चौथो पटक हो ।
‘धुर्बे’ हात्तीले चितवन निकुञ्ज र यस आसपासमा मात्रै नभएर विगतमा बारा पर्सासम्म पुगेर मान्छेलाई आक्रमण गर्ने र ज्यान लिँदै आएको छ । निकुञ्जले उपलब्ध गराएको विवरण अनुसार यो हात्तीले पहिलो पटक २०६६ मंसिरमा मन्छे मारेको घटना रेकर्ड भएको थियो । त्यसयता असार २० सम्मको घटनामा ‘धुर्बे’ हात्तीको आक्रमणबाट २५ जनाको ज्यान गएको सूचना अधिकारी अविनास थापा मगरले बताए ।
२०६९ सालको कात्तिकदेखि मंसिर मसान्तसम्म यो हात्तीले चितवन माडीका मात्रै चारजनाको ज्यान लिएको थियो । २०६६ सालयता २०६९ मंसिर मसान्तसम्म ‘धुर्बे’ले १५ जनाको ज्यान लिएपछि यसलाई निगरानी गर्न र आवश्यक परे नियन्त्रणमा लिन २०६९ मंसिरमा पहिलो पटक हात्तीको गलामा रेडियो कलर राखिएको थियो । लगातार मान्छे मार्न थालेपछि त्यो बेला "धुर्बे" हात्तीलाई मार्ने निर्णय चितवन प्रशासनले गरेको थियो ।
त्यसपछि एकाएक हराएको हात्ती २०७३ सालको हिउँदमा निकुञ्जको पश्चिम क्षेत्र सुखिभारमा देखा परेको थियो । त्यसपछि शान्त देखिएको "धुर्बे" निकुञ्जको पश्चिम क्षेत्रमा मात्रै नभएर पूर्वी भेग र बरण्डाभार जंगलको उत्तरी भूभागसम्म पुग्न थालेपछि २०७७ सालको बैशाखमा स्याटलाइटमा आधारित कलर राखिएको थियो । त्यसपछि निकुञ्ज प्रशासनले २०८० मंसिरमा पनि "धुर्बे"को घाँटीमा स्याटलाइट कलर राखेको थियो । यसरी "धुर्बे"को घाँटीमा चौथो पटक कलर झुण्डिएको छ ।
पछिल्लो पटक राखेको कलर संरक्षण अधिकृत अविनय पाठकले हात्तीमा पिएचडी अध्ययनका लागि उपलब्ध गराएका हुन् । यो कलरबाट १५ मिनेटको अन्तरालमा पनि हात्तीको लोकशन प्राप्त हुन सक्छ । यसअघि एक घण्टाको फरकमा आउने गर्दथ्यो ।
