रित्तिए गोठ, सुनसान बन्दै खर्क

बस्तुभाउ र गाउँलेको चहलपहलले गुल्जार हुने खर्क आजकल सुनसान हुँदा पुराना पुस्तालाई बाल्यकालको रमाइलो जीवन झल्किने गरेको छ।

असार १६, २०८३

कृष्णप्रसाद गौतम, वसन्तप्रताप सिंह, महेश केसी, डीबी बुढा

The barn is empty, the pasture is deserted.

What you should know

बझाङ, जुम्ला, रुकुम पूर्व, सुर्खेत — ‘बेलबुडी डाँडामी बाइग्या, भैंसी आमा फर्क,म तुखी खोज्याको खोज्याई, थोरो भोकै खर्क’

बिहान चरनमा गएको दुहुनो भैंसी घाम डुब्न लाग्दासम्म खर्क नफर्किएपछि बझाङका गोठालाले गाएको देउडा गीतको यो टुक्काले पाडो (थोरो) भोकै भएको प्रसंग देर्शाएको छ । वैशाखदेखि भदौसम्म बझाङ–बाजुराका खर्कमा गोठालाले यस्तै गीतमार्फत सुखदुःख सुनाउँदै रनवन गुञ्जायमान बनाउँथे । सिर्सिरे चिसो हावासँगै पाटन र वनमा भैंसीका गलामा झुण्डयाइएका घाँडा (घण्टी)को र्‍याइझ्याइँले खर्कको माहौल संगीतमय हुन्थ्यो ।हरियाली, रंगीचंगी फूल र चराको चिरबिरले खर्कमा बेग्लै माहोल हुन्थ्यो ।

बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित लेकाली खर्कका पाटनभरि भैंसी, घोडा, गाइवस्तु र भेडाबाख्रा चरिरहेका देखिन्थे । बस्तुभाउ चरिरहेका बेला गोठालाका ठाडी भाकाले खर्क उत्सवमय बन्थे । डेढ दशकअघिसम्म बुढासिमको खर्क पुग्दा सबैले देख्ने यस्तो रमझम अब स्मृतिमामात्रै जीवित छ ।

बझाङको पिमिका चाहुरे सिंहलाई खर्कमा भर्खरै दुहेको तात्तातो दुध पिएको सम्झना ताजै छ । ‘कति वर्षको थिएँ याद छैन, बुवाले तातो दुध कचौरामा हालिदिएको अहिले जस्तै लाग्छ,’ उनले सम्झिए । नाबालक छँदै खर्क पुगेका चाउरे र खर्कको साइनो जीवनको उतरार्द्धसम्म टुटेको छैन । अहिले पनि उनका दुहुना दुई भैंसी, तीन पाडापाडी छन् । बिहानै उठेर भैंसी दुहुनु, एक लौड्या (फलामको कराही) दुध तताएर खाएपछि वस्तुलाई घाासपात र स्याहारसुसार गर्नु उनको दैनिकी हो । दिउासो भैंसी चर्न गएका बेला पाडापाडीका लागि घाँस काट्ने र निगालोका डोका बुनेर दिन कटाउने उनको मन अचेल खर्कमा उतिसारो रमाउन छाडेको छ । ‘खर्क आउने मानिस घटेकाले वातावरण उराठ र सुनसान छ,’ उनले भने, ‘आजकाल गाउँमा पनि मान्छे छैनन् । पहिलाजस्तो रमाइलो छैन ।’

The barn is empty, the pasture is deserted.

केही वर्षअघिसम्म गाउँलेहरु बस्तुभाउ ल्याएर उनकै आसपासका चौड्यान, डाड, साउनाकोट, लवाबान्नालगायत स्थानमा खर्क बनाउँथे । सयौं मान्छेसँगै भैंसी र बस्तु हुन्थे । ‘पहिले बर्खामा पूरै गाउँ यतै हुन्थ्यो,’ उनले भने, ‘अहिले गाउँमै मान्छे छैनन् । भएका पनि भैंसी पाल्दैनन् ।’ अहिले मुस्किलले पाँच वटामात्रै खर्क रहेको उनले बताए ।

जिल्लाका अन्य पालिकाका लेकाली खर्कको यस्तै अवस्था छ । २० वर्षअघि मष्टा गाउँपालिकाको भिन्मडका ६० मध्ये ५० परिवारले भैंसी पाल्थे । ‘धामीले दिन हेरेपछि भैंसी खर्क सार्ने चलन थियो । त्यसदिन मिठोमसिनो पकाउने, टिकाटालो गर्ने र सबै जना खर्कसम्म पुर्‍याउन जान्थ्यौं,’ स्थानीय जोग कठायतले भने, ‘खर्क जाने बेला चाडपर्वजस्तै माहोल हुन्थ्यो ।’ गाउँबाट झण्डै दुई घण्टा टाढा खुइत्याडा खर्क हुन्थे । उनका अनुसार अहिले गाउँमा एक सय भन्दा बढी परिवार रहेका छन् । तीमध्ये पशुपालन गर्ने एक/दुई मात्र रहेको उनले बताए । ‘खर्क त बाँझा भइसके,’ उनले भने, ‘खर्कले भरिएर गुल्जार हुने खुइत्याडामा जंगल बढेर एक्लै जान पनि डर लाग्छ ।’

छिमेकी बाजुराका खर्क पनि सुनसान हुन थालेका छन् । केही वर्षअघिसम्म बडीमालीका पाटन वरिपरी रहेका सोतापाटन, घोडापाटन, भितिछिर्ना खर्कले भरिभराउ हुन्थे । ती ठाउँमा अहिले खर्कको संख्या आश्चर्यजनक रुपमा घटिरहेकोमा खर्कमै जीवन गुजारेकाहरु चिन्तित छन् । ‘बर्खामा गाउँमा बस्थेनन् । भएभरका सबै खर्कमा हुन्थ्यौं,’ भितिछिर्ना पाटनमा खर्क बनाएर बसेका मार्तडीका ७० वर्षीय गजेन्द्र थापाले भने, ‘बस्तुभाउ पाल्न छाडेकाले खर्क सुनसान बन्न थाले ।’ उनका अनुसार पहिले खर्कमा एकैका ६/७ सय भैंसी हुन्थे । खर्क बनाउने ठाउँ मिल्नै मुस्किल हुन्थ्यो । ‘अहिले त खर्क निसम्म लाग्दा भए,’ उनले भने ।

The barn is empty, the pasture is deserted.

खर्कमा संगत गरेका धेरैजसो आफ्ना दौतरी ‘परलोक’ गइसकेको र बााचेकाहरु पनि हिँड्डुल गर्न नसक्ने भएर गाउँमै थलिएको उनले सुनाए । भैंसी पाल्न छाडेपछि खर्क परम्परा सकिने अवस्थामा पुगेको उनले बताए । ‘गोठ भैंसा नभई बाँच्न नसक्न्याा, कोइ मरिगया, कोइ बुढा भइकन थन्किया,’ उनले भने, ‘आजकालका केटाकेटी भैंसा छुन घिन मान्दाछन ।’ पाका व्यक्तिका अनुसार डेढ दशकअघिसम्म भितिछिर्ना पाटनमा एक सय भन्दाबढी खर्क हुन्थे । भैंसीले पाटन भरिएका हुन्थे । बाटोभरि मोही र सामल लेक–औल पुर्‍याउने गोठालाको ताँती हुन्थ्यो । घोडापाटन, सोतापाटन, फुलचढाउना पाटन, बुढीमाईको थान आसपासका खर्क गुल्जार हुन्थे । ‘अहिले ६ वटा खर्क मात्र छन्,’ मार्तडीकै ६९ वर्षीय खन्टे थापाले भने, ‘हामी मर्‍यौं भने छोराछोरीले भैंसा पाल्ने होइनन् । खर्कमा बस्ने हामी नै अन्तिम पुस्ता हुन्छौं हौंला ।’

८ वर्षअघि १४ वटा दुहुना भैंसी पालेको सम्झिँदै स्थानीय नर थापाले खर्क सर्ने बेलाको रौनक भुल्नै नसकिने बताए । ‘वैसाखमा खर्क लैजाने सामानको जोरजाम सुरु गर्थ्यौं,’ उनले भने, ‘तमाखु, ओछ्याउने भेडाको छाला, मोही बनाउने मदानी, सामलतुमल तयार भइसक्थ्यो । धामी बसालेर, टिकाटालो गरेर गाउँभरिका मान्छे एकै दिन खर्क पुग्थ्यौं ।’ खर्कबाट फर्किँदा पनि त्यस्तै रमाइलो हुने गरेको उनले सुनाए ।

खर्कमा बस्दा डोको, नाम्लो, भकारी जस्ता निगालोका सामान बनाउने र जडीबुटी संकलनको काम पनि गरिन्छ । लेकमा उत्पादन हुने जंगली साग, तरकारी र शुद्ध गोरस गाउँ पुर्‍याउने गरिन्छ । ‘खर्क परम्परा भैंसी पालनसाग मात्रै सीमित नभएर यहाँको सांस्कृतिको एउटा पाटो हो,’ मष्टा गाउँपालिकाका विनोद थापाले भने, ‘खर्क हराउनु भनेको लेक–औलको संस्कृति मेटिनु पनि हो । तर यसलाई जोगाउने कसले ?’ बझाङको खप्तड छान्ना, मष्टा, तलकोट, थलारा, जयपृथ्वी नगरपालिकालगायत पालिकाका छुट्टाछुट्टै खर्क बनाउने लेक छन् ।

बाजुरामा पनि त्रिवेणी नगरपालिकाको लौरीविनाइ, विण्णु पानी, चंखेली, बुढीनन्दाको छाप्रेपाटन, धनभडाार, जगन्नाथको सिन्तोवा, पोरखे, स्वामि कार्तिक खापर, बुढीगंगाको जिउ लेखमाडु, खप्तड छेडेदको खप्तड र गौमुल गाउँपालिकाको भैतनलगायतका ठाउँमा खर्कको संख्याप्रत्येक वर्ष घट्दै गएको स्थानीय बताउँछन् । ‘युवा पुस्तामा पशुपालनप्रतिको आर्कषण घटेको र पहिलाको तुलनामा निकै कम भैंसी पाल्ने र बजार क्षेक्रमा दुध बित्री गर्ने भएकाले पनि खर्क लैजाने चलन घट्दै गएको बझाङको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी कर्ण खड्काको भनाई छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा–१ मैकोटका ८१ वर्षीय सिर्जमान पुनसित भैंसीको बथान लिएर लेकाली खर्क जाँदाका मिठा–तिता अनुभूति छन् । उनी अन्तिमपटक १०–१२ वर्षअघि खानीखर्कसम्म गएका थिए । त्यसपछि खर्क पुग्ने मन भए पनि मैकोटमै रोकिएका छन् । तर, सम्झनाका लहरले लेकबेंसी गरिरहन्छन्, खोलानाला तरिरहन्छन् । The barn is empty, the pasture is deserted.

उनका अनुसार वैशाख लागेपछि चौपायाको बथानसँगै लेकतिर उक्लिएर असोजमा बेंसी झर्ने परम्परा थियो ।समय एकनास रहेन । बर्खायाममा गुल्जार हुने लेकाली खर्कमा अचेल त्योबेला जस्तो चहलपहल छैन । ‘१०–१२ वर्षअघि नै गोठ खाली हुन थालेका थिए,’ उनले भने, ‘अहिले झन् कस्तो भा होला ?’ खर्क जाने परिवारको आफू नै अन्तिम व्यक्ति भएको उनले बताए । आफू पछिका छोरा–नातिले लेक उक्लिने कष्ट नगरेको उनले बताए ।

मैकोटकै ६६ वर्षीय राप्रसाद पुनले एक दशकयता गोठालो जाने चलन कम भएको बताए । बाल्यकालदेखि गोठालो जाने आफू जस्ता व्यक्ति पनि जान छाडेको उनले सुनाए । ‘पछिल्लो पुस्तामा त झन् यसप्रति मोह घटेको छ,’ उनले भने । पहिले यहाँका प्रायः घरबाट वस्तुभाउ लिएर गोठालो जाने चलन थियो ।

एक दशकयता कम भएको उनले बताए । उनका अनुसार मैकोटबाट पुर्वाङ, माजिला, कुण्डला, पुपाल, पुथावानलगायतका ठाउँसम्म भेडा गोठाला जाने र खानीगोठ, हिखर्क र त्यागमलगायतका ठाउँमा वैशाखदेखि असोजसम्म गाइभैंसी लैजाने गरिन्थ्यो । मैकोटबाट लेक उक्लिएका ५७ वर्षीय अद पुनले कुनैबेला रहरै–रहरले लेक उक्लिने गरेको अहिले बाध्यता जस्तो हुन थालेको बताए । ‘पहिले बर्खायाममा गाउँ भन्दा खर्कमा रमाइलो हुन्थ्यो,’ उनले भने, ‘छरछिमेक, साथीसंगी यही भेटिन्थे । अब त लेक पनि एक्लो भयो, सुनसान हुँदै जान थाल्यो ।’

सुख–सुविधा खोज्दै मान्छे सहर पस्न थालेपछि लेक आउनेको अभाव भएको उनले बताए । पहिले बस्तुभाउको आउजाउ व्यापक हुने भएकाले लेकमा बाटोघाटो स्पस्ट हुन्थ्यो । खोला–खोल्सा पनि बस्न लायकका हुन्थे । ‘अहिले मान्छेहरु आउन छोडे अनि खर्कमा जंगल बढ्यो,’ उनले भने, ‘पशुवस्तु चराउन र हिँडडुल गर्न रहर हैन बाध्यता हुन थालेको छ ।’

पुथाउत्तरगंगा–५ हुकामका ४१ वर्षीय सागर सुनार लेकबेंसीको दैनिकीमा कुनै परिवर्तन नआएकाले नयाँ पुस्ताको आकर्षण हुन नसकेको बताउँछन् । गोठालाको स्वास्थ्य र सुरक्षाको विषयमा सरकारले चासो दिनुपर्ने उनको भनाई छ । ‘ढोरपाटन क्षेत्रमा पर्ने ठाकुरको पाटनमा हामी बर्खायाम बिताउँछौं,’ उनले भने, ‘बिभिन्न बहानामा देश–विदेश पुगेका साथीभाइको जिन्दगी हेर्छु, अनि आफ्नो । यसपछि बैराग लागेर आउँछ ।’

The barn is empty, the pasture is deserted.

रुकुम पूर्वका अधिकांश गाउँका आ–आफ्ना लेकाली खर्क छन् । जहाँ उनीहरुले खासगरी बर्खायाममा वस्तुभाउलाई पेटभरी घासपात खुवाउनकै लागि लैजाने चलन छ । भूमे–३ मोरबाङका श्यामलाल मगरले लेकमा बस्दा वस्तुभाउ हेर्नुका साथै परिवारसँगै रहँदै विभिन्न मौलिक सीप र सामाजिक संस्कार सिक्ने गरेको बताउँछन् ।

गाउँभरिका मान्छे एउटै खर्कमा भेला हुँदा सुख–दुःखका कुराकानीसँगै धेरैको हात खाली नै नहुने गरेको त्यो लेकाली जीवन झलझली सम्झिन्छन् उनी । ‘बिहान आँखा खुलेदेखि ननिदाउञ्जेलसम्म केही न केही कुराकानी हुन्थे, अनि पशुवस्तु चराउँदै अरु पनि काम गरिन्थ्यो । कसैले डोको, नाम्लो बुन्थे, कसैले गाइभैंसी बाध्ने धाउला (दाम्लो) बनाउँथे,’ उनी भन्छन् ‘बर्खाभरी लेकमा बस्दा यस्ता सरसामानले त्यहाँको आवश्यकता पूरा हुन्थ्यो नै असोजतिर गाउा गाउँ झर्दा पनि डोकाभरी लिएर आउथ्यौं । अब त के लेक, के बेंसी । के डोको–नाम्लो, के गाइभैंसी भन्ने जस्तो पो हुन थाल्यो ।’

लेकाली खर्कमा गोठालाको चहलपहल कम हुँदै जानुको कारण नगद आम्दनी पनि जोडिएको रुकुम पूर्वका पत्रकार तथा लेखक सुविन्द्र कुमार पुन बताउँछन् । उतिबेला पशुवस्तुको सुरक्षा र साधारण दैनिकीलाई मात्रै जीवनको आधार मान्ने गरेकोमा अहिलेको समय र पुस्ताको सोच तथा आवश्यकता फेरिएकाले लेकाली खर्कको संस्कृतिमा कमी आएको उनको भनाई छ ।

सञ्चारले सहज बन्यो खर्कको बसाइँ
जाजरकोटको बारेकोट–९ लिम्साका हस्तबहादुर बोहोरा पाँच वर्षअघिसम्म खर्कबाट घरमा खबर पुर्‍याउन चिठी पठाउँथे । अचेल घरका सुखदुःखबारे फोनबाट जानकारी लिन्छन् । अहिले खर्क पनि आधुनिक बन्दै गइरहेको उनी सुनाउँछन् । १० वर्षदेखि उनी भैंसी लिएर जुम्लाको गुठिचौर पाटन गइरहेका छन् । उनका ५ वटा भैंसी छन् । गाउँमा घाँसपात नहुनाले बस्तुभाउ पाटन ल्याउनु उनको बाध्यता हो ।

The barn is empty, the pasture is deserted.

गत जेठ २२ मा घरबाट भैंसी लिएर हिँडेका उनी ११ दिनमा गुठिचौर पुगेका थिए । ‘पहिले तीन महिनापछि मात्र परिवारसित भेट हुन्थ्यो,’ उनले भने, ‘अहिले टेलिफोनका कारण हरेक दिन कुराकानी हुन्छ ।’ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गुठिचौरस्थित उनको भैंसी गोठमा पनि पर्यटक आइरहन्छन् । दुध, दही र घिउ पनि बिक्री हुन्छ । अहिले खर्कमा पुगेका गोठाला दसैंतिहारमा मात्रै घर फर्किने गरेका छन् । बारेकोट–६ कै बीरबहादुर बुढा दिनहुँ भिडियो कलमा परिवारका सदस्यसित कुराकानी गर्छन् । गुठिचौरमा टेलिकमले टावर थपेको छ । ‘पाँच वर्षअघिसम्म सञ्चोबिसञ्चो बुझ्न कठिन थियो,’ उनले भने, ‘केही घटना भइहालेमा ढिलो खबर पुग्थ्यो, अहिले भिडियोकलमार्फत प्रत्यक्ष संवाद गर्न मिलिरहेको छ ।’

६ वटा भैंसी लिएर पाटन पुगेका उनी खर्कमा रमाइलो हुने बताउँछन् । पहिले घरबाट सामल बोकेर ल्याउने चलन थियो । गुठिचौर आसपासमा उब्जनी हुने अन्नबाली खरिद गरेर घट्टमा पिसेर ल्याउनु पर्थ्यो । ‘पहिले त भोग्नुसम्म सास्ती भोग्यौं,’ उनले भने, ‘अहिले सुविस्ता छ ।’ अहिले उनी घरबाटै पाल बोकेर ल्याउने गर्छन् । पाटनमै काठको जोहो गरेर तीन महिना पालमै गुजार्छन् । अहिले खर्कमै सवारी साधन लिएर पर्यटक पुगिरहेका हुन्छन् । उनीहरु खर्कमै गएर दुध, दही र घ्यू खरिद गर्छन् । केहीले त खर्कमै गोठालासँगै रमाइलो गरेर खाने गर्छन् । गुठिचौरको पाटन हुँदै डोल्पा जाने बाटो भएकाले पर्यटक खर्कमै रमाइरहेका हुन्छन् ।

गोठालाले पनि टिकटक, भिडियो बनाएर आफन्तकहाँ पठाउनेदेखि सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन् । खर्कबाटै स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक, सामाजिक र राजनीतिक क्रियाकलाप नियाल्छन् । जुम्लाका गुठिचौर, खाली, चेरे, पातारासीका पाटनमा यतिबेला गाइबस्तु र भेडा लैजाने चलन छ । पाटनमा अहिले गोठालाको चहलपहल छ । खर्क आसपासका बहुमुल्य जडीबुटी, चरिचरण क्षेत्र संरक्षण जरुरी रहेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । हिमाली क्षेत्रमा पशुपालन व्यवसाय खटिरहेको उनको भनाई छ ।

खर्क संरक्षण गर्दै कसरी उत्पादन र नाफामुखी बनाउने भन्ने विषयमा खोज गरेर रणनीति बनाउन आवश्यक रहेको उनले बताए । देशका उच्च हिमाली तथा पहाडी क्षेत्रका खर्कहरु घाँसे मैदान मात्र होइनन्, संस्कृति, परम्परा र पर्या पर्यावरणसँग जोडिएका जीवन्त सामाजिक प्रणली पनि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले बताए । कार्यालयले ५० भन्दा धेरै भेडाबाख्रा पालकलाई भत्ता व्यवस्था गरेको छ । उनले खर्क व्यवस्थापनदेखि पशुपालनमा किसान आकर्षित गर्न योजना बनाइरहेको बताए ।

मुगुको मुगमकार्मारोङ–९ छायलका ६७ वर्षीय छिरिङटासी तामाङले झण्डै ८ महिना ठूलोकोइकी, रिमारखोला, टाँकेलगायत पाटनमा बिताए । एक सय भेडा र चौरी लिएर पाटन उक्लिँदा एक महिना पुग्ने सातुचामल सँगै लिएर गएका थिए । ‘रासन सिद्धिए छोराबुहारीले ल्याइदिन्छन्,’ उनले भने, ‘पाटनमा भेडा र चौरी चराउँदा चराउँदै बुढेशकाल लाग्यो ।’

The barn is empty, the pasture is deserted.

४० वर्षको उमेरबाट पाटन आउन थालेका उनका अनुसार हिउँ पर्दा दुई र बर्खामा दुई महिना मात्र गोठाला गाउँमा बस्छन् । पुस–माघको हिउँ बिलाउनासाथ फागुन पहिलो सातातिर पाटन उक्लिने गर्छन् । अनि असार लागेपछि गाउँ झरेर भदौमा फेरि पाटनै पुग्छन् । पाटनमा उपलब्ध घाँसपातले बारेर टहरो बनाएका छन् । भेडा र चौरी रेखदेखका लागि ५ वटा कुकुर पालेका छन् । दुईवटा घोडा पनि साथैमा लैजाने गरेका छन् । ‘पाटनमा यताउता गर्न र सामान बोक्न घोडा चाहिन्छ,’ उनले भने, ‘भेडा–च्याङ्ग्रालाई वन्यजन्तुले आक्रमण गर्न खोजे कुकुरले धपाउँछ ।’ भेडा–च्याङ्ग्राको ऊनबाट विभिन्न सामग्री उत्पादन गर्छन् ।

गुच्छीच्याउ, भोल्ते, पाँचऔले, जटामसीलगायत जडीबुटी संकलन गर्छन् । उनले संकलन गरेका जडीबुटी छोराहरु पासाङ र सोनामले जिल्लाबाहिर पठाउने गरेका छन् । दसैं–तिहारका बेला भेडा र चौरी सुर्खेतसम्म पठाउने गरेका छन् । पाटनमा पनि वर्षा सुरु भएको छैन । त्यसैले अर्को बेंसी झर्ने तयारीमा छन् । समुद्र सतहदेखि झण्डै ४ हजार ५ सय मिटर उचाइका पाटनमा छाइल, चित्तै, माग्री, मह, दाउरालगायत गाउँका झण्डै दुई सय गोठाला भेडा र चौरी लिएर जाने गरेका छन् । त्यहाँ प्रतिपरिवार ५० देखि २ सयसम्म पशुचौपाया पाल्ने गरिएको छ । परिवारका एक जनाको काम नै पाटन भएको दाउरागाउँका कार्माटसिल लामाले बताए । ‘प्रायः घरमूली पाटनतिर जान्छन्,’ उनले भने, ‘परिवारका अरु सदस्यले खाद्यान्न जोहो गर्ने, जडीबुटी टिप्ने, मजदुरी गर्ने र खेती गर्छौं ।’

उनका बाबु ६६ वर्षीय सिजमग्याम्पो लामा अहिले पनि पाटनमै छन् । ५० भेडा र ४० च्याङ्ग्रा पालेका उनी वर्षा सुरु नभएकाले पाटनमै बसेका हुन् । ‘औंल झर्दा घाँस नपाइने भएकाले ठूलो झरी नपर्दासम्म गोठाला गाउँ आउँदैनन्,’ उनले भने, ‘गोठाला झर्दा भेडा–च्याङ्ग्राको आवाजले गाउँ रमाइलो हुन्छ ।’ उनका अनुसार एउटा भेडा–च्याङ्ग्रा २० देखि ३० हजार रुपैयाँमा बिक्री हुन्छ । जडीबुटीबाट सबैजसो परिवारले २ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाइ गर्छन् । त्यसैबाट वर्षभरिको खर्चको जोहो हुने उनको भनाइ छ ।

मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार १ हजार ३ सय ७२ घरधुरी रहेको पालिकाका अधिकांश घरमा भेडा–च्याङ्ग्रा पालिन्छ । ‘अत्यधिक चिसो हुने भएकाले स्थानीय उत्पादनले यहाँ कसैलाई पनि खान पुग्दैन,’ उनले भने, ‘स्थानीयको आयस्रोतको मुख्य आधार नै जडिबुटीखेती र भेडा–च्याङ्ग्रापालन हो ।’

The barn is empty, the pasture is deserted.

हुम्लाको नाम्खा गाउँपालिकाका अधिकांश गाउँमा भेडा र च्याङ्ग्रा पालन हुन्छ । नाम्खा–६ का रिमीडोसा तामाङले पालिकामा ५० देखि एक सय भेडा नपाल्ने घर नै नभएको बताए । ‘बढी भेडा भएकाहरु त २/३ जनासम्म पाटनमै बस्छन्,’ उनले भने, ‘पाटनमा पाइने चुन, बुकी, खिरौलालगायत घाँस चौरीका लागि पोषिलो मानिन्छ, पाटनमा चरेर मोटाएका चौरीलाई गाउँमा अन्न ओसार्न, दूध र मासुका लागि प्रयोग गर्छौं ।’ स्थानीय बजारमा बयस्क चौरी २० हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् ।

पछिल्लो समय सामुदायिक वनले चरन शुल्कवापत मासिक ५ सयदेखि २ हजार रुपैयाँ अशुल्छन् । जाजरकोटको कुशे गाउँपालिका–८ जिन्तालाका पदमबहादुर सिंहले एक साताअघि भेडीगोठ औंल सारिसके । उनका छिमेकी दुर्गबहादुर रोकाय र दीर्घ रोकायलगायतले पनि पाटनबाट गोठ औंल झारेका छन् । वर्षायाम सुरु सुरु हुन थालेपछि कुशे, चाखुरे, भैरीलगायत पाटनबाट बेंसीतिर भेडीगोठ झार्ने क्रम सुरु भएको हो ।

जाजरकोटको कुशे, बारेकोट र जुनीचाँदे गाउँपालिकाका किसान भेडापालनका लागि वर्षेनि विभिन्न पाटनमा पुग्ने गरेका छन् । औंल झर्दा उनीहरुलाई भेडाको चरिचरनमा समस्या भएको छ । कुशे गाउँपालिकामा मात्रै झण्डै १ सय ५० किसानले भेडीगोठ औंल झारेका छन् । सिंह १ सय ५०, दुर्गबहादुर १ सय ७० र दीर्घबहादुर २ सय भेडाका साथ गाउँ झरेका हुन् । उनीहरुले बर्षेनि भेडा बिक्रीबाट २ लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको जानकारी दिए ।

The barn is empty, the pasture is deserted.

सिंहका अनुसार भेडाको चरिचरनका लागि ४ हजार मिटर माथिका उचाइका लेक उत्तम मानिन्छ । भेडाका लागि मसिनो खर, पात पतिंगर र हरियो झारपात उत्तम मानिन्छ । ‘पाटन नलगे भेडा हुर्काउनै गाह्रो हुन्छ, भेडासँगै हामी पनि ७/८ महिना पाटन बस्छौं,’ उनले भने, ‘कतिपय चाडबाड त हामी भेडासँगै मनाउँछौं ।’ एक दशक अघिसम्म जुम्लाको गुठीचौर, गर्ज्याङकोट, टोप्ला, डुर्गी, ताम्तीलगायत ठाउँका बासिन्दा पनि जाजरकोटका पाटनमा भेडा चराउन आउँथे । ‘उतिबेला औलका खुला चौर, जंगल र बाँझो पाखोमा भेडाका बथानै बथान हुन्थ्ये,’ उनले भने, ‘अहिले घाँस पनि पहिलाजसरी उम्रिन छोड्यो, केही पाटनमा त बस्ती नै बसिसके ।’

उनका अनुसार केही वर्षयता भेडाको माग सहरी क्षेत्रमा बढिरहेको छ । प्रतिभेडा २० देखि ३० हजार रुपैयाँमा बिक्री हुने उनले जानकारी दिए । भेडाको मासु र उनबाट बन्ने कम्मल तथा राडीपाखीलगायतको माग बढेपछि कुशेका अधिकांश किसानले भेडापालन व्यवसाय अझै नछोडेको पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताए ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully