५ हजार ३९२ वटा पत्रिका नेपाली भाषाका मात्रै छन् ।
What you should know
काठमाडौं — नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भए पनि दर्ता भई सञ्चालनमा रहेका पत्रपत्रिकामा नेपाली भाषाकै वर्चस्व देखिएको छ । सरकारले सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ अनुसार हालसम्म दर्ता भएका कुल पत्रिकामध्ये झन्डै ६७ प्रतिशत नेपाली भाषाका मात्रै छन् ।
सर्वेक्षणको २०८२ फागुन मसान्तसम्मको तथ्यांकअनुसार देशभर कुल ८ हजार ५८ वटा पत्रपत्रिका दर्ता भएका छन् । जसमध्ये ५ हजार ३९२ वटा पत्रिका नेपाली भाषाका मात्रै छन् ।
नेपाली भाषापछि दोस्रो बढी आकर्षण नेपाली र अंग्रेजी दुवै भाषा प्रयोग हुने पत्रिकामा देखिएको छ । तथ्यांकअनुसार नेपाली/अंग्रेजी दुवै भाषामा दर्ता भएका पत्रिकाको संख्या १ हजार ४४७ पुगेको छ । त्यस्तै, पूर्ण रूपमा अंग्रेजी भाषामा मात्रै प्रकाशित हुने पत्रिकाको संख्या ५२० छ ।
मातृभाषाका पत्रिकामध्ये नेवारी भाषाका ५१ र मैथिली भाषाका ४६ वटा मात्रै दर्ता छन् । यस्तै हिन्दी भाषाका २४, थारूका १५, उर्दूका ९, भोजपुरीका ८ र तामाङ भाषाका ७ वटा पत्रिका दर्ता सूचीमा छन् ।
राई भाषामा देशभर जम्मा २ वटा मात्र पत्रिका दर्ता हुँदा लिम्बू र तिब्बती भाषामा ३/३ वटा छन् । त्यसैगरी, संस्कृत र डोटेली भाषामा ५/५ वटा पत्रिका दर्ता भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यसबाहेक अन्य विभिन्न रैथाने भाषामा गरी ५२१ पत्रिका दर्ता रहेका छन् ।
सर्वेक्षणले देखाएको पछिल्लो आठ वर्ष २०७४ असारदेखि २०८२ फागुनसम्मको तथ्यांक हेर्दा पत्रपत्रिकाको कुल दर्ता संख्यामा भने क्रमिक वृद्धि भएको देखिन्छ ।
२०७४ असार मसान्तमा कुल ७ हजार ५२८ पत्रिका दर्ता रहेकोमा अहिले त्यो संख्या बढेर ८ हजार ५८ पुगेको हो । तर, समग्र संख्या बढे पनि रैथाने मातृभाषाका पत्रिकाको दर्ता संख्या भने वर्षौंदेखि कि त स्थिर छ, कि त कतिपय भाषामा घट्दो क्रममा रहेको सर्वेक्षणको तथ्यांकले देखाउँछ ।
