वरिष्ठताका आधारमा सिफारिस गर्ने परम्परा तोडेर संवैधानिक परिषद्ले अघि सार्यो चौथो वरीयताका मनोजकुमार शर्मा, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति
What you should know
काठमाडौँ — संवैधानिक परिषद्ले ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद् बैठकले चौथो वरीयताका शर्मालाई सिफारिस गरेको हो । यससँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा तोडिएको छ ।
संवैधानिक परिषद्ले बहुमतको निर्णयबाट प्रधानन्यायाधीशमा नाम सिफारिस गरेको हो । निर्णयमा परिषद्का सदस्यद्वय राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले लिखित असहमति राखेका छन् ।
बैठकको अध्यक्षता गरेका प्रधानमन्त्री शाहले चौथो वरीयतामा रहेका शर्माको नाम अघि बढाएपछि राष्ट्रिय सभा अध्यक्ष दाहाल र कांग्रेस संसदीय दल नेता आङ्देम्बेले असहमति जनाएका थिए । उनीहरूले परम्पराको विषय उठाएपछि शाहले ‘अब परम्परा भनेर नहुने, न्याय सम्पादन र विज्ञता पनि ख्याल गर्नुपर्ने’ तर्क गरेका थिए ।
शाहले प्रस्तावमा लिखित असहमति दर्ज गर्न सकिनेसमेत बताएका थिए । ‘वरीयता मिचेर सिफारिस गर्ने प्रस्ताव आएपछि हामी दुईले असहमति जनायौं,’ एक सदस्यले भने, ‘विधि र परम्परा मिचेर आएको प्रस्तावमा सहमति हुन नसक्ने व्यहोराको लिखित मत पनि राख्यौं ।’
विगतमा न्याय परिषद्ले संविधानबमोजिम योग्यता पुगेका न्यायाधीशहरूको सूची पठाउने र त्यसमा पहिलो नम्बरमा रहेको व्यक्तिलाई संवैधानिक परिषद्ले सिफारिस गर्ने अभ्यास थियो । न्याय परिषद्ले २६ फागुनमै योग्यता पुगेका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्मा पठाएको थियो ।
संविधानको धारा १२९ (३) मा ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशमा नियुक्ति हुन योग्य हुनेछ’ भनिएको छ । सर्वोच्चका न्यायाधीशमध्ये वरीयतामा शर्माभन्दा माथि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल छन् । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत गत १८ चैतमा अवकाशमा गएपछि वरिष्ठताका आधारमा प्रधान कायममुकायम प्रधानन्यायाधीश छिन् ।
संवैधानिक परिषद्ले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्छ्योटमा उच्च रेकर्ड कायम गरेका शर्मालाई न्यायालयको जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६–२०८१) अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्यांकनमा शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि थिए ।
शर्माले ७ हजार ३ सय ८८ मुद्दा र निवेदनको अन्तिम टुंगो लगाएका छन् । पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उनले २ हजार १ सय ८१ मुद्दा किनारा लगाएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारको आँकडा पार गर्ने उहाँ एक्लो न्यायाधीश हुनुहुन्छ, जसले न्याय सम्पादनमा उहाँको सक्रियता र गतिलाई स्पष्ट रूपमा पुष्टि गरेको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
संवैधानिक परिषद्को सिफारिस अब संसदीय सुनुवाइ समितिमा पठाइनेछ । समितिले शर्माका नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गर्ने, उजुरी परे छानबिन गर्दै सुनुवाइ गर्ने प्रक्रिया अपनाइनेछ । सुनुवाइका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्न पाउँछन् भने शर्माले पनि कार्ययोजना पेस गर्न सक्छन् । सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्नेछन् ।
संसदीय सुनुवाइ समितिले यसअघि एक पटक मात्र प्रधानन्यायाधीशमा गरिएको सिफारिसलाई अस्वीकृत गरेको थियो । साउन २०७५ मा सुनुवाइ समितिले दीपकराज जोशीको नाम अस्वीकृत गरेको थियो । त्यसपछि वरीयताका आधारमै ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएका थिए । प्रजातन्त्र पुनःस्थापनापछि कुनै पनि प्रधानन्यायाधीशले ६ वर्षे कार्यकाल पूरा गर्न पाएका थिएनन्, ६५ वर्षे उमेरहदका कारण पहिले नै अवकाशमा जाने गरेका थिए । ५६ वर्षीय शर्मा भने नियुक्तिपछि पूरा कार्यकाल (२०८९ सम्म) प्रधानन्यायाधीश हुन पाउनेछन्, न्यायाधीशहरू प्रधान, रेग्मी र फुयाल भने प्रधानन्यायाधीश बन्न पाउने छैनन् ।
४ असार २०२७ मा वीरगन्जमा जन्मिएका मनोजकुमार शर्माले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुने विश्वविद्यालयबाट व्यापार तथा संवैधानिक कानुनमा एलएलएम गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालको श्रम कानुनको सन्दर्भमा संगठन स्वतन्त्रता’ मा विद्यावारिधि पनि प्राप्त गरेका छन् । उनी पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् । २०५१ मा अधिवक्ताको लाइसेन्स लिएका मनोजकुमार शर्माले वकालत गर्दा विभिन्न कम्पनी तथा संस्थालाई कानुनी परामर्श पनि प्रदान गरेका थिए । शर्माले २०६० देखि २०६५ सम्म बीबीएस तहका विद्यार्थीलाई कानुन विषयमा अध्यापन गरेका थिए ।
उनी ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए । २३ माघ २०८० देखि उनी संवैधानिक इजलासमा सदस्य रहँदै आएका छन् । २२ पुस २०७९ देखि १२ भदौ २०८१ सम्म उनी न्यायमा पहुँच आयोग सदस्य हुँदै अध्यक्ष भएका थिए । शर्मा २०७७–२०७९ सम्म सर्वोच्च अदालतको सूचना प्रविधि समितिका सदस्य थिए ।
जेठ २०७० देखि मंसिर २०७२ सम्म उनी पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश थिए । २०६३ को अन्तरिम संविधानमा पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश राख्ने चलन थियो । शर्मा जेठ २०७० देखि भदौ २०७१ सम्म बुटवलमा र असोज २०७१ देखि मंसिर २०७२ सम्म पाटनमा अतिरिक्त न्यायाधीश थिए ।
के भन्छन् कानुनविद् ?
काठमाडौं विश्वविद्यालयको स्कुल अफ लका प्राध्यापक विपिन अधिकारी वरिष्ठतम न्यायाधीशबाहेक अन्यलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न संविधान वा कानुनले रोक नलगाएको भए पनि त्यसको ठोस र संस्थागत रूपमा न्यायोचित ठहरिने कारण हुनुपर्ने बताउँछन् । ‘दशकौंदेखि रहेको परम्परा तोड्नुपर्ने बलियो कारण म देख्दिनँ,’ उनले भने, ‘पर्याप्त कारणबिनै वरिष्ठ न्यायाधीशहरूलाई उछिनेर कनिष्ठलाई नियुक्त गर्दा न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढ्ने ठाउँ बन्न सक्छ । यसले आफ्नो पदोन्नतिमा असर पर्न सक्ने भयका कारण फैसला गर्दा न्यायाधीशहरू सतर्क हुने अवस्था सिर्जना गर्न सक्छ ।’
नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाले संवैधानिक परिषद्बाट अचम्ममा पार्ने निर्णय आएको बताए । उनले यसबारे धारणा बनाउन शुक्रबार सल्लाहकार समितिको बैठक बोलाइएको पनि जानकारी दिए । ‘बैठकपछि बारले आफ्नो धारणा सार्वजनिक गर्नेछ,’ उनले भने ।
