तातो हावा चल्न थालेपछि सर्वसाधारणको हिँडडुल पातलिँदै, दैनिक ज्यालादारी गर्नेले काम पाउन छाडे ।
What you should know
पर्सा, परासी, भैरहवा, नेपालगन्ज र कैलाली — एक सातायता मधेश र पश्चिम तराईमा गर्मीको पारो एक्कासि उकालो लागेको छ । तातो हावा चल्न थालेपछि सर्वसाधारणको हिँडडुल पातलो भएको छ । बिहान १० बजेपछि नै घाम चर्किने भएकाले बजारका साथै ग्रामीण क्षेत्रसमेत सुनसान बन्ने गरेका छन् । मंगलबारदेखि एक्कासि बढेको गर्मीका कारण मधेशका राजविराज, वीरगन्जदेखि पश्चिम तथा सुदूरपश्चिम तराईका भैरहवादेखि नेपालगन्ज, धनगढीसम्मको जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार सप्तरीको राजविराजको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ । यहाँ मंगलबारको अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस थियो । वीरगन्ज–रानीघाटस्थित कृषि औजार अनुसन्धान केन्द्रको मापनअनुसार मंगलबार न्यूनतम तापक्रम २७ र अधिकतम ३९.९ डिग्री सेल्सियस पुगेको थियो । बुधबार न्यूनतम तापक्रम २२.५ रहे पनि अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।
उच्च तापक्रमसँगै चलेको तातो हावाले पश्चिम नवलपरासीको जनजीवन पनि प्रभावित भएको छ । केही दिनदेखि घामको ताप र जमिनको रापले अत्याएको रामग्रामका राजेन्द्र चौधरीले बताए । उनले भने, ‘केही दिनअघिसम्म बाहिरी काम गर्न सकिन्थ्यो । अहिले त धुप नै बलेजस्तो छ । बाहिरको काम बिहानै र बेलुकी गर्ने गरेका छौं ।’ बुधबार दिउँसो १ बजे सदरमुकाम परासीमा ३७ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दैनिक मजदुरी गरेर खाने विपन्न परिवारलाई तातो हावा चलेका कारण काम गर्न असहज भएको छ ।
रूपन्देहीको सीमावर्ती भैरहवा बजारमा अटो रिक्सा चलाउने सन्त मलाहालाई यतिबेला गर्मीले अत्याएको छ । गर्मीकै कारण रिक्सा सडकमा निकाल्नसमेत उनलाई जाँगर छैन । केही गरी निकाले पनि गर्मीले शरीर शिथिल हुँदा अरू बेला जस्तो कराएर यात्रु डाक्न सक्दैनन् । त्यसमाथि यात्रु पनि भेटिँदैनन् । अरू बेला बजारका चोकचोकमा भीड लाग्ने अटो रिक्सासमेत पातलिएका छन् । निजी मात्र होइन सार्वजनिक गाडीसमेत कम चल्न थालेका छन् । ‘गर्मीले मानिसहरू घर बाहिर निस्किन छाडे,’ मलाहाले भने, ‘ग्राहक नभएपछि सडकमा रिक्सा निकालेर पनि के गर्नु ?’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार बुधबार दिउँसो अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी थियो । सोमबारबाटै भैरहवा र आसपासका क्षेत्रमा मध्याह्नपछि तातो हावा चलिरहेको छ ।
बुधबार भैरहवाको सीमावर्ती मर्चवार क्षेत्रमा ओहोरदोहोर गर्नेहरू न्यून थिए । छिटफुट अटो रिक्सा र मोटरसाइकल चलिरहेका थिए । केही स्थानीय गम्छाले टाउको र अनुहार छोपेर साइकलमा यात्रा गरिरहेका थिए । अधिकांश सर्वसाधारण सडक र घर आसपास रूखको छहारीमा बसिरहेका थिए । बजार सुनसान थियो । रूपन्देहीका मर्चवारी र कोटहीमाईका बाँझो खेतमा बस्तुभाउ चराउने कोही थिएनन् । गर्मीकै कारण बिहान र बेलुका मात्र खेतबारीमा बस्तुभाउ लैजाने गरेको कोटहीमाईका बच्चन यादवले बताए । ‘मान्छेलाई मात्र होइन, बस्तुभाउलाई पनि गर्मी लाग्छ,’ उनले भने, ‘रूखको छहारीमा बाँधेको छु ।’
भैरहवा बहुमुखी क्याम्पसका शिक्षक भीम भण्डारीले तातो हावा चल्दा शरीर सुक्खा हुने र प्यास लाग्ने समस्या देखिएको बताए । ‘दिउँसो यात्रा गर्न सकिन्न,’ उनले भने, ‘गर्मीले ज्यान आलस्य हुने, ओठ सुक्ने र निद्रा मात्रै लाग्छ ।’ उनका अनुसार रूपन्देहीका भैरहवा, तिलोत्तमा, लुम्बिनी, रोहिणीलगायत क्षेत्रमा एक्कासि बढेको गर्मीसँगै तातो हावा चल्दा जनजीवन कष्टकर बनेको छ ।
रूपन्देहीका अधिकांश पालिकाले १० वैशाखबाट शैक्षिक सत्र सुरु गर्दै छन् । गर्मीमा विद्यालय सञ्चालन हुने भएपछि अभिभावक चिन्तित देखिन्छन् । ‘बिहानैदेखि गर्मी सुरु हुन्छ,’ सिद्धार्थनगर–१२ का जयकेश हरिजनले भने, ‘दिउँसो घरबाहिर निस्किएर काम गर्न धौधौ हुन्छ । यस्तो गर्मीमा विद्यार्थीले कसरी पढ्न सक्छन् ?’
बाँकेको नेपालगन्जमा पनि गर्मीले जनजीवन प्रभावित भएको छ । बुधबार विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यहाँको अधिकतम तापक्रम ३९.२ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि दैनिक ज्यालादारी गर्ने, रिक्सा चालक तथा महिला व्यवसायीलाई समस्या भएको छ । चर्को घामले दिउँसो सडकमा चहलपहल कम देखिएको छ । सर्वसाधारण घरभित्रै बस्न बाध्य भएका छन् । यसले बजार तथा सवारीसाधनमा समेत मानिस कम भएका छन् । रिक्सा चालकका अनुसार यात्रु नपाउँदा आम्दानी घटेको छ । ‘गर्मीले मान्छे घरबाहिर ननिस्कने हुँदा दिनभरि रिक्सा चलाउँदा पनि आम्दानी हुँदैन,’ नेपालगन्जका रामविलास कुमालले भने, ‘वैशाखमा पनि जेठ–असारजस्तो गर्मी छ ।’
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर पनि काम नपाएर समस्यामा परेका छन् । बजार क्षेत्रमा मानिसको उपस्थिति घट्दा उनीहरूको रोजगारीमा असर परेको छ । नेपालगन्ज–२, घरबारी टोलमा कपडा पसल सञ्चालन गर्दै आएकी क्रान्ति बर्माले गर्मीका कारण व्यापार घटेको बताइन् । ‘दिनभरि पसल खोलेर बस्दा पनि ग्राहक आउँदैनन्,’ उनले भनिन्, ‘पहिलेको जस्तो व्यापार छैन, गर्मी बढेसँगै बजार क्षेत्र सुनसान छ ।’ साँझ ६ बजेपछि मात्र बजारमा ग्राहक देखिने उनले बताइन् ।
यस्तै, सुदूरपश्चिमको धनगढीमा पनि गर्मी ह्वात्तै बढेको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांकमा धनगढीको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म थियो । दिउँसो १२ देखि २ बजेको बीचमा धनगढीमा ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले जनाएको छ । गर्मीको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारी गर्ने मजदुर र किसानलाई परेको छ । धनगढीको एलएन चोकमा मजदुरी गरिरहेका सोहन चौधरीले गर्मीका कारण काम गर्ने समय नै हेरफेर भएको बताए । पहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मै काम गर्ने उनी अचेल दिउँसो २ घण्टा विश्राम गर्न बाध्य छन् । जसले गर्दा काममा ढिलाइ भइरहेको सोहन बताउँछन् । तातो हावामा खुला ठाउँमा काम गर्दा निकै सास्ती हुने गरेको उनले बताए । गर्मीले मजदुरलाई मात्र होइन, विद्यार्थीलाई पनि उत्तिकै सताएको छ । धनगढीको त्रिनगरमा कक्षा ११ मा अध्ययनरत चेतना कुँवर दिउँसो २ बजेको चर्को घाममा छाता ओढेर विद्यालय जाँदै गरेको भेटिइन् । गर्मीले गर्दा स्कुल जान मन नलागे पनि परीक्षा नजिक आएकाले कोर्स दोहोर्याउन विद्यालय जानैपर्ने बाध्यता रहेको उनले बताइन् । कक्षाकोठामा विद्यार्थीको चाप र गर्मीले पढ्न निकै कठिन हुने उनले सुनाइन् ।
व्यापार व्यवसायमा पनि प्रत्यक्ष असर परेको छ । एलएन चोकमा तीन वर्षको बच्चा काखमा राखेर मकै पोल्दै गरेकी कल्पना ओडले केही दिनयता व्यापार घटेको बताइन् । गर्मी बढ्नुअघि दैनिक एक हजार रुपैयाँसम्मको व्यापार गर्ने उनी अहिले ३–४ सय मात्र कमाइ हुने बताउँछिन् । ‘गर्मीमा तातो मकै खान मान्दैनन् । साँझतिर मात्रै छिटपुटले खान्छन्,’ उनले भनिन् ।
धनगढीको एलएन चोकमा उखुको जुस बेच्ने समीर खानका लागि भने गर्मी बढेसँगै व्यापार पनि बढेको छ । एक सातायता उनले दिनमै १०० गिलासभन्दा बढी जुस बेचिरहेका छन् । ४० रुपैयाँ गिलास जुस बेचेर उनले दैनिक ३ हजार रुपैयाँभन्दा बढी कमाउन थालेको बताए । ‘एक साताअघिसम्म खासै व्यापार थिएन । ३–४ दिनयता राम्रो कमाइ भइरहेको छ,’ समीरले भने । बजार मात्र होइन, दिउँसो धनगढीका सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति कम हुन थालेको छ । आवश्यक कामबाहेक बजारमा निस्किँदैनन् ।
गर्मी र ‘लु’ बाट जोगिन चिकित्सकको सुझाव
अत्यधिक गर्मी र ‘लु’ बाट बच्न चिकित्सकहरूले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव दिएका छन् । धनगढीको कैलाली अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. आकाश रावतले बाहिर निस्कनै परे शरीर पूरै ढाक्न, सुतीको खुकुलो कपडा लगाउन, टाउकोमा टोपी वा छाता प्रयोग गर्न र सम्भव भएसम्म शीतल ठाउँमा बस्न सुझाव दिए । विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीले यस्तो बेला विशेष सतर्कता अपनाउनुपर्ने डा. रावतको भनाइ छ ।
पर्साको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले तापक्रम वृद्धिसँगै बढेको गर्मीको समयमा सर्वसाधारणले सावधानी अपनाउनुपर्ने बताए । ‘अत्यावश्यक कामबाहेक दिउँसो चर्को घाममा घर बाहिर ननिस्किएको बेस हुन्छ,’ उनले भने, ‘प्रशस्त पानी पिउने तथा पानीको मात्रा बढी भएको फलफूलको सेवनले पनि राहत दिन्छ ।’
