विवादित लगानीको आरोपबारे गृहमन्त्रीले भने : ‘अनुसन्धानमा सहयोग गर्न तयार छु’

अनुसन्धान क्रममा रहेका भट्ट र शंकर समूह लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको लगानी रहेको कागजात सार्वजनिक भएका थिए ।

वैशाख ७, २०८३

गौरव पोखरेल

Home Minister says on controversial investment allegations: 'I am ready to cooperate in the investigation'

काठमाडौँ — सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा छानबिन भइरहेका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको भन्दै प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् । 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्पष्टीकरण दिँदै उनले भनेका छन्, ‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’ उनले आरोप र सत्य एउटै कुरा नभएको भन्दै निर्णय भावना नभई प्रमाणका आधारमा हुनुपर्ने बताएका छन् । 

आइतबार बेलुकी दियोपोष्ट डटकम, जनआस्था डटकमसहितका सञ्चारमाध्यमले गृहमन्त्री गुरुङको भट्टसँग व्यापारिक साझेदारी रहेको विवरण सार्वजनिक गरेका थिए । अनुसन्धान क्रममा रहेका भट्ट र शंकर समूह लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनको लगानी रहेको कागजातहरु सार्वजनिक भएका थिए । गुरुङ अध्यक्ष रहेको हामी नेपाल नामक संस्थाले भट्टलाई २१ डिसेम्बर २०२१ मा दाताका रुपमा सम्मान गरेको तस्बिर सार्वजनिक भएको थियो । 

गुरुङले चाहिँ ‘२५ लाखको सेयर लुकाइएको’ हल्ला गरिएको भन्दै त्यसबारे तथ्य बुझ्न जरुरी भएको बताएका छन् । ‘मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रीपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ,’ उनले भनेका छन्, ‘स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो ।’  

उनले लुकाउनेले खुला रुपमा २ करोड रुपैयाँभन्दा बढी सम्पत्ति नदेखाउने भन्दै प्रश्न गरेका छन्, ‘यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ । बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ । यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?’

स्रोतको सन्दर्भमा चाहिँ आफूले ऋण लिएर लगानी गरेको उनले भनेका छन् । त्यसको लिखित तमसुकसमेत रेकर्डमै रहेको जिकिर गरेका छन् । भट्टको साझेदारीको सन्दर्भमा चाहिँ एउटै कम्पनीमा सयौं हजारौं सेयर होल्डर हुने भन्दै उनले भनेका छन्,  ‘सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन । यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन । त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन् । के ती सबै साझेदार वा दोषी हुन् त ?’

स्वार्थको द्वन्द्वबारे उठाइएको प्रश्नमा उनले छानबिन गृह मन्त्रालयबाट नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको उनको जिकिर छ । ‘यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन,’ उनले थपे, ‘यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन ।’

सम्बन्धित समाचार

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully