अमेरिका र इजरायलले इरानमाथि हवाइ आक्रमण गरेर त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई लगातको हत्या गरेपछि खाडीका देशहरु समेत अशान्त बनेका छन् । किनकी इरानले साउदी, कतार, यूएई लगायतका देशमा रहेका अमेरिकी सैन्य अखडाहरुमा आक्रमण जारी राखेको छ । जसको सोझो प्रभाव त्यहाँ रहेका नेपालीमाझ पनि परेको छ । शनिबार र आइतबार गरी दुई दिनमा नेपालमा मध्यपूर्वी मुलुकसँग हुने ४१ अन्तर्राष्ट्रिय उडान प्रभावित भए । जसमा दुईतर्फी ओहोरदोहोर गर्नुपर्ने करिब ६८ सय यात्रु अलपत्र परे ।
61 Updates
खाडीका केही देशहरूको हवाई क्षेत्रमा प्रतिबन्धका कारण काठमाडौंबाट सञ्चालन हुने ३१ अन्तर्राष्ट्रिय उडान आवागमन रद्द भएका छन् । विमानस्थलद्वारा जारी विज्ञप्तिअनुसार खाडीको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएपछि काठमाडौं आउने र जाने निर्धारित अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन्
इरानको रिभोलुशनरी गार्डस् कप्र्स (आईआरजीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयलाई निशाना बनाएर मिसाइल प्रहार गरिएको जनाएको छ । फार्स समाचार एजेन्सील दिएको जानकारीअनुसार आक्रमणमा खैबर नामक मिसाइल प्रहार गरिएको छ ।
सोमबार जेरुसेलम माथि लगातार विस्फोट सुनिएको एएफपीका पत्रकारहरूले बताएका छन् । इजरायली सेनाले इरानतर्फबाट नयाँ मिसाइल प्रहार भएको भन्दै हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाएको छ । ‘केही समयअघि इरानबाट इजरायलतिर प्रक्षेप्यास्त्र प्रहार भएको पहिचान भएको छ । खतरालाई अवरोध गर्न हाम्रो रक्षा प्रणाली सक्रिय छ,’ इजरायली सेनाले वक्तव्यमार्फत जनाएको छ ।
अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले तेहरानले अमेरिकासँग शान्तिपूर्ण सम्झौता गर्न अस्विकार गरेको आरोप लगाएका छन् । उनले इरान कहिल्यै आणविक हतियार बनाउने महत्वाकांक्षाबाट पछि हट्न नचाहेको आरोप लगाए ।
'आणविक कार्यक्रम हतियार निर्माणका लागि थिएन भने किन युरेनियमलाई पहाडभित्र गाडेर राख्नुपर्ने थियो ?' उनले भने । उनले वार्ता गरेजस्तो देखाएर इरानले आणविक हतियार निर्माणलाई भित्राभित्र तिव्रता दिइरहेको बताए । 'उनीहरू समय किन्दै थिए, आफ्ना क्षेप्यास्त्र भण्डार पुनः भर्ने र आणविक महत्वाकांक्षा पुनः सुरु गर्ने तयारी गर्दै थिए,' हेग्सेथले भने,'राष्ट्रपति ट्रम्प त्यस्ता खेलहरू खेल्दैनन्।'
अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आईएईए) का अध्यक्ष राफेल ग्रोसीले भने,‘इरानमा कुनै पनि आणविक पूर्वाधार क्षतिग्रस्त भएको वा निशानामा परेको संकेत हामीले पाएका छैनौैं । बुसेहर आणविक उर्जा केन्द्र, तेहरान अनुसन्धान रियाक्टर वा अन्य कुनै पनि पूर्वाधारमा क्षति पुगेको संकेत भेटिएको छैन ।’
यसअघि आईएईएका लागि इरानका दूतले इरानका प्रमुख तीन आणविक पूर्वाधारमध्ये एक नातान्जमा आइतबार आक्रमण भएको बताएका थिए ।
इरानले अमेरिका-इजरायली आक्रमणमा नातान्ज आणविक केन्द्रमा क्षति पुगेको बताएको छ । संयुक्त राष्ट्रसंघ आणविक निगरानी संस्थाका लागि इरानका राजदूत रेजा नजाफीले साेमबार अमेरिकी र इजरायली सैन्य कारबाहीको क्रममा नातान्जमा रहेको देशकै विशाल आणविक केन्द्रमा क्षति पुगेको बताएका छन् ।
चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्य गर्न युद्धविराम तथा कूटनीतिक पहल गर्न आह्वान गरेको छ । हाल इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि निरन्तर आक्रमण गर्दै आएका छन् । द्वन्द्वको असर छिमेकी देशहरूसम्म फैलिएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै द्वन्द्व अन्त्यका लागि सबैभन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नुपर्ने बताए । उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनि आग्रह गरेका छन् ।
कुबेतमा अमेरिकी सैन्य अखडानजिकै अमेरिकी फाइटर जेट दुर्घटना भएको छ । चालक दलका सबै सदस्य सुरक्षित रहेको अमेरिकाले जनाएको छ । घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
इरानले कुवेतमा क्षेप्यास्त्र प्रहार गरेर अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ ।
अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनस्थित मनोरञ्जन क्षेत्र ‘सिक्स्थ स्ट्रीट’ मा रहेको एक बारबाहिर गोली चलाउने व्यक्ति इरानमाथिको आक्रमणको बदलाभावबाट प्रेरित हुनसक्ने अनुमान प्रहरीले लगाएको छ ।
यस विषयमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुन्सधान गरिरहेको छ ।
बेलायतले आफ्ना नागरिकहरूलाई मध्यपूर्वबाट निकाल्ने तयारी थालेको छ । झन्डै तीन लाख बेलायती यस क्षेत्रमा रहेको विदेशमन्त्री यभिट्टि कुपरले बताएकी छिन् ।
'हामी धेरै विकल्पहरूमा काम गरिरहेका छौं,' कुपरले भनिन्,'बेलायत सरकारले मध्यपूर्वमा रहेका एयरस्पेस पुन सुचारू होस् भन्ने चाहेको छ । त्यसपछि हामी यो काम अघि बढाउनसक्छौं ।'
चीनले मध्यपूर्वमा द्वन्द्व अन्त्य गर्न युद्धविराम र कूटनीतिक वार्ताको लागि आह्वान गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले तेहरानमा कम्तिमा एक चिनियाँ नागरिकको मृत्यु भएको बताएका छन्।
'सबैभन्दा जरुरी काम भनेको सैन्य कारबाहीको अन्त्य र द्वन्द्वको फैलावट रोक्नु हो,' उनले भनिन्, 'संवाद र वार्ता मार्फत समाधान निकाल्न आग्रह गर्दछौं ।'
कुवेत शहरमाथि धुवाँको मुस्लो उठिरहेको देखिएको छ । अमेरिकी दूतावासले कुवेतमा रहेका आफ्ना नागरिकहरूलाई दूतावासमा नआउन र घरमै आश्रय लिन चेतावनी जारी गरेको छ।
इरानले मध्यपूर्वभरि आक्रमण सुरु गर्दा हिजो कुवेतमा एक जनाको मृत्यु भएको रिपोर्ट आएको थियो । अमेरिकी सहयोगी कुवेतले पनि आफूतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको बताएको छ।
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले इरानले आफ्नो देशलाई नक्सबाट मेटाउनका लागि सक्दो प्रयास गरेकाले आक्रमण गर्नुपरेको दाबी गरेका छन् ।
मध्य पूर्वको भविष्य इरानमाथि अमेरिका-इजरायल युद्धको नतिजामा निर्भर गर्ने उनले बताए। इरानले पृथ्वीका सबै कुनाबाट इजरायलमाथि आक्रमण प्रयास गरेको आरोप उनले लगाए ।
'हामी एउटा ऐतिहासिक मोडमा छौं जहाँ मध्य पूर्वको भविष्य यस अपरेशनको सफलतामा निर्भर गर्दछ। इस्लामिक गणतन्त्र "दुष्टताको साम्राज्य हो। यसले हामीलाई नक्साबाट मेटाउन चाहन्छ। हामी यो क्षेत्रमा वास्तविक परिवर्तन होस् भन्ने कुरा सुनिश्चित गर्न चाहन्छौं,' उनले भने ।
इरान द्वन्द्व बढ्दै जाँदा लेबनानमा इजरायल र हेजबुल्लाहबीच गोली हानाहान भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयले बेरुत र दक्षिणी लेबनानमा इजरायली आक्रमणमा कम्तिमा ३१ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै, कम्तिमा १४९ जना घाइते छन् ।
बहराइन र दुबईमा विस्फोटको आवाज सुनिएको छ। कुवेतमा अमेरिकी दूतावास नजिकै धुवाँ देखिएको छ। आइतबार इजरायली शहर बेइत शेमेशमा इरानी क्षेप्यास्त्र आक्रमणमा नौ जनाको मृत्यु भएको थियो।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइको हत्याप्रति रूसले गहिरो दुख व्यक्त गरेको छ । रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस घटनाले मस्को आक्रोशित बनेको उल्लेख छ ।
सभ्य संसारमा यस्तो हत्यालाई कुनै स्थान नभएको रुसी विदेश मन्त्रालयले बताएको छ। तेहरानले आइतबार बिहान ८६ वर्षीय खामेनेइको आक्रमणमा मृत्यु भएको पुष्टि गरेको थियो ।
उनकी छोरी, ज्वाइँ र नातिनीले पनि आक्रमणमा ज्यान गुमाएका छन्। 'रूसले राजनीतिक हत्या र सार्वभौम राज्यका नेताहरूको 'शिकार' गर्ने अभ्यासको दृढतापूर्वक र निरन्तर निन्दा गर्दछ। यस्तो हत्या सभ्य समाज र राज्यहरूबीचको सम्बन्धको आधारभूत सिद्धान्तहरूको विपरीत छ । अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको छ,' रूसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निरन्तर शत्रुताले मानिसको ज्यान गइरहेको र नागरिक पूर्वाधारमा गम्भीर क्षति पुगिरहेको रूसले जनाएको छ ।
द्वन्द्वले हर्मुजको घाँटीमा आवागमन बन्द हुने र यसले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असंतुलन निम्त्याउने विज्ञप्तिमा उल्लेख छ । 'हामी संयुक्त राष्ट्र संघको बडापत्र र आणविक हतियारको अप्रसार सम्बन्धी सन्धिको आधारमा विद्यमान समस्याहरू समाधान गर्न तत्काल तनाव कम गर्न, शत्रुता समाप्त गर्न र राजनीतिक तथा कूटनीतिक प्रक्रियामा फर्कन आह्वान गर्दछौं,' मन्त्रालयले थप्यो।
इरानी राष्ट्रपति मसूद पेजेश्कियानको कार्यालयले खामेनीको हत्याको बदला लिएर छाड्ने बताएका छन् । 'यस महान् अपराधका दोषी र कमाण्डरहरूविरुद्ध पूर्ण शक्तिका साथ बदला लिने वाचा गर्छौं,' उनले भने ।
कतार एयरवेजले तेस्रो दिन सोमबार सार्वजनिक सूचना जारी गर्दै आफ्ना सबै उडान अस्थायी रूपमा रोक लगाउने निर्णयलाई निरन्तरता दिएको जनाएको छ । कतारी हवाई क्षेत्र हाल बन्द रहेको कारण एयरलायन्सले पनि उडान सञ्चालन रोकिएको जनाएको छ । त्यहाँबाट दैनिक लगभग १ हजार उडान संसारभर हुने गर्दछन्।
कतार सिभिल एभिएसन अथोरिटीले हवाई क्षेत्र सुरक्षित रूपमा खुल्ने घोषणा गरेपछी मात्रै हवाई उडानहरू पुनः सुरु हुने भनिएको छ ।
यात्रीहरूलाई आफ्ना उडानहरूको पछिल्लो जानकारी एयरलाइनको आधिकारिक वेबसाइट कतार एयरवेजको वेबपेजमा वा मोबाइल एपमार्फत नियमित रूपमा जाँच गर्न सुझाव दिइएको छ। कतार एयरवेजले अर्को अपडेट मंगलबार (३ मार्च कतारको समय अनुसार बिहान ९ बजे) उपलब्ध गराउने जनाएको छ।
मध्यपूर्वमा भएको द्वन्द्वका क्रममा देशमा फसेका दशौं हजार यात्रुहरूको खाना र आवास खर्च संयुक्त अरब इमिरेट्सले बेहोर्ने भएको छ ।
युएईको सरकारी सञ्चारमाध्यम द नेशनलका अनुसार संस्कृति तथा पर्यटन विभाग (डिसीटी)ले होटलहरूलाई सूचना पठाउँदै देशमा रोकिएका यात्रु तथा पर्यटकलाई सुरक्षित राख्न आग्रह गरेको छ ।
'वृद्धि गरिएको बसाइको लागत डिसिटी अबुधाबीले बेहोर्नेछ,' सूचनामा भनिएको छ। अन्य रिपोर्टहरूले पनि पर्यटकको रकम राज्यले बेहोर्ने बताएका छन् ।
शनिबार अमेरिका-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको मृत्यु भएको थियो । जवाफमा इरानले युएईको राजधानी अबुधाबी र आर्थिक तथा पर्यटकीय केन्द्र दुबईलाई लक्षित गरी ठूलो संख्यामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ।
शनिबार युएईमा विमानस्थलहरू बन्द भएदेखि २०,००० भन्दा बढी यात्रुहरू प्रभावित छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थल र अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थल दुवै इरानी आक्रमणबाट क्षतिग्रस्त भएका छन् ।
उडान स्थगित भएपछि यात्रुहरूको लामो लाइन लागेको भिडियो देखाइएको छ ।
इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले इरानले अमेरिकासँग वार्ता नगर्ने बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता गर्न चाहेको बताएका थिए । यसको जवाफमा एक्समा लारिजानीले लेखे,'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना 'झूटा आशा'का साथ यस क्षेत्रलाई अराजकतामा फसाएका छन् र अब अमेरिकी सेनाको थप हताहतको बारेमा चिन्तित छन् ।' लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्धमा थप अमेरिकी सैनिक हताहत हुन सक्ने बताएका छन् । उनले सबै लक्ष्य हासिल नहुँदासम्म सैन्य कारबाही जारी रहने बताए।
अमेरिकी सेन्ट्रल कमान्डले अहिलेसम्म तीन अमेरिकी सैनिक मारिएको जनाएको छ । त्यस्तै पाँचजना गम्भीर घाइते छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई सहित वरिष्ठ अधिकारीहरू मारिएका छन् । त्यस्तै मिनाबस्थित छात्रा विद्यालयमा भएको आक्रमणमा मर्नेको संख्या १ सय ५३ पुगेको छ । जवाफमा इरानले मध्यपूर्वका विभिन्न देश तथा इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले एक-दुई दिनभित्रै नयाँ सर्वोच्च नेता चयन हुनसक्ने बताएका छन् । आइतबार राति साइप्रसको बेलायती आरएएफ अखडामा ड्रोन आक्रमण भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ।
अमेरिकाले इरानमा इस्लामिक गणतन्त्र अन्त्य गरेर लोकतान्त्रिक शासन ल्याउने तथा इरानको आणविक कार्यक्रम पूर्णत अन्त्य गर्ने लक्ष्य रहेको बताएको छ ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का उच्च अधिकारीहरुले इरानमाथि गरेको आक्रमणबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने भएका छन्।
पत्रकार सम्मेलन मंगलबार हुने छ। अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण सुरु गरेपछि ट्रम्प प्रशासनका कुनै उच्च अधिकारीले पहिलोपटक सञ्चारमाध्यमको सामना गर्न लागेका हुन्।
पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथ उपस्थित हुने छन्। उनका साथै चीफ्स अफ स्टाफका अध्यक्ष जोन केन पनि उपस्थित हुने छन्।
खाडी मुलुकमा उत्पन्न तनावका कारण त्यहाँका ९ वटा मुलुकको आकाश बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार रातिसम्म अन्तर्राष्ट्रिय उडानतर्फ कुल २७ वटा उडान (आगमन/प्रस्थान) रद्द भएका छन्।
विमानस्थलका अनुसार सोही दिन ७१ वटा अन्तर्राष्ट्रिय उडान (आगमन/प्रस्थान) भने सफलतापूर्वक सञ्चालन भएका थिए।
विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेतले उक्त तथ्याङ्क पुष्टि गर्दै रद्द भएका उडानबारे यात्रुहरूलाई पूर्वसूचना दिइएको जानकारी दिए ।
सामान्य अवस्था मा काठमाडौं विमानस्थलमा प्रतिदिन सय हाराहारी अन्तर्राष्ट्रिय उडान हुन्छन् ।
सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा दिएर राख्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै तत्कालका लागि जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्नका लागि व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए ।
इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १-१ जना नागरिकको मृत्यु भएको जनाएको छ । आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ । घटनामा १ नेपाली नागरिकको मृत्यु भएको जानकारी पाएको यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले कान्तिपुरलाई बताए ।
कुवेतको स्वास्थ्य मन्त्रालयले एक जना आप्रवासी श्रमिकको मृत्यु भएको जनाएको छ भने ३२ जना घाइते भएको छ । इरानी मिसाइलको आक्रमणबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुने र घाइते भएका आप्रवासी श्रमिकको पहिचान सार्वजनिक गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अल सनादका अनुसार आदान अस्पतालको आकस्मिक कक्षमा ३२ जना घाइते ल्याइएका थिए । तीमध्ये १५ जनालाई थप उपचारका लागि जवर हस्पतालमा पठाइएको छ । पाँच जनालाई अदन अस्पतालमै शल्यक्रियाका लागि भर्ना गरिएको छ । उपचारकै क्रममा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
घाइते सबै विदेशी श्रमिक रहेको छ । उनीहरूलाई टाउको र छातीमा चोट लागेको छ ।
हवाई क्षेत्र प्रतिबन्धका कारण आइतबार नेपालका अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदा झण्डै ३,८०० यात्रु प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । आगमन तथा प्रस्थान दुवै उडानमा अवरोध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन् । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, आइतबार कुल २३ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । प्रभावित उडानहरूमा आगमन र प्रस्थान दुवै समावेश छन् ।
पेट्राेलियम पदार्थ उत्पादक देशहरूकाे समूहका सदस्यहरू (साउदी अरब, रुस, युएई, कुवेत, इराक, ओमान, अल्जेरिया, काजाखस्तान) ले इजराइल-अमेरिका र इजराइल युद्धबीच तेलको आपूर्ति बढाएर मूल्य–उछाल थाम्न प्रयास गरिरहेको जनाएकाे छ । तर, वास्तविक प्रभाव होर्मुज र अन्य सिपिङ मार्गको सुरक्षा कति बिग्रन्छ भन्नेमा निर्भर हुने जनाएकाे छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना नागरिक तथा आप्रवासी श्रमिकको सुरक्षा सुनिश्चित गर्न विश्वकै उन्नत हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार युएईमा ७ लाख नेपाली कार्यरत छन् ।अन्तर्राष्ट्रिय सहकार्य राज्यमन्त्री रिम अल हाशिमीले देशको रक्षा गर्न र त्यसका लागि पूर्ण तयारी अवस्थामा रहन कुनै कसर बाँकी नराख्ने बताइन् । आइतबार सीएनएनसँगको अन्तर्वार्तामा उनले इरानले खाडी मुलुकहरूलाई लक्षित गरी गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई यूएईले निस्तेज गरिरहेको बताइन् ।
वैदेशिक रोजगार विभागले खाडी क्षेत्रमा आइतबारदेखि श्रम स्वीकृति जारी गर्ने प्रकियालाई स्थगित गरेको छ । विभागले अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति जारी नगर्ने निर्णय गरेको हो ।
विभागका अनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, ओमान, बहराइन, मलेसिया, जोर्डन, लेबनान, टर्की, यमन र इजरायलमा श्रम स्वीकृति दिन रोकेको हो ।
अमेरिका–इजरायल र इरानबीचको संघर्षका क्रममा बहराइनको राजधानी मनामास्थित क्राउन प्लाजा होटेलमा क्षति पुगेको छ । बहराइनको गृह मन्त्रालयले एक्समार्फत आक्रमणमा होटेलमा भौतिक क्षति भएको जनाएको छ । यद्यपि, आक्रमणमा कुनै पनि मानवीय क्षति नभएको बहराइनको भनाइ छ । पाँचतारे होटेल क्राउन प्लाजा जुफैरस्थित अमेरिकी सेनाको बेस क्याम्पबाट नजिकै रहेको छ ।
कतार एयरवेजले तत्कालका लागि उडान स्थगित भएको घोषणा गरेको छ । कतारको एयरस्पेस असुरक्षित भएपछि तत्कालका लागि उडान स्थगित गरिएको हो । कतारको नागकिर उड्डयन प्राधिकरणले देशको एयरस्पेस खुला भएको घोषणा गरेपछि मात्रै उडानहरु सञ्चालन गरिने एयरलाईनले जनाएको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित रहेको जनाएको छ । भविष्यमा आउनसक्ने समस्यालाई समाधान गर्नका लागि परराष्ट्र सचिव अमृतकुमार राई नेतृत्वमा र्यापिड एक्सन टिम गठन गरिएको मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विदेशमा रहेका सम्बन्धित दूतावास तथा त्यहाँका सरकारले जारी गर्ने सुचना तथा जानकारीलाई फलो गर्न पनि आग्रह गरिएको छ ।
इरानी राष्ट्रपति मसुद पेजेश्कियनले सर्वोच्च नेता आयतुल्लाह खामेनेई र अन्य वरिष्ठ इरानी अधिकारीहरूको हत्याको बदला लिनु इरानको 'कर्तव्य र वैध अधिकार' भएको बताएका छन् । उनले शोक सन्देशमा भनेका छन्, 'इस्लामिक गणतन्त्र इरानले यस ऐतिहासिक अपराधका अपराधी र आदेश दिनेहरूविरुद्ध न्याय खोज्नु र प्रतिशोध लिनु आफ्नो कर्तव्य र वैध अधिकार ठान्दछ । यो महान जिम्मेवारी र दायित्व पूरा गर्न आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नेछ ।'
एयर फ्रान्सले आइतबारका लागि बेरुत, दुबई र रियादका उडानहरू स्थगित गरेको छ। तेल अभिभका लागि यसअघि नै उडान स्थगित गरिएको थियो ।
'यी गन्तव्यहरूका लागि आगामी दिनहरूको उडान तालिकाबारे थप जानकारी पछि दिइनेछ,' फ्रान्सेली झण्डावाहक कम्पनीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास नजिक अमेरिकाविरुद्ध आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई अमेरिका–इजरायली आक्रमणमा मारिएपछि पाकिस्तानमा आक्रोशित भीडले कराँचीमा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर हिंसात्मक आन्दोलन गरेका थिए । आन्दोलनमा वाणिज्य दूतावासमा ढुंगामुडा गर्नुका साथै आगलागी र दूतावासभित्र छिर्न खोजेपछि दूतावास सुरक्षामा खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा ९ जना मारिएको अलजजीराले उल्लेख गरेको छ।
पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास नजिक अमेरिकाविरुद्ध आन्दोलनका क्रममा ६ जना मारिएका छन् ।इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई अमेरिका–इजरायली आक्रमणमा मारिएपछि पाकिस्तानमा आक्रोशित भीडले कराँचीमा रहेको अमेरिकी दूतावासबाहिर आन्दोलन गरेका थिए । आन्दोलनमा दूतावासमा ढुंगामुडा गर्नुका साथै आगलागी र दूतावासभित्र छिर्न खोजेपछि दूतावास सुरक्षामा खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा ६ जना मारिएका हुन् । पाकिस्तानी समाचार संस्था डन ले सुरक्षाकर्मीको गोली लागेर ६ जना मारिएको र दर्जनौं बढी घाइते भएको उल्लेख गरेको छ । प्रहरीले भीडलाई तितरवितर पारेको छ । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।
काठमाडौं - हवाई क्षेत्रसम्बन्धी प्रतिबन्धका कारण आज १ मार्च २०२६ (स्थानीय समय अनुसार १२:२० बजे सम्म) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने विभिन्न १० वटा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
नागरिक उड्डययन प्राधिकरण का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, कुल १० वटा उडान प्रभावित हुँदा करिब १ हजार ६ सयभन्दा बढी यात्रु प्रत्यक्ष असरमा परेका छन्।
प्रभावित उडानहरूको विवरण यसप्रकार छ :
Jazeera Airways : कुवेतबाट आगमन तथा कुवेततर्फ प्रस्थान गर्ने २ उडान प्रभावित, करिब २५० यात्रु प्रभावित।
Air Arabia : शारजाहबाट आगमन तथा शारजाहतर्फ प्रस्थान गर्ने २ उडान प्रभावित, करिब ३०० यात्रु प्रभावित।
Air Arabia Abu Dhabi : अबुधाबीबाट आगमन तथा अबुधाबीतर्फ प्रस्थान गर्ने २ उडान प्रभावित, करिब २८० यात्रु प्रभावित।
Qatar Airways : दोहाबाट आगमन तथा दोहातर्फ प्रस्थान गर्ने २ उडान प्रभावित, करिब ४५० यात्रु प्रभावित।
Flydubai : दुबईबाट आगमन तथा दुबईतर्फ प्रस्थान गर्ने २ उडान प्रभावित, करिब ३२० यात्रु प्रभावित।
विमानस्थल प्रशासनले सम्बन्धित एयरलाइन्ससँग समन्वय गरी वैकल्पिक उडान, पुनः बुकिङ तथा यात्रु व्यवस्थापनको काम भइरहेको जनाएको छ।
यात्रुहरूलाई उडान अवस्थाबारे अद्यावधिक जानकारीका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीसँग सम्पर्क राख्न आग्रह गरिएको छ।
हवाई क्षेत्र प्रतिबन्ध जारी रहेमा थप उडानहरू समेत प्रभावित हुन सक्ने जनाइएको छ।
कतार एयरवेजले कतारी हवाई क्षेत्र बन्द गरिएकाले आफ्ना सबै उडान अस्थायी रूपमा स्थगित गरिएको पुन: जनाएको छ। एयरलाइन्सले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कतारको हवाई क्षेत्र बन्द रहेसम्म उडान सञ्चालन सम्भव नभएको स्पष्ट पारेको हो।
एयरलाइन्सका अनुसार कतारको नागरिक उड्डययन कार्यालयले हवाई क्षेत्र सुरक्षित रूपमा पुनः सञ्चालन गर्न अनुमति दिएपछि मात्रै उडान सेवा पुनः सुरु गरिनेछ।
कतार एयरवेजले आगामी अपडेट मार्च २ तारिख बिहान ९:०० बजे (दोहाको समय) मा सार्वजनिक गर्ने जनाएको छ।
यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन कतार एयरवेजको आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत नियमित रूपमा जानकारी अद्यावधिक गर्न आग्रह गरिएको छ। हवाई क्षेत्र बन्दका कारण दोहामार्फत यात्रा गर्ने अन्तर्राष्ट्रिय तथा ट्रान्जिट यात्रुहरू प्रभावित भएका छन्।
मध्यपूर्वमा जारी उडान प्रतिबन्धका बाबजुद काठमाडौंबाट केही शनिबार रातिसम्म केही उडानहरू सफलतापूर्वक सञ्चालन भएका छन् ।
जसमा जजीरा एयरवेजको कुबेत, कुबेत एयरवेजको कुबेत, एयर अरेबियाको शारजहा, फ्लाई दुबईको दुबई उडान, एयर अरेबिया अबुधाबीको अबुधाबी र टर्किस एयरलायन्सको ईस्तानबुलबाट काठमाडौंबाट हुने उडान सम्पन्न भएका छन्।
त्यसैगरि शनिबार कतारका तीनवटा नेपालका लागि र एउटा कतारका लागि पनि उडान भए । दुईटा उडान नहुँदा कतारका दुईटा जहाज काठमाडाैंमा रोकिएका छन्।
हवाई क्षेत्र प्रतिबन्धका कारण विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सका निम्न उडानहरू रद्द गरिएका छन् | कुवेत एरवेजको (कुवेत–काठमाडौं–कुवेत), एयर अरेबियाको(शारजाह–काठमाडौं–शारजाह), फ्लाई दुबईको (दुबई–काठमाडौं–दुबई), एयर अरेबिया अबुधाबीको(अबुधाबी–काठमाडौं–अबुधाबी), नेपाल एयरलायन्सको (काठमाडौं–दोहा), (काठमाडौं–दुबई) , कतार एयरवेज का दुईटा (काठमाडौं–दोहा) – प्रस्थान रद्द भएका छन् । हिमालय एयरलायन्सको (दुबई–काठमाडौं), (काठमाडौं–दमाम), (काठमाडौं–दोहा), (काठमाडौं–दुबई),(दमाम–काठमाडौं),(दुबई–काठमाडौं) छन् ।
स्ट्यान्डबाई अवस्थामा नेपाल वायुसेवा निगमको(काठमाडौं–दमाम–काठमाडौं) हाल ‘प्रतीक्षारत’ (स्ट्यान्डबाइ) अवस्थामा राखिएको छ। विमानस्थलका अनुसार यात्रुहरूले सम्बन्धित एयरलाइन्ससँग नियमित सम्पर्क राखी उडान समय, टिकट पुनः बुकिङ तथा वैकल्पिक व्यवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो परिस्थितिका कारण विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा ट्रान्जिटमार्फत यात्रा गर्ने यात्रुहरू बढी प्रभावित भएका छन्। हवाई क्षेत्रसम्बन्धी निर्णयमा परिवर्तन भएमा उडान तालिकामा थप हेरफेर हुन सक्ने जनाइएको छ।
काठमाडौं -मध्यपूर्वका विभिन्न देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपाल र खाडी मुलुकहरूबीचको हवाई सेवा उल्लेखनीय रूपमा प्रभावित भएको छ।
हवाई क्षेत्र बन्द गर्ने देशहरूमा कतार,संयुक्त अरब इमिरेट्स,कुवेत,इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन रहेका छन्। हवाई क्षेत्र बन्दको प्रभावका कारण काठमाडौंबाट विभिन्न खाडी तथा क्षेत्रीय गन्तव्यहरूमा सञ्चालन हुने उडानहरूमा केही सम्पन्न, केही रद्द तथा केही ‘स्ट्यान्डबाइ’ अवस्थामा रहेका छन्। आईतबार पूर्ण असर भने परेको छैन।
इरानका अन्तिम राजाका छोरा रेजा पह्लवीले आयातोल्लाह अली खामेनेईको मृत्युको स्वागत गरेका छन् । साथै उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवादसमेत दिएका छन् । निर्वासनमा रहेका पह्लवीले वासिंटन पोस्टमा एक लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका हुन् । उनले इरानमा अब नयाँ संविधान बनाएर जनमतसंग्रहमार्फत अनुमोदन हुनुपर्ने बताएका छन् ।
अमेरिकामा बस्दै आएका पूर्वराजकुमार पह्लवीले इरानमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अमेरिकालाई इरानमा हस्तक्षेप गर्न आग्रह गर्दै आएका थिए । उनका बुवा मोहम्मद रेजा पह्लवी १९४ देखि १९७९ सम्म इरानका राजा थिए । सन् १९७९ को इस्लामिक क्रान्तिले इरानको राजतन्त्र ढलेको थियो । त्यसपछि पेरिसमा रहेका खामेनेई तेहरान फर्किएका थिए । इस्लामिक गणतन्त्र घोषणापछि उनी मुलुकका सर्वोच्च नेता चुनिएका थिए ।
















