खाडीका अलपत्र नेपालीलाई सरकारले जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने

सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा दिएर राख्ने भएको छ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

The government will provide security to Nepalis stranded in the Gulf and keep them where they are.

काठमाडौँ — सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा दिएर राख्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै तत्कालका लागि जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्नका लागि व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । सरकारले मध्य पूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सम्बन्धित देशका नेपाली दूतावासलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न पनि निर्देशन दिएको छ ।

बैठकबारे जानकारी दिँदै उनले भने, 'अवस्था सामान्य छैन, अहिलेलाई सबै विमानस्थल बन्द छन्, कसैलाई फर्काउन र ल्याउन सकिंदैन, तयसैले अहिले जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने विषयमा छलफल भएको छ, सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुको असुविधाबारे छलफल भएको छ ।' ती क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको मन्त्री शर्माले बताए । 

राजदूतलाई सम्पर्क गरेर नेपाली नागरिकलाई गन्तव्यमा पुर्‍याउने र जान नसक्नेलाई होटलमा व्यवस्था गर्ने काम भएको उल्लेख गर्दै उनले सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्नेगरी समन्वय भएको बताए । मन्त्री शर्माले नेपाली नागरिकलाई परेको असर र समाधानबारे बैठकमा छलफल भएको जानकारी दिए ।

कान्तिपुर

Link copied successfully