आइतबार बिहानको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्
काठमाडौँ — अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनस्थित मनोरञ्जन क्षेत्र ‘सिक्स्थ स्ट्रीट’ मा रहेको एक बारबाहिर गोली चलाउने व्यक्ति इरानमाथिको आक्रमणको बदलाभावबाट प्रेरित हुनसक्ने अनुमान प्रहरीले लगाएको छ ।
यस विषयमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुन्सधान गरिरहेको छ ।
आइतबार बिहानको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन् । गोली चलाउने व्यक्ति ५३ वर्षका एन्डिएगो डिएग्ना रहेको खुलेको छ । प्रहरी कारबाहीमा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
डिएग्नाले आक्रमणका बेला इरानी झण्डाको आकृति भएको र ‘प्रोपर्टी अफ अल्लाह’ (अल्लाहको सम्पत्ति) लेखिएको स्वेटसर्ट लगाएको अधिकारीहरुले बताएका छन् ।
उनको गाडीमा कुरान तथा इरानी नेताहरूको तस्बिर र झण्डाजस्ता सामग्री फेला परेको बताइएको छ । यी संकेत भेटिएपछि उनीमाथि ‘आतंकवादसँग सम्भावित सम्बन्ध’ बारे छानविन भइरहेको प्रहरीले जनाएका छन् ।
अनुसन्धाका क्रममा उनी केही समयदेखि मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेको पनि पाइएको छ । अधिकारीहरूका अनुसार एसयूभी गाडी चलाउँदै गाडीको झ्यालबाट उनले बुफोड्र्सस्थित बियर गार्डेनभित्र बसेका ग्राहकमाथि गोली हानेका थिए । केहीबेरपछि आफैं गाडीबाट ओर्लिएर सडकमा गोली हान्न थाले ।
मध्यरातसम्म खुलेको बारमा आइतबार बिहान १ : ३० बजेतिर यी सबै घटना भएको थियो । डिएग्ना सेनेगलमा जन्मिएका थिए ।
सन् २००० मा पर्यटक भिसामा अमेरिकी छिरेका उनले सन् २००६ मा ग्रिनकार्ड र २०१३ मा नागरिकता लिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । टेक्सास जानुअघि उनी न्युयोर्कमा बस्थे ।
एफबीआईका कार्यवाहक विशेष एजेन्ट एलेक्स डोरानले संयुक्त पत्रकार सम्मेलनमा डिएग्ना र उनको गाडीबाट प्राप्त सामग्रीका कारण घटनालाई ‘संभावित आतंकवादी सम्बन्ध (पोटेन्सियल नेक्सस टु टेररिज्म)’ का रूपमा हेरिएको बताए । उनले यस विषयमा अनुसन्धन चलिरहेकाले अहिल्यै टिप्पणी गर्नु हतारो हुने बताए ।
अमेरिका र इरानले इजरायलमाथि आक्रमण गरेको भोलिपल्टै यो गोलीकाण्ड भएको हो । अमेरिकी आक्रमणमा इरानी सर्वोच्च नेता आयतुल्ला अली खामेनेइसहित वरिष्ठ नेताहरुको मृत्यु भएको छ ।
