इरानी आक्रमणमा यूएईमा १ नेपालीसहित ३ जनाको मृत्यु

यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १-१ जना नागरिकको मृत्यु भएको जनाएको छ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

3 people, including 1 Nepali, killed in Iranian attack in UAE

काठमाडौँ — इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १-१ जना नागरिकको मृत्यु भएको जनाएको छ ।

त्यस्तै आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ । 

घटनामा १ नेपाली नागरिकको मृत्यु भएको जानकारी पाएको यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले कान्तिपुरलाई बताए । 'यसबारे हामीलाई विस्तृत जानकारी दिइएको छैन,' उनले भने । यूएई सरकारबाट मृत्यु भएकाहरूको परिचय प्राप्त भइनसकेको राजदूत क्षेत्रीले बताए । 

यूएई रक्षा मन्त्रालयका अनुसार इरानतिरबाट १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र हानिएको थियो । तीमध्ये १५२ वटा क्षेप्यास्त्रलाई निस्तेज पारिएको र १३ वटा समुद्रमा खसेको पनि रक्षा मन्त्रालयको भनाइ छ । 

त्यस्तै दुई वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन पनि प्रहार गरिएको रक्षा मन्त्रालयले जनाएको छ । अधिकांश ड्रोनलाई निस्तेज पारिए पनि २१ वटा ड्रोन भने सर्वसाधारण भएका ठाउँमा खसेको जनाइएको छ । 

कान्तिपुर

Link copied successfully