खाडी क्षेत्रको हवाई प्रतिबन्धले सोमबार ३१ उडान आवागमन रद्द

खाडीका केही देशहरूको हवाई क्षेत्रमा प्रतिबन्ध लगाएका कारण काठमाडौंबाट सञ्चालन हुने ३१ अन्तर्राष्ट्रिय उडान आवागमन रद्द भएका छन् ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Gulf region air ban cancels 31 flights on Monday

काठमाडौँ — खाडीका केही देशहरूको हवाई क्षेत्रमा प्रतिबन्धका कारण काठमाडौंबाट सञ्चालन हुने ३१ अन्तर्राष्ट्रिय उडान आवागमन रद्द भएका छन् ।

विमानस्थलद्वारा जारी विज्ञप्तिअनुसार खाडीको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएपछि काठमाडौं आउने र जाने निर्धारित अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् ।

प्रभावित हुने वायुसेवाहरूमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स रहेका छन् । कुवेत–काठमाडौं–कुवेत, शारजाह–काठमाडौं–शारजाह, अबुधाबी–काठमाडौं–अबुधाबी, दुबई–काठमाडौं–दुबई, दोहा–काठमाडौं–दोहा तथा काठमाडौं–दोहा सेक्टरका उडानहरू रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एयर अरेबिया र फ्लाई दुबईका केही उडानहरू मंगलबारसम्मका लागि रद्द गरिएको जनाइएको छ ।

हवाई क्षेत्र बन्द गरिएका देशहरूमा कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन रहेका छन्।

विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनी तथा निकायहरूसँग समन्वय भइरहेको जनाएको छ । 

प्रभावित यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी थप जानकारी तथा पुनर्तालिकाका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसअघि शनिबार र आइतबार दुई दिनमा ४१ उडान रद्द भएका थिए । ती उडान प्रभावित हुँदा करिब ६,८०० यात्रु अलपत्र परेको विमानस्थलको प्रारम्भिक तथ्यांक छ ।

कान्तिपुर संवाददाता

Link copied successfully