आज राज्यका सबै अवयवमा सोसल मिडियाको अघोषित संक्रमण छ । सोसल र डिजिटल मिडियाको केन्द्रमा छ, प्रियतावाद । प्रेम र घृणा होस् या देवत्व र दानवीकरण दुवैमा यस्ता प्लेटफर्म सक्रिय छन् ।
What you should know
‘कान्तिपुर नामको गोरखापत्र दिनुस् न ।’
बिहान चियासँगै अखबारको लत बस्नुअघि कान्तिपुर दैनिक किन्न पुग्ने पाठकले पत्रिका पसलेसँग यसैगरी माग्थे । निजी क्षेत्रको पहिलो ब्रोडसिट समाज दैनिक भए पनि ‘गोरखापत्र’ अखबारको पर्यायवाची शब्द थियो ।
२०४९ फागुन ७ गतेबाट गोयन्का पब्लिकेशन्स् प्रालिले कान्तिपुर र दी काठमान्डू पोस्टको थालनी गर्नुअघि मणिराज उपाध्यायले समीक्षा साप्ताहिकका मदनमणि दीक्षित र दी कमनरका गोपालदास श्रेष्ठसँगको सहकार्यमा समाजलाई ब्रोडसिट प्रकाशनमा ल्याएका थिए । समाजको ब्रोडसिट संस्करण एक वर्षभन्दा बढी टिकेन । दीक्षित र श्रेष्ठ त्यसबाट अलग भए । २०११ सालबाट सुरु भएको टेब्लोइड आकारको यो पत्रिका २०५३ सालमा सदाका लागि बन्द हुन पुग्यो ।
समाज बन्द हुँदा कान्तिपुर नयाँ व्यावसायिक योजनासहित कान्तिपुर पब्लिकेशन्स्मा रूपान्तरित भइसकेको थियो । अखबारको मानक रहेको गोरखापत्रको प्रभावलाई कमजोर बनाउँदै एउटा उदीयमान उद्योगका रूपमा ‘सञ्चार’ स्थापित भयो, जसको नेतृत्व कान्तिपुरले गर्यो । नेपालको पत्रकारिता विकासको सन्दर्भमा कान्तिपुरको उपस्थितिले नयाँ समयरेखा निर्धारण गर्छ । सुरुवातदेखि नै प्रभावशाली उपस्थिति र समाचार उपभोगको संस्कृतिमाथि बलियो हस्तक्षेपका कारण कान्तिपुर नेपाली पत्रकारिताको ‘प्याराडाइम सिफ्ट’ गर्ने हैसियतमा पुगेको हो ।
पञ्चायतकालीन परिवेशमा राज्यको चरम नियन्त्रणका बाबजुद साप्ताहिक अखबारले स्वतन्त्रताका लागि अग्रणी भूमिका निर्वाह गरेका थिए । राजनीति प्रेरित सामग्री र जनआन्दोलन सँगसँगै प्रजातन्त्रका लागि मुखर ती साप्ताहिकको प्रभावशाली यात्रा कान्तिपुरको समयरेखादेखि ओरालोतिर लाग्यो । २०४६ सालको परिवर्तनपछि मुलुकको सञ्चार क्षेत्रमा अद्भुत क्रान्ति २०४९ सालपछि सुरु भएको मानिन्छ । छापाखाना तथा प्रकाशन ऐन, २०४८ र राष्ट्रिय प्रसारण ऐन, २०४९ का उदारवादी प्रावधानपछि पत्रकारिताको मानक गोरखापत्रबाट कान्तिपुरमा सर्यो ।
पत्रकारिताको व्यावसायिक विकास र समाचार सम्प्रेषण दुवै दृष्टिकोणबाट कान्तिपुरले थालेको प्रयास सफल भयो तर त्यही सफलतालाई देखेर प्रतिस्पर्धामा उत्रिएका धेरै ब्रोडसिट जन्मिने र मर्नेक्रम जारी रह्यो । यस लेखमा कान्तिपुर थालनीबाट सुरु भएको समयरेखालाई आधार मानेर विगत र समकालीन परिवेशको लेखाजोखा गरिएको छ ।
सुरुवाती दिन
गोयन्का पब्लिकेशन्स्ले कान्तिपुर दैनिक प्रकाशन गर्दा सम्पादक थिए, योगेश उपाध्याय । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पत्रिका दर्ताको प्रमाणपत्र लिँदा प्रतिदिन कम्तीमा १ हजार प्रति प्रकाशन गर्ने सर्त उल्लेख थियो । यसले के देखाउँछ भने २०४६ सालको राजनीतिक परिवर्तनपछि निजी क्षेत्रले पत्रकारितालाई व्यवसायका रूपमा स्थापित गर्दा बजार निम्छरो थियो । त्यतिखेर न ग्राहक न विज्ञापन । साप्ताहिक पत्रिकाको जगजगी थियो तर तिनमा पञ्चायतविरुद्धको ‘मिसन’ धङधङी जीवितै रहेकाले दलीय पक्षधरता कायम देखिन्थ्यो । साप्ताहिक अखबार व्यावसायिक बन्न सकिरहेका थिएनन् ।
खुला अर्थतन्त्र र निजी क्षेत्रप्रति भरोसा बढ्ने क्रममा कान्तिपुरले त्यसमा सञ्चारतर्फको नेतृत्व लियो । गोरखापत्रले कायम गरेको मानक भत्काउन दुई वर्ष पनि लागेन । किनकि यसमा प्रकाशित सामग्री र शैली परम्परागतभन्दा फरक थिए, जसलाई पाठकले रुचाए । यही कालखण्डमा हो निजी क्षेत्रको लगानीबाट नेपालमा वित्तीय, उड्डयनलगायतका क्षेत्रले उडान भर्न थालेको ।
रोचक के छ भने, सुरुवाती दिन कान्तिपुरको समाचार कक्ष कि त साप्ताहिक पत्रिकामा अनुभव बटुलेका पत्रकार थिए कि सरकारी गोरखापत्र छाडेर आएका । त्यसैले प्रारम्भकालीन कान्तिपुरको पहिलो पेजको अन्तर्वस्तु विश्लेषण गर्दा– कहिले कान्तिपुर गोरखापत्रजस्तो त कहिले पञ्चायतकालको ‘क्रान्तिकारी’ मार्काका साप्ताहिक जस्तो लाग्थ्यो । समाचार फाइनल गर्ने नेतृत्वमा जो हुन्थे, त्यस्तै भावभंगिमा अखबारका समाचारले आकार पाउँथे ।
कान्तिपुरभन्दा पहिले सुरु भए पनि कामना प्रकाशन पछि मात्रै ब्रोडसिटसहित सञ्चार उद्योगमा उदायो । त्यसअघि हिमालय टाइम्सले ब्रोडसिटबाट बजारमा उपस्थिति जनाएको थियो । त्यसपछि त लर्को लाग्यो ब्रोडसिट दैनिक खोल्ने । २०४९ देखि २०६२ सम्मलाई एउटा अवधि मान्ने हो भने कम्तीमा आधा दर्जन ब्रोडसिट जन्मिँदै वा केही वर्ष टिकेर मृत्युवरण गर्न पुगे ।
कान्तिपुरको सफलतासामु समग्र अखबार उद्योगचाहिँ विफलताको शृंखलातिर लाग्यो । यसो हुनुमा द्वन्द्वकालीन परिस्थिति प्रमुख कारण बन्यो । माओवादीको हिंसात्मक द्वन्द्वले पत्रकारितालाई खुम्च्यायो । मुलुकको समग्र अर्थतन्त्र साँघुरिँदै गयो । त्यस परिवेशमा नेपालमा पपुलर प्रेस भने मौलायो । ‘सन्ध्याकालीन’ ट्यागलाइनमा छापिएर दिउँसो निस्किने टेब्लोइडले आजका दिनमा ‘सेन्सेसनल’ सामग्री पस्किने सञ्चार सामग्रीको शैली बोक्थे– सत्य, मिथ्या र सनसनीको ‘रोमान्टिसाइज’ मिश्रणसहित ।
निजी क्षेत्रका रेडियोमा घण्टैपिच्छे समाचार आउनुपूर्व मानिसहरू सनसनीखेज मिथ्यासहितका यस्ता सामग्रीमा निर्भर रहन्थे । मूलधारमा रहेका अखबारमा प्रकाशित सामग्री तोडमरोड गरेर तत्काल नाफा कमाउने उद्देश्यसहित पुनर्उत्पादन गर्ने खेती लामो समय टिकेन । यही समयरेखा द्वन्द्वरत पक्षको चेपमा चेपियो नेपाली मिडिया । सत्ता र द्वन्द्वरत माओवादी मिलेसम्म मिडियालाई आफ्नो जितका लागि मनोवैज्ञानिक युद्ध (साइकोलोजिकल वारफेर) मा प्रयोग गर्न उद्यत रहे ।
पहिलो संविधानसभा निर्वाचनसम्म यही परिवेश रह्यो । कतिपय अवस्थामा मिडिया द्वन्द्वलाई ‘ग्लोरिफाई’ गर्ने उत्प्रेरककै भूमिका पनि देखिए । दोहोरो भिडन्तका दृश्य खिच्न हेलिकोप्टर चार्टर गर्ने प्रतिस्पर्धा अखबारबीच चल्यो भन्दा आज अनौठो लाग्छ । किनकि चुनावी सिजनबाहेक रिङरोडबाट बाहिरिन चाहन्नन् अहिलेका मिडिया । सीमित संवाददाता र स्रोतसाधनले पत्रकारितालाई कमजोर बनाइसकेको छ ।
लगानी र जोखिम थपिँदो
नेपाली पत्रकारितामा बलियो समाचार कक्षभन्दा समाचारका कारखानाहरू हाबी छन् यतिखेर ।द्वन्द्व सकियो, मुलुक नयाँ राजनीतिक मोडमा पुग्यो । संविधान जारी भयो । अखबारका विकल्पमा रेडियो र टेलिभिजन च्यानल खुल्न थाले । कान्तिपुरको देखासिकीमा अखबार खोलेर वित्तीय रूपमा टाट पल्टने रोग अब रेडियो र टेलिभिजनमा सर्यो । अनलाइन समाचार साइट खुल्न थाले । स्वतन्त्र अनलाइन समाचारका रूपमा अनलाइनखबरले त्यसको नेतृत्व लियो ।
२०६३ सालपछिको परिवेशमा यतिधेरै टेलिभिजन च्यानल र रेडियो स्थापित भए कि तिनमा गरिएको लगानीले न पत्रकारिताको व्यावसायिक विकासमा योगदान दियो न त आर्थिक उन्नतिमा नै । संख्यात्मक विकासको विकराल परिस्थितिले नै समकालीन पत्रकारिताको संकटलाई व्याख्या गर्छ । मिडियामाथि अनुसन्धान गर्नुपर्ने विषयमा हाम्रो चासो कहिल्यै पुगेन । बजारले कति मिडिया धान्न सक्छ भन्नेतिर ध्यान नदिई लगानी गर्ने होडबाजी चलिरह्यो । प्रतिफल– पत्रकारिता व्यावसायिक बन्न सकेन, व्यापारमा मात्रै खुम्चिँदै गयो ।
नेपाली पत्रकारितामा बलियो समाचार कक्षभन्दा समाचारका कारखानाहरू हाबी छन् यतिखेर । दल, गुट, नेता, कर्पोरेट अनि बिचौलियाले उत्पादन गर्ने सामग्री डिजिटल माध्यमबाट सोझै समाचार कक्षमा पस्छन् । सम्पादकले पत्तो पाएर वा नपाउँदै ती समाचारका रूपमा फैलिन्छन् । किनकि आज अनलाइनमा आधारित कुनै पनि समाचार कक्ष संख्यात्मक उत्पादनको दौडमा समाहित छ । अडियन्स पनि तिनै छरिएर आउने समाचार वरपर अलमलिएका छन् ।
डिजिटल मिडियाको संख्यामा आएको उभारले परम्परागत मानिने रेडियो वा टेलिभिजनको संख्यालाई गुणांकका हिसाबले उछिनिसकेको छ । अहिले चुनावी समय भएकाले झन् तीव्र्र मौलाउने परिस्थिति छ डिजिटल प्लेटफार्महरू । आज राज्यका सबै अवयवमा सोसल मिडियाको अघोषित संक्रमण छ । सोसल र डिजिटल मिडियाको केन्द्रमा छ, प्रियतावाद । प्रेम र घृणा होस् या देवत्व र दानवीकरण दुवैमा यस्ता प्लेटफर्म सक्रिय छन् । तिनैका उक्साइमा मिडियामाथि विषाक्त अभिव्यक्तिदेखि आगजनीसम्मका घटना भएका छन् । यसैका कारण हो न्याय दिने न्यायालय ‘भीड कता छ’ भनेर हेरेर न्याय दिन विवश छ । नेताहरू भीडको बहावमा तैरिरहेका छन् । समाज त्यही खहरेको भेलमा भड्किँदै बगिरहेको छ । अनि मिडिया ? सबै अवयव लतारिँदा मिडियाको नेतृत्वमा रहेका सम्पादक र त्यसका सञ्चालक दृढ उभिन सकेका छैनन् ।
२०७८ को निर्वाचनमा मैले कान्तिपुरसहित चार वटा अखबारका ग्राहकसँग सर्वेक्षण गर्दा ९१ प्रतिशतले समाचार उपभोग गर्ने शैली फेरिएको स्विकारेका थिए । अखबारका ग्राहकको निर्भरता डिजिटल मिडियामा धकेलिएको तर्क उनीहरूको थियो । त्यो अझै बढेको छ । कोभिड–१९ को लकडाउन त्यसका लागि आधार बनेको थियो । नेपाली पत्रकारितालाई व्यावसायिक मोड दिने कान्तिपुर आफैं धर्मरायो लकडाउनपछि ।
पत्रकारिताको मानक स्थापित गर्न समाचार सामग्री मात्रैले पुग्दैन । पत्रकारको संख्या कटौती गर्नुपर्ने बाध्यतामा कान्तिपुर पुग्नु एकातिर दुर्भाग्यपूर्ण रह्यो भने अर्कातिर सोसल मिडिया इन्फ्लुएन्सरको दबदबा बढ्यो । यसले एकातिर गुणस्तरीय सामग्री उत्पादनमा ह्रास आयो भने ‘कसैको पनि नियन्त्रण बाहिर’ रहेर सामग्री उत्पादन गर्नेको बजार विस्तार भयो ।
आगामी यात्रा अनि अपेक्षा
आज पत्रकारिताले ‘१२ भाइ’को ट्याग भोगिरहेको छ । पत्रकारितामाथि यसरी आक्षेपमाथि आक्षेप आउनुको कारणमाथि समाचार कक्षले स्वमूल्यांकन नगरी सुख छैन । सबैको निगरानी गर्ने मिडियामाथि कसैले पनि निगरानी गर्न नसक्दाको परिणाम अहिले भोग्न परिरहेको छ । निजी क्षेत्र, नागरिक समाज, राज्य संयन्त्र र विश्वविद्यालय लगायतका प्राज्ञिक क्षेत्रले पनि यसखाले खराब परिस्थितिमा आआफ्नो भागको जिम्मेवारी लिनैपर्छ ।
समाचार कक्षले कडा मिहिनेतबाट तयार पारेका सामग्री ‘रिभर्जन’ गरेर भ्युज बटुल्ने डिजिटल सामग्री उत्पादकहरूले सबैभन्दा धेरै खेदो परम्परागत समाचार कक्षले गरिरहेको देखिन्छ ।आज प्रियतावाद आधारित सामग्रीको चेपुवामा छ– मध्यस्थतामा आधारित समाचार माध्यमहरू । समाचार कक्षहरू ‘क्लिकबेट’ले लखेटिएका छन् । इन्फ्लुएन्सरको दबदबा छ । सनसनीखेज विषय र प्रस्तुतिले इन्फ्लुएन्सरको प्रभाव व्यापक बनिसकेको छ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगसहित आगामी दिन व्यावसायिक पत्रकारितामाथि थप आक्रमण हुने जोखिम छ ।
हिजो रेडियोको लाइसेन्स र रेडियोमा समाचार प्रसारणको अधिकारका लागि नेपालका अखबारले लबिङ गरेका थिए, जबकि नयाँ माध्यम आउँदा विश्वमा ठीक विपरीत परिदृश्य थियो । अखबारले रेडियो आउँदा आपत्ति जनाएका थिए, टेलिभिजन आउँदा अखबारसँगै रेडियो विरोधमा उत्रिएका थिए । तर, नेपालमा नयाँ माध्यमको पक्षमा पुराना माध्यम अडिग रहे । के डिजिटल माध्यममा आधारित सञ्चारकर्म गर्नेहरू पुराना माध्यमप्रति उदार हुन सक्छन् ?
समाचार कक्षले कडा मिहिनेतबाट तयार पारेका सामग्री ‘रिभर्जन’ गरेर भ्युज बटुल्ने डिजिटल सामग्री उत्पादकहरूले सबैभन्दा धेरै खेदो परम्परागत समाचार कक्षले गरिरहेको देखिन्छ । यसबाट आगामी दिन सहज होला भन्ने अपेक्षा गर्न सकिन्न । त्यसैले भविष्यप्रति चिन्ता गर्ने हो भने पत्रकारिताको मर्यादा फर्काउनुपर्ने छ । एन्फ्लुएन्सरलाई पनि पत्रकारिताको नैतिक मापदण्डमा ल्याउनुको विकल्प छैन ।
सन् १८५० को दशकपछि विश्वभर पीत पत्रकारिताले यस्तै सकसपूर्ण परिवेश निम्त्याएको थियो । मिहिनेत गरेर तयार पारिएका समाचारभन्दा कसले कसको कसरी हत्या वा बलात्कार गर्यो, नाटकमा अभिनय गर्ने नायिकाको कुन पुरुषसँग सम्बन्ध छ, चर्चित खेलाडीको बिहेइतर सम्बन्धका कथा सबैभन्दा धेरै बिक्थे । यस्तैखाले पत्रकारिताको प्रवर्द्धन गर्दै आफ्नो व्यावसायिक विरासत बनाएर जोसेफ पुलित्जरलाई जे भइरहेको थियो, सही लागेन । उनले सन् १९१० मा विश्वविद्यालयमा १० लाख अमेरिकी डलर उपलब्ध गराएर पत्रकारिताको ‘इथिक्स’ पढाउन आग्रह गरे । पत्रकारितामा लिखितम आचारसंहिता आउनुभन्दा एक दशकअघि नै मिडिया टाइकुन पुलित्जरले पेसागत मर्यादा बचाउन पहल गरेका थिए । धमिलिसकेको पत्रकारिता फेरि सङ्लिँदै गयो । पपुलर प्रेस साँघुरिँदै गयो, व्यावसायिक पत्रकारिताको दायरा फराकिलो बन्दै गयो ।
आज माध्यम फेरिएको छ । सञ्चारविद् म्याकलुहानले भनेझैं ‘माध्यम नै सन्देश’ बन्ने अवस्थामा पुगिसकेको छ, मोबाइल डिभाइसका कारण । अखबार, रेडियो, टेलिभिजन सबै एउटा हाते फोनमा समेटिएको छ । यसको मतलब पत्रकारिता सकिएको हो त ? होइन । माध्यम फेरिएला तर पत्रकारिता फेरिँदैन । मिथ्या सामग्रीको बाढीले तहसनहस बनाएपछि मानिसहरू फेरि आजित भएर खोज्न थाल्नेछन् पुरानै शैलीको कान्तिपुर र त्यसका समाचार ।
तर के त्यतिन्जेल कान्तिपुरलगायतका अखबारहरू पर्खेर बस्ने हो त ? होइन । आजैबाट सुधार थाल्ने हो । सुधारको थालनीका लागि सन्दर्भ लिन सक्छौं ‘हचिन्स कमिसन’ ।
दोस्रो विश्वयुद्धको तहसनहसबाट उठिरहँदा अमेरिकी मिडिया उद्योग सीमित कम्पनीको कब्जामा पुगेका थिए । तिनमा व्यापारिक उद्देश्य ज्यादा थियो, जसका कारण पूर्वाग्रही तथा अहिलेझैं प्रियतावादमा आधारित सामग्रीले ठाउँ पाउँथे । प्रेसले सत्य र सन्तुलित सूचना दिइरहेका थिएनन्, जसले जनस्तरमा मिडियाप्रति अविश्वास बढ्दै थियो । युद्धपछिको प्रोपागान्डा र सरकारको नियन्त्रणमा पर्ने त्रास मिडियामा बढ्दो थियो ।
त्यस्तो परिस्थिति किन निम्तियो ? जवाफ खोज्न टाइम म्यागेजिनका संस्थापक हेनरी लुसले एउटा आयोग बनाए– हचिन्स कमिसन । रोबर्ट मेनार्ड हचिन्स नेतृत्वको कमिसनले सन् १९४७ मा प्रतिवेदन बनायो र सुधारको बाटो देखायो । टाइम म्यागेजिनका संस्थापकको अवधारणामा थप अरूले आर्थिकसहितका सहयोग गरे । हचिन्स कमिसनले पत्रकारितालाई ‘स्वतन्त्रता मात्र होइन, जिम्मेवारी पनि’ भन्ने अवधारणा स्थापित गरायो । यो अवधारण विश्वव्यापी मान्यताका रूपमा स्थापित भयो ।
हामी आज फेरि हचिन्स कमिसनपूर्वको परिस्थितिमा आइपुगेका छौं । २०४६ सालयता व्यावसायिक पत्रकारिताको मानक मात्र नभई परिवर्तनको संवाहक र जस्तोसुकै परिस्थितिमा पनि नटुटेको प्रेसप्रतिको कान्तिपुरको प्रेमलाई जोगाउने हो भने यस्तै कमिसनको अपेक्षा गर्न सक्छौं । के पत्रकारिताको व्यावसायिक विकास गर्न र अहिलेको समग्र मिडिया उद्योगमा लागेको कालो बादल हटाउने पहलको नेतृत्व लिन कान्तिपुर तयार छ ?
