उनले कमेडी हाँसोका लागि मात्र नभई समाजसँग प्रत्यक्ष जोडिएको सिर्जनात्मक क्षेत्र भएको बताए ।
काठमाडौँ — हास्य कलाकार सुन्दर खनालले कमेडी क्षेत्रलाई जोगाउन गम्भीर सोच र पेसागत जिम्मेवारी आवश्यक रहेको बताएका छन् ।
‘कान्तिपुर कन्क्लेभ–२०२६’ अन्तर्गत ‘आफैँमाथि व्यङ्ग्य लेख्दै नेपाली राजनीति’ सत्रमा बोल्दै खनालले कमेडी हाँसोका लागि मात्र नभई समाजसँग प्रत्यक्ष जोडिएको सिर्जनात्मक क्षेत्र भएकाले यसलाई दीर्घकालीन रूपमा जोगाउन कलाकार स्वयं सचेत हुनुपर्ने बताए। 'म आफै क्यारिकेचर गर्छु तर क्यारेक्टरलाई समय दिन पाएको छैन । मेरो नियमित प्रोगमका गेस्ट हतारमा टुंग्याइन्छ। त्यसले पनि समस्या भएको छ,' उनले भने, 'हास्य प्रस्तुतिमा पर्याप्त रिसर्च आवश्यक हुनुपर्छ । म पनि आफूले भ्याएसम्म गहिरो अध्ययन गर्ने प्रयास गरिरहेकाे छु ।'
उनले विदेशी कमेडी हेरेर प्रभावित भएर आउने नयाँ कलाकार पनि बढ्दै गएको बताए । नेपाली कमेडीको आफ्नै मौलिकता जोगाउनुपर्नेमा जोड दिँदै उनले भने, 'कमेडी फिल्डलाई जोगाउन के गर्ने, के नगर्ने भन्नेबारे सोच्न जरुरी छ । अहिले छोटो अवधिमा जोक्स दर्शकले मन पराएका छन् । हामीले यसमा पनी गहिराे अध्ययन गरेर काम गर्न आवश्यक छ ।'
उनका अनुसार हास्य क्षेत्रमा लोकप्रियता मात्र होइन, निरन्तरता, चरित्र निर्माण र सामाजिक जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
