त्रुटिरहित जिम्मेवारी निर्वाह गर्न मातहतका सुरक्षाकर्मीलाई आईजीपी अर्यालको निर्देशन

शुक्रबार देशभरका युनिटहरुलाई भर्चुअल माध्यमबाट ब्रिफिङ दिँदै एक मात्र लक्ष्य भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न महानिरीक्षक अर्यालले निर्देशन दिएका हुन् ।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा त्रुटिरहित जिम्मेवारी निर्वाह गर्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

शुक्रबार देशभरका युनिटहरुलाई भर्चुअल माध्यमबाट ब्रिफिङ दिँदै एक मात्र लक्ष्य भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु रहेकोले महानिरीक्षक अर्यालले उक्त निर्देशन दिएका हुन् । उनले निर्वाचनको समयमा आउन सक्ने कठिनाई र चुनौतीलाई समयमा नै आकलन गरी निर्वाचन सुरक्षार्थ खटिने सुरक्षाकर्मी तथा सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरी समाधान गर्ने तथा मौसम प्रतिकूलताका कारण हिमाली भेगहरुमा हिउँ पर्नसक्ने सम्भावना रहेको हुँदा वैकल्पिक मतदानस्थलको समेत पहिचान गर्न निर्देशन दिए ।

महानिरीक्षक अर्यालले निर्वाचनमा खटिने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा निर्वाचन प्रहरीले आमनागरिकलाई मतदान गर्न आउने/जाने समयमा आइपर्नसक्ने कठिनाईहरुमा समेत सहयोग र सहजता लागि तयारी हालतमा रहन भनेका छन् ।

निर्वाचनको समयमा विभिन्न खालको चुनौती तथा कठिनाई पर्नसक्ने सम्भावना रहेको हुँदा निर्वाचनमा परिचालन हुने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु चनाखो भई कार्य गर्न पनि उनले निर्देशन दिए । निर्वाचनको समयमा आवश्यक पर्ने साधनस्रोत तयारी हालतमा राख्न पनि उनको निर्देशन छ ।  

सोही अवसरमा महानिरीक्षक अर्यालले हिमाली भेग तथा विकट ठाउँमा रहेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका सशस्त्र प्रहरी कर्मचारी तथा कार्यालयहरुको अवस्था, मौसमी प्रतिकूलता, भौगोलिक अवस्था र वस्तुस्थितिको बारेमा समेत जानकारी लिए । डेढ दर्जन जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएमा विकल्पमा लिइने निर्णयबारे पनि सरकारले समीक्षा गरिरहेको गृह मन्त्रालयले जनाएको छ । यसका लागि निर्वाचन आयोगसँग समन्वय भइरहेको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully